सचेतनामूलक हाते पुस्तिका विमोचन

  • २७ असार २०८२, शुक्रबार २२:१८ मा प्रकाशित
  • साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा

    रियाद, साउदी अरेबिया – नेपाली राजदूतावास, रियादले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै सचेतनामूलक हाते पुस्तिका विमोचन गरेको छ। विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको उक्त पुस्तिका नेपाली श्रमिकहरूबीच कानुनी, सामाजिक र व्यवहारिक पक्षमा जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको हो।

    दूतावासले जनाए अनुसार, पुस्तिकाले साउदी अरबको श्रम कानुन, बसोबास र कार्यसम्बन्धी आवश्यक जानकारी तथा श्रमिकहरूले जानअन्जानमा गर्नसक्ने गल्तीहरूबारे सचेत गराउनेछ। यसले उनीहरूको सुरक्षामा योगदान पुर्‍याउनुका साथै समस्यामा पर्नबाट जोगाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    कार्यक्रममा बोल्दै दूतावास प्रतिनिधिहरूले साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा, यस्ता प्रयासहरू अत्यन्त आवश्यक र उपयोगी हुने बताए।

    दूतावासले यस पुस्तिकामा राखिएका जानकारी श्रमिकहरूबीच व्यापक रूपमा साझागर्न समेत अपिल गरेको छ, ताकि सबै नेपालीले विदेशमा सुरक्षित र सम्मानजनक जीवन यापन गर्न सकून् भन्ने दुतावासको उद्देश्य रहेको छ !

    साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेका मध्ये विभिन्न कारणले जेलमा रहेका नेपालीहरूको संख्या ४५४ रहेको छ भने मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नेपालीको संख्या ३ रहेको नेपाली दूतावासले जानकारी दिएको छ।

    त्यस्तै, दुर्घटना वा गम्भीर बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या ४ रहेको छ। हालसम्म सम्पर्कमा नरहेका तर दूतावासमा विवरण प्राप्त भएका नेपालीहरूको संख्या ११ जना रहेको पनि उल्लेख गरिएको छ।

    विभिन्न कारणले मृत्यु भई नेपाल फर्काउनु पर्ने नेपालीको संख्या १५ रहेको छ। तीमध्ये ४ जनाको लागि NOC (अनुमति पत्र) जारी भइसकेको छ भने बाँकी ११ जनाको प्रक्रिया जारी छ। उल्लेखनीय छ, तीमध्ये १ जनाको मृत्यु आगलागीबाट भएको र सो स्थानमा दुई अन्य विदेशी नागरिकको समेत मृत्यु भएकाले DNA परीक्षण गरी शवको पहिचानपछि नेपाल फर्काउने तयारी भइरहेको बताईएकोछ।

    जस अन्तरगत नेपाल सरकार तथा साउदीस्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।