
साप्ताहिक झिल्का लेखन अभ्यासको ४१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
कर्म अन्तिम सत्य
निरन्तर गर नथाकी
तिम्रै पोल्टोमा फत्य ।
२,
चर्चामा बस चुलीको
इतिहासमा नसरापून् सन्तानले
भरोसा देऊ घरमुलीको ।
३,
लक्ष्मण बचाउने हनुमान्
रामायणमा प्रशिद्ध जसरी
बनोस् पदचाप महान् ।
- म्यामराज राई, भोजपुर
…
१,
युद्ध गर्ने रावण
लङ्का जलाउने हनुमान
छुल्याहा नारद ब्राह्मण ।
२,
उथलपुथल छ देशमा
रानो हराएको मौरी
नेताहरू जोगीको भेषमा ।
३,
मुसाले खायो धान
भ्रष्ट देखियो खुलस्त
खोज्छन् सबैले मान । - बेदु न्यौपाने
…
१,
देशको कानुन हराउँदा
नारी सुरक्षित छैनन्
नेताले भकारी भराउँदा।
२,
सभ्यताको ढिकुटी रित्तियो
कुसंस्कार शिरोपर गर्दा
आफैँमा कुविचार भित्रियो। - विकास क्षेत्री ‘अञ्जान’
कैजले, बिजनबारी, दार्जिलिङ
…
१,
काम गर्ने हनुमान्
पगरी गुथ्ने ढेडु
नेपाली राजनीति महान् !
२,
सिङ छैन जसको
चलेको छ उखान
तिखे नाम त्यसको !
३,
भ्रमको खेती किन ?
बसेका छौँ हामी
गन्दै तिम्रो दिन । - हरिबहादुर गिरी
…
१,
आफ्नो कर्ममा रमाउनु
दुनियाँ हिँड्छन् दशतिर
आफ्नै बाटो समाउनु ।
२,
किन गर्नु गाली ?
आफ्नो पारा हेर
त्यसै बज्छ ताली ?
३,
छामिसकेँ नाडी उसको
चैतमा सिरक ओढेर
भगाउने जाडो पुसको । - पुष्पा राई
बादेल, खोटाङ
…
१,
बेकार आशा फलको
कर्मबिनाको त यहाँ
अन्तिम आशा जलको ।
२,
मानिस जन्म पायौँ
नबिर्सिउँ अनेक जुनी
हामीले पक्कै धायौँ ।
३,
समस्याको चाहिने समाधान
हामीलाई चाहिने साथ
प्रभुको सदा वरदान । - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
…
१,
समस्या हुँदैमा नआत्तिनु
पुग्यो भन्दैमा फेरि
कहिल्यै पनि नपात्तिनु।
२,
देशमा किन कचिङ्गलो?
जुनै सरकार आओस्
जनताको भएन भलो।
३,
निभ्ने बेलाको बत्ती
झुलुक्क गर्दै निभेपछि
बल्ल भनिएला असत्ती। - अर्जुन प्रसाद चौलागाई
अमेरिका, बोस्टन
…
१,
पसिनाले सिॅंचेर बारी
पौरखमा रमाऔॅं सबै
निको हुन्छ बिमारी ।
२,
विदेशी कमाउन गए
देख्दैनन् हाम्रा युवा
उता देशविहीन भए ।
३,
देश बलियो हुन्छ
मिले पछि हामी
दुष्ट बसेर रुन्छ। - सुरेशकुमार पाण्डे
घोराही – १८, दाङ
…
१,
गरेर नित्य काम
देखाउँ विश्वमा हेर
प्यारो नेपालको नाम।
२,
हाँस्दैछ शत्रु जहाँ
बनाई अस्थिरता हाम्रो
फुटाल्दै हामी यहाँ।
३,
धैर्य राखेर हेर
न्याय समान हुन्छ
समय नफाल खेर। - कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
…
१,
चोखो माया लगाइन्छ
एक अर्काको दु:खसुखमा
साथ सहयोग जगाइन्छ।
२,
जागौँ सबै नेपाली
नदिउँ शत्रुलाई खेल्न
बन्नुपर्छ देशको माली।
३,
राखेर एउटै चाहना
अगाडि बढ्ने गर्नुपर्छ
छुटाउनु हुँदैन आफ्नोपना । - सतीश पण्डित
भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
सर्पले विष बोक्छ
जिस्काउने काम नगर
अति भएपछि टोक्छ ।
२,
गाह्रो छ जिउन
मन फाटेको छ
नसकिने भो सिउन !
