‘नेपाली नस्ल’ एवम् ‘सुन्दरी’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ८ मंसिर २०८२, आईतवार २०:१५ मा प्रकाशित
  • काठमाडौँ, मङ्सिर ०६ गते
    वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘नेपाली नस्ल’ र ‘सुन्दरी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर सवा तीन घन्टासम्म चलेको थियोे ।

    ‘नेपाली नस्ल’ लघुकथासङ्ग्रह लघुकथाकार वसन्त अनुभवद्वारा लिखित प्रथम कृति हो । अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चको संस्थापक सचिव एवम् प्रशासक हुनुहुन्छ । त्यस्तै लघुकथाकार मीठू कुमारी पाठकको ‘सुन्दरी’ लघुकथासङ्ग्रह पनि उहाँको प्रथम कृति हो । पाठक पनि नमस्ते आधुनिक लघुकथा मञ्चको कोषाध्यक्ष एवम् प्रशासक हुनुहुन्छ ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा. कपिल लामिछानेले नमस्ते आधुनिक लघुकथा मञ्चले अहिलेसम्म कति कृति निकाल्यो, यो कतिऔँ कृति हो भन्ने कुरा पुस्तकमा अङ्कित गर्नुपर्ने, सम्पादकको नाम अलग्गै उल्लेख गर्नुपर्ने बताउनुभयो । यसो गर्दा पाठक संस्थाको प्रकाशन एवम् सम्पादक बारे सुसूचित हुने बताउनुभयो । साथै उहाँले लघुकथा छोटो हुनुपर्छ भनिरहँदा यसमा लेखिने भूमिका, सम्पादकीय/प्रकाशकीय लगायत समीक्षा कार्यक्रम पनि छोटो नै हुनुपर्ने उल्लेख गर्नुभयो ।

    ‘लेखकहरू भावुक हुन्छन् । कठोर भएर आफ्ना सृजना काँटछाट गर्न सक्दैनन् तर समीक्षक/समालोचक/सम्पादक कठोर हुनुपर्छ । निर्मम भएर कैँची चलाउनु पर्छ।” भन्नुभयो ।
    कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेप्रति लक्षित गर्दै उहाँले सबै पुस्तकहरूमा एउटै ढाँचाको सम्पादकीय भयो, प्रत्येक पुस्तकमा फरक फरक खालको हुनुपर्ने बताउनु भयो ।

    परिचर्चाकार डा. शंकरप्रसाद गैरेको प्रशंसा गर्दै ‘उहाँले विषयवस्तुको गहिराइमा गएर, कत्ति नआत्तिएर गर्नुभयो, निकै राम्रो लाग्यो । तर उहाँले कृतिको सबल पक्ष धेरै बढी र सुधार गर्नुपर्ने पक्ष कम उल्लेख गर्नुभयो । सकभर सुधार गर्नुपर्ने पक्षलाई बढी जोड दिएर हामीले लेखकलाई परिष्कृत हुने अवसर दिनुपर्छ’ भन्नुभयो ।
    ‘परिचर्चा कार्यक्रममा कृति परिचर्चा गर्नुपर्ने परिस्थिति आउनसक्ने सम्भावनालाई आँकलन गर्दै ‘नेपाली नस्ल’ पल्टाएर पढ्न सुरु गरेँ । पढ्न थालेपछि एकपछि अर्को लघुकथाले मलाई तान्दै गयो । अन्ततः मैले एकैदिनमा पुरै पढेर भ्याएँ ।’ भन्दै उहाँ अगाडि भन्नुभयो, ‘यति राम्रा मानक लघुकथा हुँदाहुँदै पनि एकाध लघुकथामा ढुङ्गा लाग्यो । जसमा मैले कालखण्ड दोष भेटाएँ ।”

