मायादेवी गाउँपालिकाकी दुई वर्षीया मन्शा ओझा बेपत्ता, प्रहरीको खोजी जारी

  • २३ कार्तिक २०८२, शनिबार १७:५० मा प्रकाशित
  • कपिलवस्तु । मायादेवी गाउँपालिका–८ अमाहवा घर भई हाल तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत पकडी चौकदेखि करिब ५०० मिटर नजिकै श्रीमती र दुई बच्चासहित डेरा लिएर बस्दै आएका अमित ओझाको दुई वर्षीया छोरी मन्शा ओझा आज बिहान बेपत्ता भएकी छिन् ।

    बिहान करिब ८ बजे घर अगाडि खेल्दै गरेकी मन्शा अचानक बेपत्ता भएको परिवारले जनाएको छ । बालिका बेपत्ताको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुभाष खतिवडाको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयवासीले संयुक्त रूपमा घर वरिपरि, नजिकैको खोला–नाला र आसपास क्षेत्रमा खोजी अभियान थालेका थिए ।

    प्रारम्भिक खोजीमा कुनै सुराक नपाएपछि जिल्ला प्रहरी कार्यालयबाट समेत थप टोली खटाइएको प्रहरीले जनाएको छ । साथै, घर वरिपरि र सडक क्षेत्रमा रहेका सिसिटिभी फुटेज पनि प्रहरीले जाँच गरिरहेको छ, तर अहिलेसम्म उपयोगी जानकारी फेला परेको छैन ।

    प्रहरीले बालिकाको खोजीमा सहयोग गर्न स्थानीयवासी र सर्वसाधारणलाई आग्रह गर्दै जोसुकैले पनि कुनै जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।