३,
छैन घरमा मुली
चोरलाई गफिने चौतारो
साधुलाई अकारण सुली । - ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
इटहरी – १, सुनसरी
…
१,
साहित्यिक बगानमा उपविधा
उम्रियो प्रर्वतित झिल्का
शीत, उदक, बाछिटा । - फेसबुक कवि
…
१,
तिहारमा दिदीबहिनी दाजुभाइ
देउसी भट्याउॅंछन् आँगनीमा
अॅंधेरी रातमा हाइहाइ।
२,
भोक सहन्छु बरु
आफ्नैले खुट्टा तान्छन्
पीडा नदेऊ अरू ।
३,
धेरै अमिलो तामा
कहिलेकाहीँ तरकारी खानु
असर गर्छ आमा ! - चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
…
१,
भैल्यारुले भैलो गाए
यो तिहारको बेलामा
पैसा सेलरोटी पाए।
२,
भाइले टीका लगाए
बहिनीको अपार माया
भाइको कष्ट भगाए।
३,
बाँचुञ्जेल हुन्छ माया
कुरा प्राणी जगत्को
मरेपछि सड्ने काया। - नवराज भट्ट
कञ्चनपुर
…
१,
असल बाटो समाउनु
ठगी धन्दा त्यागेर
आफ्नो कर्ममा रमाउनु।
२,
घरमुलीलाई साथ दिनु
राम्रो व्यवहर देखाएर
पुर्खाबाट आशीर्वाद लिनु।
३,
समय नफाल खेर।
हल्ला मच्चाएर हिँड्दैमा
पाइॅंदैन न्याय हेर। - राज कुमार राजभण्डारी खोटाङे
मध्यपुर ठिमी -५, संगम कोलोनी राधे राधे भक्तपुर
…
१,
नेपालको राजनीति जात्रै
विकासको गतिविधि शून्य
जताततै भ्रष्टाचारी मात्रै ।
२,
चुनावमा भोट तान्ने
अचम्मको कला छ
जनतालाई ठग्न जान्ने।
३,
चेतनाको दीप बालौं
ढिलासुस्ती नगरी अब
खराब तत्वलाई फालौं। - भोज विवश मगर
गैंडाकोट -३ नवलपरासी पूर्व
…
१,
जिन्दगीको नबुझेर सार
बोल्दै मानिस अनेकन
बनेका सधैँभरिको भार । - आर्त अकुलीन
…
१,
शरद्को याम अँधेरो
घुम्न जाउँ कहाँ
बिताउँदै पानी पँधेरो ।
२,
दिन भयो चुहिने
फूलको मेला रमाइलो
डर भयो कुहिने ।
३,
प्रकृति भनेर भएन
तुफान उठेर समुद्रमा
झरी चाडबाडमा गएन । - मोती योन्जन सुब्बा
दार्जिलिङ।
…
१,
परिश्रमको खेती गर्नु।
पसिना चुहाउँदै माटोमा
फलले भण्डार भर्नु।
२,
सदैव सत्य बोलेर
हृदय सफा राख्नु
मनको कुरा खोलेर।
३,
असत्य कहिल्यै टिक्दैन
मनमा यो गुन्नुपर्छ
नबोल्नेको चामल बिक्दैन। - सरस्वती श्रेष्ठ
रुपन्देही बुटवल
…
१,
आकास छुन खोज्छौ
लक्ष्यहीन गन्तव्य लिएर
बगम्फुसे कुरा रोज्छौ ।
२,
आधारहीन सिद्धान्त चलाउँछौ
चम्चेहरू पैसामा पालेर
बिभ्रान्तीको मसाल जलाउँछौ।
३,
चोरबाटो छिरेर रमाउॅंछौ
क्षणिक भ्रममा डुबेर
