
साप्ताहिक झिल्का लेखन अभ्यासको ४८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
झण्डामुनि झुन्ड हुने
तिम्रो रहर, बाध्यता !
पेशामार्फत लोकलाई नछुने ।
२,
बिनाताप जलाउॅंछ जलनले
खान्छ आफूले आफैलाई
नचल्ने हल्लाको चलनले ।
३,
जीवनमा बनाऔॅं हैसियत
भविष्य थुनिदिन्छ आशाले
किन चाहियो कैफियत ?
✍️म्यामराज राई
…
१,
नभन कसैले पनि
छोडी जाने धन
सबै मेरो भनी |
२,
मरेर जाने चोला
धर्ती छोड्नैपर्छ एकदिन
भनेर पनि बुझ्नुहोला |
✍️सरिता सेढाई
धादिङ
…
१,
झिल्का झाँगिॅंदै जाला
देश विदेशमा अन्धकार
चिर्न बनेर ज्वाला।
२,
प्रगतिपथमा सदा लम्किनु
देश र जनतालाई
नयाँ सन्देश दिनु।
३,
उठेर जुटेर जुर्मुराई
नाचौँ गाऔॅं सबैले
एउटै झण्डा उठाई।
✍️सुरेशकुमार पाण्डे
दाङ घोराही १८
…
१,
नयाँ चाहना बनिरहोस्
त्यो चोखो मनभित्र
झुटा बहाना नबनोस् ।
२,
आकाशमा सुन्दर जून
छर्दै उज्यालो प्रकाश
लगाउँदै धर्तीलाई गुन ।
✍️अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा ।
…
१,
उज्यालो संसार देखाउने
हुन् मनका रहर
यथार्थमा जान सिकाउने।
२,
सुनाऊँ पीडा कसलाई ?
जलनले जलेको छ
सकिएन थाम्न यसलाई।
३,
पुग्न नसकिने जून
टिप्न नसकिने तारा
खोज्छ आशाले छुन।
✍️सतीश पण्डित
भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
गोजी रित्तो भयो
थाहा पायो उस्ले
अरुलाई हेप्दै गयो।
२,
यो समयको खेल
सधैँ एकनास हुँदैन
नगर्नु अरूलाई झेल।
३,
चिसोमा पिउनु तातोपानी
वृद्ध बालबच्चालाई जोगाउनु
कष्टकर छ जिन्दगानी।
✍️चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
…
१,
साथीको भरमा परियो
दुनियाँ ठगेर गए
कानुनहीनताले बर्बाद गरिदियो ।
२,
कालो कानुन चलेछ
ठगी धन्दा मौलायो
नेताको दिन बलेछ ।
✍️सहदेव केसी
…
१,
झुल्कियो उज्यालो बिहानी
दिनहरू सुखमय बितोस्,
मौलाओस् सच्चा बानी ।
✍️भुपेन्द्र राना मगर
धादिङ
…
१,
रित्तियो सबै पिर
फिर्यो चक्र समयको
उच्च भयो शिर ।
✍️ ताराप्रसाद चापागाईँ
…
१,
झण्डामुनि मात्रै बसेर
देशको भक्ति नगर्ने
कुरा गर्छौं जागेर?
२,
मुखले धस्छौ चेपारे
काम सिन्को नभाँच्नेलाई
भन्छन् सबैले बेसारे।
३,
कानुन सबैलाई नलाग्ने
किन ठुलाबडा उम्किन्छन् ?
अनि तिनै जाग्ने।
✍️अर्जुन प्रसाद चौलागाई
हाल:-अमेरिका, बोस्टन
…
१,
बुढेसकाल लागेको बेला
छैन धन सम्पत्ति
गर्छन् सबैले हेला।
२,
लोभी पापी मन
जे जसरी पनि
कमाउनु पर्ने धन।
३,
दिनभरिको कामको थकाइ
भोकै सुत्न सकिन्न
खानुपर्छ आफै पकाई ।
✍️राज कुमार राजभण्डारी खोटाङे
ऐसेलुखर्क – ३ खोटाङ
…
१,
समय चोरको हातमा
भविष्य नाजुक बन्यो
भएनन् जनताको साथमा।
२,
कसरी भनौँ जहिले ?