    त्यस्तै अर्को परिचर्चित लघुकथा ‘सुन्दरी’को बारेमा बोल्नुहुँदै उहाँले सुन्दरी शीर्षकको लघुकथा अत्यन्त सुन्दर रहेको बताउनुभयो । ‘अरू लघुकथाहरू पनि सुन्दरीझैँ भइदिएको भए कति राम्रो हुन्थ्यो ।’ उहाँले भन्नुभयो ।
    ‘तपाईँ फरक क्षमता भएका विद्यार्थीहरूलाई पढाउनुहुन्छ, तिनीहरूकै बारेमा अध्ययन गर्नुस्, तिनीहरूकै बारेमा लघुकथा लेख्ने गर्नुस्, बाहिरको विषयमा लेख्ने त हामी छँदैछौँ नि !’ ठट्यौली पारामा उहाँले सुन्दरीकी स्रष्टा मीठू कुमारी पाठकलाई भन्नुभयो ।

    ‘हामी प्रायः पुस्तकको नामाकरण गर्दा पुस्तकभित्रकै कुनै एउटा लघुकथाको शीर्षकलाई लिएर गर्छौँ । यसो गर्दा बाँकी लघुकथाहरूमाथि अन्याय हुने भन्दै सकभर सबै लघुकथाहरूको भावलाई समेट्ने भिन्नै शीर्षक राख्न उपयुक्त हुने बताउनुभयो ।

    परिचर्चा कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्नुहुँदै वरिष्ठ समालोचक एवम् कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेले ‘अण्डाको स्वाद कुखुरालाई नहुने तर अण्डा खाने व्यक्तिलाई भएजस्तै लघुकथा कस्तो भयो भन्ने कुराको ज्ञान लेखकलाई नभई पाठक हुने र पाठकका प्रतिक्रिया हामीले सहर्ष ग्रहण गर्नुपर्ने बताउनुभयो ।

    लघुकथासङ्ग्रहमा देखिएका वर्णविन्यास लगायतका त्रुटिका बारेमा स्पष्ट पार्नुहुँदै सम्पादक चालिसेले ‘छोटो समयमा दुईदर्जन बढी लघुकथाहरूको सम्पादन गर्नुपर्ने, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नुपर्ने, भूमिका लेख्नुपर्ने लगायतका चुनौतीहरू थिए । सच्याउन दिइएको पनि नसच्चिएर आउँदा त्रुटि रहन गएको बताउनुभयो ।

    कार्यक्रमको पहिलो चरणमा ‘नेपाली नस्ल’ लघुकथासङ्ग्रहको परिचर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् समालोचक डा. शंकरप्रसाद गैरेले ‘सुरुमा लेखकले के शीर्षक राख्नुभएको होला यस्तो ? भन्ने लागेको थियोे । तर पढेपछि थाहा पाएँ कृतिलाई शीर्षकले न्याय गरेको रहेछ’ भन्नुभयो ।

    कृतिको समीक्षा गर्दै उहाँले ‘संरचनागत दृष्टिले कुरा गर्नुपर्दा उहाँका प्रायजसो सबै लघुकथा छोटा छन् तर छोटो बनाउनका लागि भने उहाँले कुनै सम्झौता गरेको पाइएन । उहाँका लघुकथामा मानवेत्तर, मानवीय पात्रहरू छन् । मानवेत्तर पात्र त्यसमा पनि मानवीय अङ्ग, भाव जस्ता कुराहरू पात्रका रूपमा आएका छन् जसलाई मानवीय पात्रको रूपमा प्रयोग गर्दै सन्देश प्रवाह गर्नुभएको छ’ भन्नुभयो ।

    परिचर्चाकार गैरेले ‘वसन्त अनुभवका लघुकथाहरू सरल, सहज एवम् बोधगम्य छन् । विविध विषयवस्तु समेटेका छन् । सरल, सहज एवम् बोधगम्य छन् । प्रचुर व्यङ्ग्य विधानको प्रयोग गरिएका छन् । यति हुँदाहुँदै पनि केही (एक/दुई वटा) लघुकथा विषयवस्तुको दृष्टिले कमजोर, प्रायः लेखिँदै आएका विषयवस्तुका छन् ।” भन्नुभयो ।

    त्यस्तै कार्यक्रमको दोस्रो चरणमा ‘सुन्दरी’ लघुकथाको परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले सुन्दरी शीर्षकले पनि न्याय पाएको उल्लेख गर्नुभयो ।