पश्चात्तापमा आँसु खसाउॅंछौ। - दिल ठकुरी
दार्जिलिङ
…
१,
उल्टो बाटो रोज्छौ
जसले अन्याय गर्छ
उसैले न्याय खोज्छौ । - प्रेम थापा “मन”
बागलुङ
…
१,
बुझ जिन्दगीको सार
पसिना पोख्यौ भने
मिल्छ खुसी अपार l
२,
नबस अब रोएर
खुल्दैन भाग्यको ढोका
पुर्पुरो मात्रै छोएर l
३,
रमाउनु आफ्नै कर्ममा
समदर्शी भाव राख्नु
नपार्नु कसैलाई मर्ममा l - बाबुराम गौतम
गुल्मी
…
१,
हुँदिन टाढा कहिल्यै
बनौँ चखेवा चखेवी ,
गाढा माया जहिल्यै ।
२,
जीवन घामछायाँ हाम्रो
सल्लाह गरेर बढ्दा ,
हुन्छ घरबार राम्रो ।
३,
हुन्छ कहिलेकाहीँ भुल
सुधारेर बढौँ अघि ,
बन्छ जीवन फूल। - सीमा कार्की समर्पण
मेलचोक पर्सा
…
१,
जिन्दगी हो हारजित
सिकौं अब हामीले
लगाउन दु:खसॅंग मित ।
२,
उपहार कोशेली लिएर
आयो प्रदेशी हिजो
रातदिन आँसु पिएर ।
३,
सुख छ जिन्दगीमा
चाहेपछि यो मनले
छुटकारा पाइन्छ बन्धकीमा । - ईश्वर साउद (भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुुरपश्चिम अछाम
…
१,
तितो सत्य भनेर
झुठ बोल्ने जति
डुल्छन् राजा बनेर।
२,
ठुला-ठुला कुरा
जोत्दै हिँड्ने मान्छे
बुद्धि देख्छ अपुरा। - राजनारायण राई
राजदल बस्ती सोनादह
…
१,
विदेश जानेहरूले भन्छन्
रोजगारीको सुनिश्चितता नभएपछि
युवायुवतीहरू परदेशी बन्छन् ।
२,
देशमा बस्नलाई पनि
अलिकति वातावरण छैन
सरकार बुख्याचा बनी ।
३,
हुँदैन मनको रहर
चाडपर्वको बेला आएपछि
सुन्नुपर्छ दु:खद खबर । - पृथक प्रकृति
झापा
…
१,
तिहार पनि आयो
अभागी रहेछु म
निराशा मात्रै छायो ।
२,
कति सहनु चोट
भाग्य नै होला
लाग्छ मलाई खोट।
३,
पीडाले मन भारी
कसैको पनि नहोस्
यस्तो कर्म हारी। - सानु जोशी
सुदुर पश्चिम दार्चुला
…
१,
नबस्नु भन्छन् भीरमा
खोलाको ताण्डव देखियो
सुरक्षित रहेन तीरमा ।
२,
युद्धले हुनेछ विनाश
ध्वस्त भइसके संरचना
फिँजाएर दुष्टले पाश । - कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
…
१,
रमाइलो देशमा गरेको
जनता उतार्न सडकमा
घाम पानि परेको ।
२,
धन्यवाद दिनु सरकारलाई
आत्म समर्पण दिलाउन
तिरस्कार गर्छ भ्रष्टाचारलाई।
३,
निसन्देह प्रभाव जमाई
पीडितको हिसाब दिलाऊ
सहकारी ठग समाई । - विवश पारदर्शी
झापा
…
१,
रमझम आयो तिहारको
बलिराजाको हुकुम अन्सार
खुसी लिएर वारपारको !
