विलोम लघुकथा ‘स्वाद’ को भित्री स्वाद

  • २८ श्रावण २०८२, मंगलवार ०७:४४ मा प्रकाशित
  • ✍️ नन्दलाल आचार्य

    १. शीर्षक र विलोम शिल्पको प्रयोग
    दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।

    २. शैलीगत रचनाशिलता

    लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।

    तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।

    ३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ

    कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।

    ‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्‍याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।

    ४. लघुकथाको प्रभावकारिता

    कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्‍याएको जस्तो लाग्छ ।

    यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।

    ५. समालोचनात्मक निचोड

    ‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।

    यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”

    दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:

    ६. सन्देश

    ६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन

    यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।

    ६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ

    साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ  पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।

    ६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ

    यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।

    ६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश

    यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।

    ६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो

    ‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।

    यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”

    ७. निष्कर्ष

    दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ ।  कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’
    ०००
    (विलोम लघुकथा)
    🔴  विलोम लघुकथा- स्वाद
    ✍️ दीपक लोहनी

    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् ।
    मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    उनी सोफामा बसेर, झ्यालको हावा खाँदै विद्युतीय प्रकाशमा लघुकथा पढ्न थालिन् ।

    – ‘स्वाद भेटियो ?’
    – ‘अहँ ।’

    मैले सयन कक्षमा पढ्न सुझाएँ ।
    – उनी सयन कक्षमा पसिन् ।

    पर्दा लगाउन अह्याएँ ।
    – उनले पर्दा लगाइन् ।

    मैले बिजुली अफ गर्न भनेँ ।
    – उनले त्यो पनि अफ गरिन् ।

    पलङमा पल्टन भनेँ ।
    – उनी निसङ्कोच उत्तानो पल्टिन् ।

    सिरानी प्रयोग गर्न लगाएँ ।
    – उनले सिरानीमा मुन्टो राखिन्।

    मैले ‘सिरानी कम्मरमुनी राख ।’ – भनेँ ।
    – उनले त्यसै गरिन् ।

    ‘स्रष्टालाई डाक ।’ – अह्याएँ ।
    – उनले आँखाको इशाराले मलाई डाकिन् ।

    उनको समीप पुगेर भनेँ – ‘अब पढ ।’
    – उनले ब्रम्हलीन भएर पढिन् ।

    पढाइ सकिसकेपछि सोधेँ-
    ‘कस्तो रहेछ विलोम लघुकथा ?’
    उनले जिब्रो पड्काउँदै भनिन्- ‘आहा !’

    ०००
    कुरिलो घर
    काठमाडौं ।
    ~~~~~~~
    (उत्तरकथा)
    🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका
    ✍️ नन्दलाल आचार्य

    ‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?

    त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान…
    उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।

    सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला-
    सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।

    पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो ।
    बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो-
    बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए ।
    पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ,
    र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !

    ‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर ।
    ‘उनी’ले त आँखाको इशाराले बोलाइन्,
    तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें-
    त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।

    र, त्यो ‘ब्रहमलीन’ पल…
    शब्दहरूसँग विचार पनि पल्टिए,
    कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो ।
    र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’

    अब जो-कोही भन्छन्-
    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’,
    म भन्छु-
    ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’
    ०००
    २०८२/०४/२०

    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।