    लघुकथाकार मीठू कुमारी पाठकले विशेषत: अपाङ्गता, शैक्षिक विषयवस्तु लगायत बिग्रिएका केटाकेटीलाई सुधार गर्ने जस्ता कुरा समेट्नुभएको छ । उहाँले मानवीय प्रवृतिको उजागर गर्नुभएको छ । कोरोनाकालका अवस्थाहरू, महिला हिंसा/अधिकार सम्बन्धी प्रस्तुतिले पाठकलाई घोत्लिन पर्ने अवस्था सृजना गर्दछन् । संरचनागत दृष्टिले उहाँका लघुकथाहरू मध्यम खालका छन् ।

    सुन्दरीमा भएको सुधार गर्नुपर्ने पक्ष औँल्याउँदै डा.गैरेले केही भाषिक, वर्णविन्यासगत त्रुटिहरू छन् आगामी दिनमा सुधार्नुपर्ने देखिन्छ । केही लघुकथाले के भन्न खोजेको हो त्यो अस्पष्ट छ, त्यसतर्फ पनि लघुकथाकार सजग हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा कृतिकारको तर्फबाट धन्यवाद मन्तव्य दिनुहुँदै नेपाली नस्लका सर्जक एवम् लघुकथाकार वसन्त अनुभवले परिचर्चाकार डा. शंकरप्रसाद गैरेले लघुकथासङ्ग्रह पढेर लघुकथाको गहिराईमा गएर, केस्रा केस्रा केलाएर, मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै समीक्षकप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।

    कृति प्रकाशन गर्न हौसला दिनुहुने मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी कृष्णजी शर्मा, सम्पादनको बोझिलो कामको बिंडो थाम्नुहुने प्रा.डा. विदुर चालिसे लगायत सम्बद्ध सबैप्रति धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै व्यस्तताका बावजुद पनि परिचर्चा कार्यक्रममा आइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू सबै सबैप्रति आभार प्रकट गर्नुभयो ।

    त्यस्तै धन्यवाद मन्तव्य दिनुहुँदै सुन्दरी कृतिका कृतिकार मीठू कुमारी पाठकले मिहिन ढङ्गले लघुकथाको समीक्षा गरिदिनुभएकोमा डा.शंकरप्रसाद गैरेप्रति आभार प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावहरूलाई ग्रहण गर्दै अक्षरस: पालना गर्ने कुरा व्यक्त गर्नुभयो ।

    उहाँले सुन्दरीभित्र रहेका सम्पूर्ण लघुकथाहरू सत्य घटनामा आधारित रहेकोे उल्लेख गर्नुभयो । उहाँले लघुकथा लेखन एवम् कृति प्रकाशनका लागि प्रेरणा दिनुहुने मञ्चका अध्यक्ष कृष्णजी शर्मा, कृति सम्पादन गरिदिनुहुने प्रा.डा. विदुर चालिसे लगायत परिचर्चा कार्यक्रम उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूमा धन्यवाद प्रकट गर्नुभयो ।

    परिचर्चा कार्यक्रममा समापन मन्तव्य दिनुहुँदै कार्यक्रम अध्यक्ष कृष्णजी शर्माले आजको परिचर्चा कार्यक्रमबाट निकै गम्भीर खालका दुई तीनवटा कुरा सिकाइ भएको उल्लेख गर्नुभयो । आजका प्रमुख अतिथि प्रा.डा. कपिल लामिछाने समीक्षक गुरुहरूको पनि गुरु भएको उल्लेख गर्दै उहाँले दिनुभएको सुझावहरूलाई गम्भीर ढङ्गले पालना गरिने बताउनुभयो । साथै उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, कृष्णजी शर्मा, वसन्त अनुभव, मीठू कुमारी पाठक, यमुना प्रधानाङ्ग मुना, गंगा कर्माचार्य पौडेल, श्रीकृष्ण पौडेल, डा.टीकाराम पोखरेल, सुरेशकुमार पाण्डे, कुमार काफ्ले, राजेन्द्र आचार्य, लोकनाथ पुडासैनी, मुक्ति गौतम, गंगा, मुना थपलिया, सावित्री अधिकारी, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका पदाधिकारीहरू, सल्लाहकारहरू, अभिभावकहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।