छेत्रीकृत ‘आह्लादित’को सार्वजनिकरण, टुक्का प्रवर्तक चापागाईं भारतमा सम्मानित

  • ११ असार २०८२, बुधबार ०८:२२ मा प्रकाशित
  • सिलगढी, भारत
    विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजनामा गत २२ जुनमा हन्नाह छेत्रीकृत “आह्लादित” टुक्का कविता सङ्ग्रह सार्वजनिकरण भएको छ । देवकोटा सङ्घ सिलगढीमा उक्त कार्यक्रम भव्यताका साथ सुसम्पन्न भएको थियो ।

    कार्यक्रमको अध्यक्षता राहुल राई बोगिकोले गर्नुभएकाे थियाे । प्रमुख अतिथि डा.साङ्मू लेप्चा हुनुहुन्थ्याे भने विशिष्ट अतिथीहरू डा.सुकराज दियाली, डा.तेजमान वराइली, ताराप्रसाद चापागाईं, चन्द्र भण्डारी, श्रीमती सीता देवी छेत्री, प्राध्यापक नवीन पौड्याल, ग्याल्पो लामा, डा.कृष्ण राज घतानी, सतिस रसाइली, श्रीमती लतिका जोशी, कृष्ण प्रधान ‘अर्पण’, गणेश प्रधान, प्रेम कुमार राई, जितबहादुर साेनार हुनुहुन्थ्याे ।

    ‘आह्लादित’ टुक्का कविता सङ्ग्रहकी प्रकाशिका सुश्री सहारा रसाइली कार्यक्रमको साक्षी बन्नुभएकाे थियाे ।

    कार्यक्रममा नेपालकाे काडमाडाैँ, झापा, इलाम र भारतकाे मनिपुर, असम, सिक्किम, दार्जिलिङ, मिरिक, कालेबुङ, सामसिङ्ग, गाेरुवथान, खरसाङ लगायत सिलगढीका स्थानिय साहित्यानुरागी, गोर्खे हाट सिलगढीकाे परिवार लगायत विनेसाम भारत शाखाका पदाधिकारी सदस्यहरू समेत २०० जनाकाे साहित्यानुरागीहरूकाे उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा बाल साहित्य अकादमी पुरस्कारले पुरस्कृत हुने डा.साङ्मू लेप्चा अनि नेपाली साहित्य परिषद मणिपुरकी अध्यक्ष श्रीमती सीतादेवी छेत्रीलाई दोसल्ला, स्मृति चिन्ह सहित सम्मान समर्पण गरिएको थियो । त्यसैगरि नेपालका टुक्का कविताका प्रणेता अग्रज साहित्यकार ताराप्रसाद चापागाईँलाई “टुक्का कविता प्रवर्तक सम्मान २०२५” सहित दाेसल्ला ओढाएर सम्मान समर्पण गरिएकाे थियाे ।

    कार्यक्रममा नेपालबाट उपस्थित प्रमुख वक्ता वरिष्ठ साहित्यकार चन्द्र भण्डारीले मेची वारि र मेची पारी बस्ने हामी भाषा साहित्य प्रेमी नेपालीले देख्ने सपना एउटै हो भन्दै हाम्रो र हामी शब्दले हामी महाजातीलाई जोड्ने कुराको उजागर गर्दै प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितासङ्ग्रह “आल्हादित” काे कृतिकार हन्नाह छेत्रीलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएकाे थियाे ।

    कार्यक्रमका अध्यक्ष राहुल राई बोगिकोले कार्यक्रम सफलिभूत तुल्यउनमा तन, मन र धन खर्चिएर सहयाेग पुर्याउने समस्त विनेसाम भारत शाखा परिवार प्रति आभार प्रकट गर्नुकाे साथै कृतिकार छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे ।

    कार्यक्रमका विशेष अतिथी ताराप्रसाद चापागाईंले टुक्का कविताको सैद्धान्तिक पक्षलाई प्रकाश पार्दै हन्नाह छेत्रीकृत “आह्लादित” काे पुस्तक समीक्षा गर्नुकाे साथै स्रष्टा छेत्रीलाई बधाई तथा शुभकामना अर्पण गर्नु भएकाे थियाे ।
    कार्यक्रमका प्रमुख अतिथिद्वय डा.सङ्मू लेप्चा र श्रीमती सीता देवी छेत्रीले आफूहरू सम्मानित भएकोमा आयोजक पक्ष प्रति आभार प्रकट गर्दै नेपाली साहित्य मौलाउँदै गएकाे र कवितामा प्रयाेगकाे रूपमा रहेकाे टुक्का कविता सङग्रह ‘आह्लादित’ लाेकार्पण भएकाेमा खुसि व्यक्त गर्दै सम्मानित हुँदा साहित्य सेवाको जिम्मेवारी अझै थपिएकाे कुरा व्यक्त गर्नु भएकाे थियाे ।

    विशिष्ट अतिथि देवकोटा सङ्घ सिलगढीका अध्यक्ष मिलन रुचालले नेपाली साहित्य अनि मानव जीवन जगत्का सरस दार्शनिक कुरालाई उजागर गर्दै कृतिकार हन्नाह छेत्रीलाई बधाई अर्पण गर्नु भएकाे थियाे ।
    कृतिकार हन्नाह छेत्रीले आफ्ना दुई सन्तानलाई जन्माउनु भन्दा प्रथम कृति”आह्लादित” जन्माउँदा कठिन परेको कुरा अनि आफ्ना स्वर्गीय माता पिताको सम्झना गर्नुकाे साथै विभिन्न किसिमका सहयाेगहरू उपलब्ध गराएर आफ्नाे सपना साकार गर्न सहयाेग पुर्याउनु हुने विनेसाम भारत शाखा लगायत सम्पूर्णमा सहयाेगी हातहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रमको सञ्चालन विनेसाम भारत शाखाकी कोषाध्यक्ष श्रीमती देविका मङ्ग्राती राई अनि उपाध्यक्ष विनोद खातीले गर्नु भएको थियो । स्वागत सम्बोधन सचिव श्रीमती गीताश्री शर्माले राख्नु भएको थियो भने महासचिव मोहन गौतमले संस्थाकाे वार्षिक प्रतिवेदन पेस गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा बिबा तामाङ्ग, रमा गुरुङ र कविता भट्टराईले टुक्का कविता अनि पेम नर्बु सेर्पा “ज्योति”, प्रेम न्यौपाने “प्रहर”, अर्चना शर्मा र राेजेश राईले कविता वाचन गर्नु भएकाे थियाे । आयुष्णा प्रधान र अनुष्का प्रधानले नृत्य प्रस्तुत गर्नु भएकाे थियाे अनि अनिल गुरुङ र सुधीर घलेले मिठा गीतहरू प्रस्तुत गर्नु भएकाे थियाे । अन्त्यमा विनेसाम भारत शाखाका उपाध्यक्ष पेम नर्बु शेर्पा “ज्योतिले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएकाे थियाे ।