२,
शरद्को घाम घमाइलो
दसैँपछिको यो महोत्सव
तिहार हुन्छ रमाइलो !
३,
खेलेर देउसी, भैलो
औँसीको रातलाई पार
लगाऔॅं पुगेर घरदैलो ! - अच्युत घिमिरे
सर्पाङ, भुटान
…
१,
ढकमक्क बारीमा फूल
फूल्यो मेरो भाइ
दुःखी चेलिलाई नभुल | - सरिता सेढाई
धादिङ
…
१,
सहकारी सहकार्य खोइ ?
बिच सडक ढाकेर
सधैं बस्नु रोइ? - राजकुमार कार्की
…
१,
आयो घरघरमा उमङ्ग
सारा जगत् रमायो
झिलिमिली बत्तीले दङ्ग। - सुनगाभा पोखरेल
कपिलवस्तु – १, बैरिया
…
१,
लेख्नु हो जीवन
अन्त जाँदैन कहीँ
लाग्छ यसैमा मन ।
२,
न घर थर
थाहा छैन मलाई
आफ्नै लाग्दैन भर ।
३,
के हुनु तयार
ती परदेशी दाजुलाई
के हो तिहार ? - मधुसूदन पराजुली
काभ्रे
…
१,
उथलपुथल भयो खेलमा
डुबाएर काल मेरो
मायालु पर्यो भेलमा ।
२,
फेसबुकमा गाएर जुहारी
मै बेइमानी हुनाले
भेटिएन असल बुहारी ।
३,
तार्के तुर्के पुछ्दै
खानलाई नै होला
फोहरमा सातु मुछ्दै । - रामप्रसाद पुरी
बादेल, खोटाङ
…
१,
गर्नैपर्छ हामीले अवलम्बन
चाडपर्वमा खुसी नेपाली
मान्नुपर्छ संस्कृतिमा आफ्नोपन ।
२,
भेटघाट जुराउने पर्व
भड्किलो नहोस् हजुर
यसैमा मान्नुपर्छ गर्व।
३,
रमाऔॅं संस्कार बचाएर
प्रतिस्पर्धा नगरौँ कोहीसँग
हुँदैन आफैलाई फसाएर। - घनश्याम पन्त
हरिवन सर्लाही
…
१,
धर्म संस्कारमा रमाऊ
अर्काको लहैलहैमा नलाग
आफ्नो संस्कृति बचाऊ ।
२,
चाडपर्वमा रमाइलो हुन्छ
आफन्तसँग भेटघाटको माध्यम
खानपिनले मन छुन्छ । - भगवती दवाडी
झापा
…
१,
तिहारले सङ्घार छोयो
घर जान नपाएका
परदेशीको मन रोयो।
२,
सयपत्री, मखमली फुल्यो,
तिहारको आगमनले गर्दा
सनातनीले पीर भुल्यो।
३,
महान् पर्वहरूको अवसरमा
फर्कन चाहन्छन् परदेशी
आफ्नै गाउँ घरमा। - अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ, भारत
…
१,
देश कङ्गाल बनाएछ
भ्रष्ट नेता कर्मचारीले
दुख लाग्छ सताएछ।
२,
पिउने पानी किन्नुपर्छ
नाम जलधारको धनी
सही क्रान्ति चिन्नुपर्छ।
३,
जनता भेडा भयो
भोट रक्सीमा साटेर
विचारा ! बुद्धि गयो। - एवाइ प्रभात
खाल्सा छिन्ताङ सहिदभूमि धनकुटा
…
१,
अनौठो परम्परा बसाले
नयाँले पनि चिच्याई
आफ्नो स्वाभिमान खसाले।
२,
सोचको विकास गरेनन्
लुट्न मात्र आएका ,
जनमा आश भरेनन् ।
३,
जनताले बुझेनन् किन ?
