गाईघाटमा ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’को सार्वजनिक

  • ५ श्रावण २०८२, आईतवार ०७:२१ मा प्रकाशित
  • नन्दलाल आचार्य,/गाईघाट, उदयपुर

    गाईघाटको त्यो बिहान सामान्य थिएन । शान्त आकाशमुनि एउटा सभाहलभित्र अक्षरहरू गुञ्जिरहेका थिए । दुई कृतिका आवाजले समयलाई झस्क्याइरहेका थिए, र उदयपुर साक्षी बनेको थियो दुई सशक्त सिर्जनाको आगमनमा ।

    सङ्गम पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कथाकार बोधकुमार घिमिरे र कवि हिमालय पौडेलका कृति ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ सार्वजनिक गरिए । कार्यक्रम संयोजन, सञ्चालन र सन्देश सबै साहित्यप्रेमीहरूको आत्मीय सहभागितामा सम्पन्न भयो ।

    कार्यक्रमको अध्यक्षता पुस्तकालय अध्यक्ष भरत खड्काले गरे । प्रमुख आतिथ्य सम्हाल्दै प्रा.डा. टङ्कप्रसाद न्यौपानेले साहित्यलाई चेतनाको ऐनासँग जोडेर प्रस्तुत गरे । समीक्षा र समालोचनाका लागि नन्दलाल आचार्य र पुण्य कार्की, टीकाप्रसाद पौडेल र दीपक पौडेल मञ्चमा थिए । उपस्थित दर्शकको संवेदनशील शान्तिमा साहित्य बोलिरहेको थियो ।

    बोधकुमार घिमिरेद्वारा लिखित ‘बलिदानका कथाहरू’ ११ कथाको सङ्ग्रह हो- शब्दको सजावट होइन, यथार्थको चोट हो। समीक्षकद्वय आचार्य र कार्कीले कथाहरूलाई “हाँसोभन्दा बढी आँसुका भाषा” भने । माओवादी द्वन्द्वको त्रासदी, त्यसपछिको विघटन, राजनीतिक सङ्क्रमण र सामाजिक पीडाको समग्र चित्र यसमा पाइन्छ ।

    कथाकारका आफ्नै शब्दमा- “सत्य लेख्न खोज्दा झुटो लाग्ने पात्र मेरा आफ्नै समाजका पीडित अनुहार हुन् ।” कथा न त केवल कल्पना हुन्, न त शुद्ध यथार्थ यी जीवित विडम्बनाहरू हुन्, जो कलमका लयमा कराइरहेका छन् ।”

    हिमालय पौडेलको ‘शिखण्डी’ केवल खण्डकाव्य होइन, मिथकको खोल फुकालेर युगको मुहार देखाउने प्रयत्न हो । समालोचक टीकाप्रसाद पौडेल र दीपक पौडेलले यसलाई “युगीन विद्रोहको स्वर” र “अव्यक्त घाउको भाष्य” माने ।

    प्रा.डा. न्यौपानेले खण्डकाव्यलाई युगको पुनर्परिभाषा मान्दै भने, “कवितामा अनुभूति कल्पनामा ढालिनुपर्छ, तर खण्डकाव्यमा त्यो अनुभूतिमा युग बोल्नुपर्छ ।” शिखण्डी त्यसैको सजीव उदाहरण हो- पौराणिकताभित्र विद्रोहको नयाँ विम्ब ।

    कार्यक्रम केवल विमोचनमा सीमित रहेन । यो सन्ध्या वाचन, विचार र विमर्शको साझा मञ्च बन्यो । प्राज्ञ रामप्रसाद खरेलले भने, “सिर्जनापछि कुटाइ पनि खानुपर्छ, माया पनि पाइन्छ । लेखक दुबैका लागि तयार हुनुपर्छ ।” यस भनाइमा लेखकीय इमानदारीको समर्पण झल्किन्थ्यो ।

    कोशी प्रदेश सांसद सम्झना पाख्रिन, साहित्यकार विन्दु दाहाल, कवयित्री मायामितु न्यौपाने, कथाकार राममणि पोखरेल र सङ्खुवासभाका कवि ताराबहादुर बुढाथोकी लगायतले मन्तव्य दिँदै आफ्ना रचना वाचन गरे ।

