
काठमाडौँ, असोज ११ गते
वसन्त अनुभव
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘लोपाञ्जन’ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘लोपाञ्जन’ लघुकथासङ्ग्रह, लघुकथाकार श्रीकृष्ण पौडेलको पहिलो लघुकथा कृति हो । त्यस्तै ‘प्रयोगशाला’ लघुकथासङ्ग्रह लघुकथाकार होम प्रसाद नेउपानेको पनि पहिलो लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् आज परिचर्चा गरिएका पुस्तकहरूको सम्पादक समेत रहनुभएका वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.विदुर चालिसेले परिचर्चाकारज्यूले औल्याउनुभएका त्रुटिहरूको सन्दर्भमा बोल्दै ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
साथै लघुकथाकार होम प्रसाद नेउपानेको लघुकथा कृति ‘प्रयोगशाला’को परिचर्चा गर्दै प्रा.डा. विदुर चालिसेले लघुकथाकार होम प्रसाद नेउपानेका लघुकथाहरू छोटा, सटिक र चोटिला रहेको उल्लेख गर्नुभयो । ‘उहाँका धेरै लघुकथाहरू समसामयिक परिवेशसँग मेल खाने हुनुका साथै व्यङ्ग्यात्मक शैलीमा रहेका छन् ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा कृति ‘लोपाञ्जन’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू सामाजिक, राजनैतिक लगायत विभिन्न परिवेशका रहेका उल्लेख गर्नुभयो ‘लघुकथाकार पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली संस्कृति उजागर गर्नुभएको छ । साथै उहाँका लघुकथाहरूमा रैथाने शब्दहरूको प्रयोग धेरै पाइन्छ ।’ उहाँले भन्नुभयो ।
सङ्ग्रहमा रहेका सुधार गर्नुपर्ने कुराहरूको उल्लेख गर्दै परिचर्चाकार लामिछानेले केही लघुकथाहरूमा संवाद नभएकोमा संवाद राख्दा उचित हुने, लघुकथा लेख्दा एउटै कालमा लेख्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शुद्धाशुद्धी तर्फ पनि ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा ‘लोपाञ्जन’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार श्रीकृष्ण पौडेलले आफ्नो कृतिको शब्द शब्द केलाएर अत्यन्त मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा परिचर्चाकार प्रा.डा. कपिल लामिछानेज्यू, प्रमुख अतिथि प्रा.डा. विदुर चालिसेज्यू, अध्यक्षज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सबै महानुभावप्रति आभार प्रकाट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.विदुर चालिसे, प्रा.डा. कपिल लामिछाने, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, विष्णुप्रसाद काफ्ले, लोकनाथ पुडासैनी, मुक्तिनाथ गौतम, मित्र उराठी गौतम, रोहिनी, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण आधिकारिक लघुकथा वाचक प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।