अझै स्वागत भ्रष्टको ,
स्वार्थमा भए लिन। - सुस्मिता अधिकारी
काठमाडौँ
…
१,
कुरा गर्छन् कर्मको
याद गर्दैनन् कदापि
भाषा अनि धर्मको ।
२,
समाज भाँडिएको देखिॅदैछ
कसैलाई मतलब छैन
गणतन्त्र असफल लेखिॅदैछ ।
३,
नेताहरूको पेट भरियो
हेर खानसम्म खाएछन्
आजै शोक गरियो । - राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
…
१,
सम्बन्ध जोड्छन् हेर
सानो सानो निउँमा
छोड्छन् एक फेर । - अम्बिका अधिकारी
झापा बिर्तामोड
…
१,
परिश्रमको मिठो फल
बहुमूल्य समय नफाल
गरे राम्रो मलजल । - बिबा तामाङ
लाटपञ्चर सिटोङ खरसाङ
…
१,
नखेद्नु मुसो धेरै
बन्ला ऊ भोलि
झम्टिने ठुलो शेरै।
२,
उधारो प्रेमको पासो
नबुनौं ज्यादा लामो
दुनियाँमा नफिजाऊ हाँसो । - हरिगोपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा १४
…
१,
हिमाल पहाड तराई
यकढिका भइ जुटौं
काही नबनौं पराई ।
२,
स्वर्ग जस्तो नेपाल
सबै मिले सकिन्छ
बनाउन अब विशाल ।
३,
हिमाली पानी पिएर
मिहेनत गरै सबैले
एकजुट होऔॅं मिलेर । - भूपेन्द्र के.सी.
…
१,
नरम, लचिलो व्यवहार
मनभित्रको चोखो माया
सजाउँला सुन्दर संसार ।
२,
पुर्खाहरूका संस्कार पछ्याउँदै
जन्मदेखि मृत्युपर्यन्त सङ्घर्षरत
रुढीवादी कुरीतीहरू लत्याउँदै ।
३,
अवश्यमेव पुग्नेछौ लक्षमा
एकत्रित भएर लागिरहनु
सत्यता न्यायको पक्षमा । - गुणनिधि घिमिरे
अमेरिका
…
१,
सेवा नै दान
पाप कर्म नगरे
धर्मलाई सधैँ मान ।
२,
अध्यात्मले पाइन्छ ज्ञान
दिन्छ सत् प्रेमले
प्रतिष्ठा उच्च सम्मान ।
३,
पापमा पुण्य पाइँदैन
कल्याण गर्नु सबैको
सेवामा गाली खाइॅंदैन। - कृष्ण बजगाई
भक्तपुर
…
१,
सधैँभरि हुँदैन दुख
धैर्य गर्दै जानुपर्छ
झुलुक्क झुल्किन्छ सुख । - उर्मिला के.सी.
धनकुटा
…
१,
खुसी लिएर आयो
नेपाली घर आँगनमा
तिहारको रौनक छायो।
२,
खाली हुदाँ निधार
मुटु दुख्छ परदेशीको
बर्सेनि आउँदा तिहार। - अनिता भण्डारी
ताप्लेजुङ
…
१,
राम्रो सोची सोची,
आफू जलेर दियो,
बालेको प्रगति रोजी ।
२,
जलेको जज्यै भइयो,
जिन्दगी बिताउनु रहेछ,
अब कोमामा गइयो।
३,
बाँच्नै धिक्कार लाग्ने,
समय भोगेको पाएँ,
कति घमण्ड जाग्ने। - मनोहरी पौडेल
गैडाकोट १
…
१,
जीवनानुसार मैले चाहेको
यो मन बेकार
मायाले मृत्यु दिएको ।
२,
भेदभाव अब भनिॅंदैन
नगर्नु बेकार कुरा
जातपात विषय हैन । - भोलामान बर्देवा(वैरागी माईलो)
धरान – ८, सुनसरी
…
१,
जित हुन्छ सत्यमा
क्षणिक दु:ख होला
न्यायको सूत्र फत्यमा ।
२,
मनुष्यले गर्नुपर्छ कर्म
फलको आस नराखी
श्रीकृष्णले बताएको मर्म । - प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
…
१,
राजनीति जस्तो खेल
नेताले गर्छन् सधैं
सरकार भयो फेल ।
२,
तिहार नजिकिॅंदै गर्दा
देशमा आन्दोलन चर्कियो
सरकारले भ्रम छर्दा । - बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो)
कनकाई -४, झापा
…
१,
बरु कुरा गर अन्तको
आँसु झर्छन् मेरा
नगर कुरा आफन्तको
२,
केहि गर्न सक्दिन
भन्छौ किन त्यस्तो
अल्छी गर्छौ किन ?