अत्याचारको सिमा नाघेर
हेरी नसक्नु अहिले।
✍️शंकर कार्की
मकवानपुर ।
…
१,
टिका लगाऊँ शिरमा
सृष्टिको प्रारम्भ पनि
नबस तिमी पिरमा।
✍️निमा छिरिङ भोटिया
जलढका कालेबुङ
…
१,
तातोतातो खाना खाई
बच्नुपर्छ चिसोदेखि अब
ज्याकेट, सुइटर लगाई ।
२,
क्षणिक न्यानो पाउन
नखाउँ जाड, रक्सी ,
ज्यान तातो बनाउन ।
३,
शरीरलाई असर गर्छ
चिसो मौसममा सधैँभरि ,
फिरिरी हिउँ झर्छ ।
✍️सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
जिन्दगीलाई बनाउन उमङ्ग
कठिन यात्रा समयको
बदलियो सारा रङ्ग ।
✍️मन्दिरा सेढाई
मलेखु, धादिङ
…
१,
आरिसले जिन्दगी चल्दैन
हामीले सङ्घर्ष नगर्दा
अँगेनामा आगो बल्दैन ।
✍️केसर बोहरा ‘सङ्घर्ष’
सुदूरपश्चिम अछाम (हाल भारत)
…
१,
कस्तो कुटनैतिक चाल
ए ! दलाल हो
आयो तिम्रो काल ।
२,
बनाएर अब आफ्नोपना
देशको विकास गर्दै
उठौँ सबै जना ।
३,
भयो अब अति
ढिला भैसक्यो है
अब सहने कति ?
✍️दीप गोले तामाङ
रौतहट
…
१,
परिश्रमी हातहरू झुक्दैनन्
अरूलाई पछि पार्न,
हिंसा गरी लुक्दैनन्।
२,
तातो तातो खानु
चिसो धेरै बढेछ
हिड्डुल गर्न नजानु।
३,
बोरु थोरै कमाऊ
त्यसैमा चित्त बुझाइ
प्रफुल्ल भइ रमाऊ।
✍️कला ढकाल
झापा
…
१,
वेद कुरान पढे
सार कसैले बुझेनन्
दाजुभाइ आपसमा लडे।
✍️बिके मुखिया
…
१,
नभने पीडा खप्ने
क्या ! लोभी रहेछ
स्वार्थीले सबै हडप्ने ।
✍️प्रेम थापा “मन”
बागलुङ
…
१,
छैन जिउने बाटो
चक्रव्यूहमा छ देश
रुँदैछ मातृभूमिको माटो ।
२,
रोपेछौ कालकुटको रुख
लुटिए सबै जिजीविषाहरू
मेटिए नैसर्गिक सुख !
३,
बच्छ बेमौसमी मादल
नाच्छन् मधुशालामा खलनायक
हटेन कालो बादल ।
✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
इटहरी -१, हलगडा सुनसरी ।
…
१,
बाँधिदिए पिरतीको गाँठो
लैजाउ मन चोरेर
पुरानो सम्झनाको साटो ।
✍️होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
…
१,
मनमा चल्दछ ज्वारभाटा
जिन्दगी व्यर्थ बितेर
घुमेर उमेरको काँटा ।
२,
समय बितेर गयो
उमङ्ग उत्साह मर्दैछ
अधमरो जीवन भयो ।
✍️मोती योन्जन सुब्बा
दार्जिलिङ।
…
१,
कसैको हैसियत नजाचौँ
अल्छी बानी त्यागेर
आफ्नै श्रममा बाँचौँ ।
✍️भोज विवश मगर
गैँडाकोट -३ नवलपरासी पूर्व
…
१,
आउँछौ घरी समीप
कहिले गर्छौ झगडा
रहेनछ प्रीतिको सिप ।
✍️बाबुराम पाण्डे
…
१,
बर्खामा पानी गर्ने
ऋतको हो कमाल
हिमालमा हिउँ झर्ने।
२,
नयाँ वर्ष आयो
पुरानोलाई विस्थापित गरी
नयाँ पात्रो पायो।
✍️नवराज भट्ट
कञ्चनपुर
…
१,
परिश्रम मेहनतको फल
हुनुपर्छ उत्पादनमा चासो
मिल्छ किसानलाई बल ।
२,
सार्थक भएनन् कुरा
नेता फगत गफाडी
रोपे ऋणको छुरा ।
✍️रबि पौडेल
दक्षिण भारत पाण्डेचरी
…
१,
नदेखी विकासलाई बिगार्यौँ
चुनावमा भोज खाएर,
पश्चगामीलाई भोटले सपार्यौँ ।
✍️लोक बहादुर छेत्री लामिछाने
मोदी गा पा २ देउपुर ,पर्वत
…
१,
सुनपानी छर्किएका सेता
भ्रष्टाचारी भएपनि कति
चोखिएका ठुला नेता !
