
विराटनगर कार्तिक १९
सुजाता राई
शिक्षक तथा समाजसेवी स्व. हर्कध्वज राईद्वारा सङ्कलित ‘बान्तावा शब्दावली’ पुस्तक किराँत राई बान्तावा खिम, सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा बुधबार पिप्लेमा परिवार, शिक्षक र स्थानीय अगुवाहरूसॅंगै लोकार्पण गरिएको छ ।
सहिदभूमि गाउॅंपालिकाका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बंगला राई, चन्द्रध्वज राई, प्रा.डा. टंक न्यौपाने, निराजन राई (सहप्राध्यापक तथा भाषाविद, इच्छापूर्ण राई (सहप्राध्यापक तथा भाषाविद) रहेका थिए । त्यस्तै, आमन्त्रित विशेष अतिथिमा आनन्द सन्तोषी राई (निवर्तमान अध्यक्ष, केन्द्रीय जनजाति महासंघ), अस्मिता राई (केन्द्रीय सचिव, किराँत राई यायोख्खा), उद्धव राई(अध्यक्ष, किराँत राई यायोख्खा, धनकुटा) समाजिक अभियन्ताहरू तिलक राई, पृथसिंह दाहाल लगायत थिए ।
कार्यक्रमलाई अझ स्मरणीय बनाएको पक्ष के थियो भने
लोकार्पित पुस्तकमा आत्मीयता, मेहनत र सङ्कलनको रोचक कहानी बोकेर बसेकी कृतिकारकी भतिजी सुजाता राई विशेष रूपमा उपस्थित थिइन् । काकाले आफ्नो जीवन समाज, शिक्षा र संस्कृतिमा अर्पण गरेको साँचो हो । मरणोपरान्त भए पनि उहाँको सम्मानार्थ यस पुस्तकलाई आकार दिइएको हो, उनले प्रष्ट्याइन् ।
कृतिकारको योगदान बारे सार्वजनिक रूपमा सुनिँदा सुजाता राई मात्र होइन, उपस्थित सम्पूर्ण परिवार र सहभागीहरू भित्रभित्रै भावुक बनेका दृश्यहरू खुलेर देखिन्थे । स्व. राई केवल शिक्षक मात्र थिएनन्, जीवन सुधालय माध्यमिक विद्यालय, खोकुका नि:शुल्क जग्गादाता, संस्कृतिक अभियन्ता एवम् समाजका आदर्श व्यक्ति पनि थिए ।
उनको जीवनसाथी श्रीमती बंगला राई, छोरा अशेष राई, भाइ चन्द्रध्वज राई, भाउजू बैकान्छी राई, भतिजो इच्छराम राई, मोहन राई, अशिम राई, प्रेमबहादुर राई, भतिजी धनकुमारी राई लगायत छिमेकी, आफन्त, साथीभाइ र सांस्कृतिक अभियन्ता, स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रमले शब्द मात्र होइन, अस्तित्वको पहिचान जोगाउने संकल्प समेत बोकेको थियो । विमोचनमा स्थानीय विद्यार्थीहरूको सुन्दर नृत्यले कार्यक्रमको शोभा बढाएको थियो ।
पञ्चकृष्ण माविका प्रधानाध्यापक होमबहादुर राईको सभापतित्वमा स्वागत मन्तव्य सहिदभूमि बान्तावा खिमका कोषाध्यक्ष सुलुकमन राईले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्जुन राईको थियो ।