३,
आँशु कहिल्यै झार्दिनॅं
परिवारलाई खुसी बनाउँछु
कति हिम्मत हार्दिनॅं । - खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
…
१,
यहाँ कर्मको फल
आफैं प्राप्त हुन्छ
चढाउन पर्दैन जल ।
२,
चर्चाको शिखरमा चढ्नु
सबैले चिन्ने गरेर
राम्ररी अघि बढ्नु ।
३,
रावणले सीता हरे
रामले हनुमान्को सहयोगमा
सीतालाई फिर्ता गरे । - ललिता गिरी
सिन्धुली
…
१,
मिलिजुली बसेको राम्रो
वर्ष दिनको पर्व
संस्कार संस्कृति हाम्रो ।
२,
कार्तिकमा पर्व लाग्दै
घरघर आँगन पुगिन्छ
भैलेनी दान माग्दै। - दुर्गा आचार्य
मोरङ
…
१,
स्थानीय पानी घट्ट
जाँतो छोड्नु होस् ,
मसिनो धुलो चट्ट ।
२,
आफ्नो देशमा रमाउनु
खाँडी मुलुक छोड्नु ,
सत्य बाटो समाउनु ।
३,
गदै नगर्नु गाली
अब सफल भएपछि,
सबैले बजाउछन् ताली । - श्रीकृष्ण धामी
बझाङ
…
१,
कागती अमिलो रस
म त हिँडे
तिमी हेरेर बस ।
२,
आफ्नै भनी धाएपछि
हुन्छ जित सम्बन्धको
चोखो माया लाएपछि । - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न.पा. ६ संखुवासभा
…
१,
साहित्य संस्कृति भाषामा
गरेर सेवा सबैले
विकृति हटाउने आशामा ।
२,
देश साझा सम्पत्ति
तेरो मेरो गरेमा
झेल्न गाह्रो विपत्ति ।
३,
मेरो होइन हाम्रो
उदार मनले सोचेमात्र
हुने गर्छ राम्रो । - जयनारायण नेपाल
इलाम, हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर
…
१,
आफ्नो कर्ममा रमाउनू
खुशी पाउन जीवनमा
निष्ठाको मार्ग समाउनू ।
२,
नहोला सबैको धन
सहयोग गर्न अप्ठ्यारोमा
फराकिलो पारौँ मन ।
३,
बारीमा सयपत्री ढकमक्क
बाकसमा आयो भाइ
दिदी परिन् पक्क ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
…
१,
बाढीले आयो सङ्कट
एकैपटक पसी खेलमा
बनायो धानबाली कङ्कट ।
२,
तिहार नजिकै आयो
दुःखद क्षण बिर्सेर
सर्वत्र खुशियाली छायो ।
३,
गरे दुरुपयोग सत्ताको
पालाको पैँचो असुल्दै
इज्जत फाले भत्ताको । - नन्दलाल आचार्य
सिद्धार्थटोल, गल्फडिया, उदयपुर (हाल- एनेलकुटी, सिरहा )
…
१,
पार्दै सपना साकार
अन्यौलमा थियो जीवन
दिँदै आए आकार ।
२,
कोही खास बन्छ
लाखौंको भिडमा पनि
उसको खोजी हुन्छ । - नन्दा धामी
नौगाड, दार्चुला
::::::::जय झिल्का साहित्य ! ::::::::