२,
आगो बाल्ने पर्यो
अब भुरालाई तहलाउँन
ठुलै आँट गर्यो ।
✍️विवश पारदर्शी
झापा
…
१,
भइरहन्छ यहाँ बारम्बार
अन्त्य हुँदैन कहिले
हाम्रो देशमा भ्रष्टाचार ।
२,
बोकाएर ऋणको भारी
खुलेआम हिॅंडेका छन्
यो देशमा भ्रष्टाचारी ।
✍️अनिता भण्डारी
ताप्लेजुङ
…
१,
संस्कारयुक्त थियो पाटो
हिँड्न जानेनछौँ हामीले
पुर्खाले देखाएको बाटो।
✍️अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत
…
१,
सार्थक भएनन् आशा
तरल राजनैतिक परिवेशले
युवामा छायो निराशा l
२,
उठ युवा जुटेर
समर्पित होऊ कर्ममा
मिल्दैन मुक्ति सुतेर l
३,
प्राज्ञको सङ्गत गरौँ
मनको विकार हटाएर
ज्ञानको ज्योति छरौँ l
✍️बाबुराम गौतम
गुल्मी
…
१,
खुलेर जिउन सिक
सङ्घर्षको मैदानमा हेर
आफ्नो दिमाग झिक ।
✍️अम्बिका अधिकारी
…
१,
समयमै मान्छे चिन्नुपर्छ
आफ्नै भरोसामा मात्र
सदा अघि हिँड्नुपर्छ ।
✍️विष्णु पंगेनी पाण्डे
वालिङ्, स्याङ्जा
…
१,
बनोस् नयाँ भावना
झिल्काप्रति सधैँ हाम्रो
सबैमा छ शुभकामना ।
२,
जिउने बनोस् बाटो
हॅंसाउँनु नेपाल आमालाई
उर्वर बनाएर माटो ।
✍️दुर्गा भट्टराई
मोरङ
…
१,
मनमा उमङ्ग हर्ष
खुसी बोकेर आयो ,
झिल्का कविता वर्ष ।
✍️श्रीकृष्ण धामी
बझाङ
…
१,
मायालु बोलाउनु खास
अघि सर्नु तिमी
गरेर नबस्नु आस।
२,
हावापानी बस्नु सहेर
सबैलाई दु:ख हुने
असर उल्टो बहेर ।
३,
अरूले भनेको मान्नु
मान्दैनौ तिमी भने
काम आफैँले जान्नु ।
✍️रामप्रसाद पुरी
बादेल, खोटाङ
…
१,
नसोचेको हुनु भयो
जिन्दगी हासखेल गर्दै
उकाली ओराली गयो ।
२,
सम्झियो उसले मलाई
सम्झिन त आज
बिर्सियो कसरी तपाई ?
✍️ईश्वर साउद (भिक्षु)
रामारोशन गाउँपालिका ६ सु,प,अछाम
…
१,
ढुक्क परेर नबस
जालझेल फेरि हुनसक्छ
बरु कम्मर कस!
✍️बेदु न्यौपाने
…
१.
भीडमा नअल्मलिनु मन
आफ्नै शैली हुन्छ
छ विशेष आफ्नोपन ।
२.
आज दौडियो धेरै
बिचमा शून्य थपिँदा
काम रह्यो मेरै ।
✍️पुष्पा राई
बादेल, खोटाङ ।
…
१,
हाँसो खुसीको जीवन
घात लाग्न थालेपछि
टुङ्गिदै गयो वचन !
२,
रमाएर के गर्नु ?
छोडेर जाने चोला
निश्चय छ मर्नु !
३,
सोधे हुन्थ्यो मलाई
हाँसेरै बिधा दिन्थे
के पायौँ जलाई !
✍️अच्युत घिमिरे
सर्पाङ, भुटान
…
१,
झिल्का चारैतिर छायो
साहित्यिक विचार सबैले
मिलाई लेख्न पायो ।
✍️शोभा आचार्य गौतम
काठमाडौँ
…
१,
झिल्कामा बढ्नुपर्छ राप
विकृतिको राज गर्नेहरूलाई
बढाओस् मनमा ताप ।
२,
राख्नुपर्छ सबैले हेक्का
देश हो साझा
होइन तिम्रो ठेक्का ।
३,
अतिले हुन्छ खति
समयमै होस पुर्याई
सुधार तिम्रो मति ।
✍️जयनारायण नेपाल
इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
…
१,
जीवन बनाऊ खास
एकबारको जुनी हो
नबनौँ कसैको दास ।
२,
ढल्दैछ हेर जवानी
समयको गतिमा दौडेर
बन्नेछ शरीर खरानी ।
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
…
१,
उकालीको बाटो राम्रो
सुनमा सुगन्ध हेर
प्यारो धर्ती हाम्रो !