    विशेषतः बुढाथोकीद्वारा वाचन गरिएको कविता ‘झोला’ दर्शकहरूलाई झस्क्याउने खालको थियो । शार्दूल विक्रिडित छन्दमा रचिएको यो व्यङ्ग्यात्मक कविता प्रवासपीडासँगै सामाजिक र राजनीतिक विडम्बनाहरूको चीरफार गर्छ ।

    “झोला हो परदेश भ्रमण सखे नेपालमा पूजने,
    रित्तो पो छ कि वा पुटुक्क छ भनी सङ्केतमा बुझिने ।
    झोलाकै बलमा युधिष्ठिर भए झोले ती दुर्योधन,
    लेख्नै मुस्किल पो भयो कि त सखे झोला नबोकीकन ।।”

    कार्यक्रमका समापनतिर अनुसन्धाता कौशल चेम्जोङले भने, “अक्षरहरू मन्त्र हुन्। लेख्न विवेक चाहिन्छ। बेफ्वाँक लेखिँदैन, विवेकविना बुझिँदैन ।” यो भनाइले आजको साहित्यिक जिम्मेवारीलाई उजागर गर्‍यो ।

    कार्यक्रमको आरम्भमा सल्लाहकार महेन्द्र राईले स्वागत मन्तव्य राख्दै सङ्गम पुस्तकालयलाई सिर्जनात्मकता र विवेकको थलो बनाउने अठोट व्यक्त गरे । यस्तै, प्रा.डा. न्यौपानेले उदयपुर गढीको ऐतिहासिकता र प्रदेश प्रज्ञा प्रतिष्ठानको आवश्यकता उठाउँदै साहित्यको क्षेत्रीय समृद्धिमा जोड दिनुपर्ने बताए ।

    उनले कथा लेखनबारे सूत्र वाक्य पनि दिए- “कथा आकस्मिक रूपमा सुरु हुनुपर्छ र अप्रत्यासित ढङ्गमा टुङ्गिनुपर्छ । पाठकले अन्दाज गर्न नसक्ने कौतुहलता राखेर अन्त्यमा स्पष्टीकरण दिन सक्नु नै कथा हो ।”

    उक्त कार्यक्रम केवल दुई कृतिको विमोचन थिएन । त्यो दिन दुई सर्जकले आफ्ना भोगाइ, दृष्टि र युगको चोट नेपाली पाठकमाझ अर्पण गरे । एकातिर युद्ध र बलिदानको दस्तावेज ‘बलिदानका कथाहरू’, अर्कातिर मिथक र वर्तमानको संगम ‘शिखण्डी’ यी दुबै उदयपुरबाट एकैपटक उदाए ।

    शब्दहरू शस्त्र थिएनन्, तर शक्ति थिए । कार्यक्रमका प्रत्येक वक्ताले भन्न खोजेका थिए, साहित्य मनोरञ्जन होइन, चेतनाको निर्माण हो ।

    अन्त्यमा अध्यक्ष भरत खड्काले भने, “आज हामीले साहित्यको यात्रा होइन, जीवनको यात्रा थालेका छौं। यस यात्रामा शब्दहरू सधैँ हाम्रो साथमा रहनेछन् ।”

    गाईघाटको त्यो बिहान शब्दहरूको उत्सव थियो । जहाँ शब्दले मञ्च पाए, सर्जकले आत्मसन्तोष, र पाठकले सन्देश । ‘बलिदानका कथाहरू’ र ‘शिखण्डी’ दुवै सिर्जनात्मक परिश्रमका उपज हुन्- यी कृतिहरूले नेपाली साहित्यमा केवल लेखकीय उपस्थितिको होइन, जनचेतनाको अस्तित्व पुष्टि गरेका छन् ।

    सिर्जनालाई सम्मान गर्ने समाज नै सिर्जनात्मक हुन्छ । गाईघाटले त्यसको गवाही दियो । उदयपुरले त्यो अभ्यास गर्‍यो ।

    ०००