
✍️— तुल्सी राम आचार्य
वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा आएको पनि दशकौं भइसकेछ। बिहान–बेलुकीको धपेडी उस्तै हुन्छ, रुटिन उस्तै हुन्छ, घामको ताप र पसिनाको गन्ध उस्तै छ… यिनै सबैसँग यहाँ जीवन कटिरहेको छ। आफ्ना परिवार, समाज र देशको लागि मरिमेटी पसिना बगाइरहेका छौं; हरेक महिनाको अन्त्यमा केही रकम ‘रेमिट्यान्स’को रूपमा स्वदेश पठाइरहेका छौं।
काम सकेर थकाइले चुर हुँदै बासस्थान फर्किने बेला, गर्मीले चुत्रुक्क भिजेको शरीर लिएर बस कुर्दै गर्दा मेसेञ्जरमा छोरीको तोते बोलीमा आउने “बाबा…” भन्ने सम्बोधनले सबै थोक बिर्साइदिन्छ। त्यो मुस्कान, त्यो शब्द—थकान, पीडा र विछोडको भार बगाएर लैजान सक्ने रहेछ।
तर म यहाँ कुनै सम्पन्न देश वा सम्पन्न व्यक्तिको सहानुभूति खोजेर बसेको छैन। मलाई त केवल यति थोरै आश्वासन चाहिएको छ—मेरो गाउँ, मेरो सहर, मेरो समाज शान्त होस्; मेरो जीवन र पसिनाको सुरक्षा सुनिश्चित होस्।
म जान्दछु, आन्दोलनले मेरो चुलो बल्दैन। यदि बल्ने भए—२०४७ सालदेखिको तर्स्याउने क्रियाकलाप, तोडफोड र भरपर्दो नभएका आश्वासनहरूले मेरो जीवनमा केही वास्तविक परिवर्तन ल्याइदिएको हुन्थ्यो। मैले ती आन्दोलनहरू देखेँ—संगठित हुन पाएनँ, तर नतिजाको प्रतीक्षामा रहिरहेँ।
२०४७ मा भयो—राजनीतिक आन्दोलन। केही व्यवस्था फेरिएझैं देखियो।
२०६३ मा भयो—लामो र तिखो जनयुद्ध। हजारौंले ज्यान गुमाए, अर्बौंको आर्थिक क्षति भयो। नियम-कानुन र संविधानमा केही संशोधनहरू भए होलान्, तर गरिबको भाग्य फेरिएन।
जसले तोडफोड गरे, तिनलाई प्राय: राजनीति नामकै छाताले बचाइदियो। ‘क्रान्तिको नाममा’ भनेर कानुनी कारबाहीबाट उन्मुक्ति दिइयो। समय बित्यो, अनि हामी फेरि बिर्सियौं।
आज फेरि आन्दोलन हुँदैछ। फेरि तोडफोड हुँदैछ। फेरि सार्वजनिक सम्पत्तिमा आगो लाग्दैछ। र फेरि हामीलाई भनिँदैछ—“यो त देशको भविष्यका लागि हो।” अनि गृहमन्त्री बोल्छन्: तोडफोड गरिनेलाई कारबाही गरिनु हुँदैन।
यो स्वीकार्य छैन। कानून र सुरक्षाको प्रश्नमा दुईतर्फी मापदण्ड हुँदैन। सार्वजनिक शान्ति, व्यक्तिगत सुरक्षा र आर्थिक आधारभूत संरचनाको रक्षा गर्दै न्याय कायम गर्नु सबै नागरिकको पहिलो कर्तव्य हो—राजनीतिक स्वार्थ होइन। आन्दोलनले बोल्न पाउनुपर्छ; तर त्यो बोलाइले जीवन र सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन, र दोषीहरूले राजनीतिमा सक्रिय भएकै कारण वा आधारमा छुट पाउनु हुँदैन।
हामीले अब प्रश्न उठाउनुपर्ने बेला आयो—के हामी वास्तवमा परिवर्तन चाहन्छौं, कि केवल ‘अर्को पटक’ को लागि बहाना? के हाम्रो लक्ष्य तोडफोड र अस्थिरता हो, कि न्याय, विकास र सुरक्षा हो? छुट वा संरक्षण पाउनेहरूको सूची लामो रहिरहेसम्म, असल परिवर्तनका लागि भरोसा कसरी फर्किन्छ?
देशको माया झन्डा फहराउनेभन्दा ठूलो हो—देशलाई जिम्मेवार नेतृत्व, उत्तरदायी शासन र सुसम्बन्धित न्यायिक प्रक्रिया चाहियो। मेरो पसिना र अनेकौं परिवारको बलिदानले त्यस्तो भविष्य चाहिन्छ जहाँ अरूले ‘क्रान्ति’को नाममा अमान्यतालाई धर्म नदिएर जवाफदेही बनून्।
हामी चुप बस्ने समय सकियो — आवाज उठाउनै पर्दछ; तर आवाजले विनाश ल्याउनु हुँदैन, न्याय र इमानदारी माग्नुपर्छ। त्यसो भए मात्रै मेरो र तपाईंको पसिना असल तरिकाले मुल्यवान हुनेछ।