✍️आर्त अकुलीन
…
१,
भ्रष्टाचारीले डुबाए देश
चुसक जुका बनेर
फेर्दै अनेक भेष
✍️राज बहादुर बडुवाल
कनकासुन्दरी -५,जुम्ला
…
१,
आमा धर्ती माता
ताते ताते गरेर
हुर्काउने महान दाता।
२,
हुनुछ सर्तमा सत्य
इमानदार बनेर सधैँ
बनाउनु कर्तव्य फत्य।
✍️दुर्गा आचार्य
मोरङ
…
१,
साथीझैँ माया मानेर
लेख्न सिकाऊ मलाई
कापी कलम तानेर।
✍️सुनगाभा पोखरेल
कपिलवस्तु
…
१,
अपवादले मनमा अवसाद
व्यर्थै थपिन्छ कसरी
नभएको अनौठो विवाद।
२,
चुडिन्छ तन्किएपछि तार
सङ्घर्षरत जीवन जिउँछु
बाध्यताले मानिन हार ।
३,
अवसादले जीवन मरणासन्न
भोगाइको यातनाहरू सहेर
गन्तव्यका पथहरू लमतन्न ।
✍️दिल ठकुरी
टिस्टाभेल्ली दार्जिलिङ
…
१,
बिहान रवि हाँसेको
चरी चिरबिर गर्दै
धर्तीमा खुसीले नाचेको।
२,
देख्दै मन झुम्यो
रविको किरणले जब
धर्तीलाई हेर चुम्यो।
३,
छरेर धर्तीमा ज्योति
शीतका थोपा पातमा
देखिन्छन् जस्तै मोती ।
✍️रुना कर्माचार्य दाहाल
चितवन
…
१,
नेपालको भूमिमा बसेर
विदेशी नागरिक बोकी
मै हुँ भनेर ।
२,
जोगाउनु छ देश
अरुको अधिकारबाट हेर
आफ्नो रितिरीवाज परिवेश।
✍️एवाइ प्रभात
खाल्सा छिन्ताङ सहिदभुमि धनकुटा
…
१,
हल्लाकै पछि लाग्ने ,
यथार्थको मतलब नगर्ने
अन्धाधुन्ध नै जाग्ने ।
२,
नभएपछि चाहना घरी
अनि आउछन् हजुर
नयाँ बहाना नानाथरी ।
३,
हुन्छ कहिले भोकप्यास,
विचार धेरै खेल्दा
हुन्छ फेरि सत्यनास ।
✍️दीपा समभाव
दुबेकोल खोटाङ
…
१,
भातभान्सा गर्दै पनि
लेख्न सकिन्छ झिल्का
नौंवटा शब्द गनी।
✍️पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
…
१,
राष्ट संस्कार कुल,
हाम्रा हुन जीवनदाता,
बिर्सेर नगरौं भुल।
२,
केवल बहाना जिउने
ईर्ष्या लोभ सुविधा,
खोज्दै विष पिउने।
३,
मानव खै किन?
दानव भएर निस्क्यो,
गिर्यो अति दिनैदिन।।
✍️मनोहरी पौडेल
गैडाकोट १
…
१,
छुरा चलाउने चलन
छ साथीभाइबिचमा पनि
सम्झँदा हृदयमा जलन ।
२,
बल्लबल्ल बस्छ खाटो
शितलता हुन्छ मनमा
देख्दै सक्दैनन् टाटो।
३,
अगाडिबाट कुरा देखाउँछ
झुक्याएर मौका परेपछि
पछाडिबाट छुरा टेकाउँछ ।
✍️घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
निलो आकाश हेरेर
नयन मोहित हुन्छन् ,
सन्तोषले शास फेरेर।
२,
प्रकृति ईश्वर हाम्रो
सन्तुलन कायम राख्दै ,
बनाऔॅं सदैव राम्रो।
✍️सुस्मिता अधिकारी
काठमाडौँ
…
१,
दुईजिब्रे बन्नु हुन्न
नेताको संज्ञा पाईन्छ
यस्ताले शिखर छुन्न ।
२,
सबैलाई लाग्छ पिर
पीडा दबाउने होइन
हिड्यौँ उचालेर शिर ।
✍️धनमाया चौधरी
कैलाली
…
१,
पहिरिएपछि कालो कोट
निष्पक्ष न्याय दिलाउन
तिमीले गर्नुपर्छ अठोट ।
२,
कस्तो जमाना आयो ?
चोरलाई चैँ चौतारो
साधुले दु:ख पायो ।
३,
मध्यम वर्ग रुँदा
वास्ता छैन शासकलाई
महङ्गीले आकाश छुँदा
✍️शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
छैन कसैले देखेको
मरेपछि कहाँ गइन्छ
हुन्छ भाग्यमा लेखेको ।
२,
मान्छे तुच्छ धूलो
सारा समयको दास
छैनन् कोही ठूलो ।
३,
उम्रेर माटोमै खिल्दछ
शरीर यो पञ्चतत्त्वको
आखिर माटोमै मिल्दछ ।
✍️वसन्त अनुभव
…
१,
नराम्रो नगरौँ जानेर
कसैलाई धेरै यहाँ
कमजोर पनि ठानेर।
✍️सानु जोशी
दार्चुला
::::::::जय झिल्का साहित्य ! ::::::::::