होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ मा विचरण गर्दाको अनुभूति

  • २४ आश्विन २०८१, बिहीबार १८:५९ मा प्रकाशित
  • पुस्तक परिचयात्मक समीक्षा :


    गोपाल अश्क, समीक्षक
    -होमप्रसाद नेउपाने, सर्जक

    वि. सं. २०१७ वैशाख २१ गते माता लक्ष्मी देवी नेउपाने र पिता श्रीप्रसाद नेउपानेको सुपुत्रका रूपमा लेखर्क, भोजपुरमा जन्मेर धरान उपमहानगरपालिका-११, सुनसरीमा स्थायी बसोबास गर्दै तर वर्तमानमा बुढानिलकण्ठ-१२, काठमाडौँमा बस्दै आउनुभएका होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ (२०८१) नामक लघुकथासङ्ग्रह प्रकाशनमा आएको छ। नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशित गरेको प्रस्तुत लघुकथासङ्ग्रहमा जम्मा २७ वटा लघुकथाहरू सङ्गृहीत रहेका छन् । लभग प्रत्येक लघुकथाले एउटा नयाँ विषयलाई चित्राङ्कित गरेको छ । भनाइको अर्थ के हो भने ‘नेउपाने’का लघुकथाहरूमा विषयको पुनरावृत्ति देखिँदैन । यस कथाकृतिमा रहेको पहिलो लघुकथा ‘भेट’ले देशमा व्याप्त रहेको दलगत विसङ्गतिलाई उजगर गरेको पाइन्छ । देशमा जे जति राजनीतिक दलहरू छन्, ती सबैले आ-आफ्नो दलको मात्र स्वार्थ सिद्धिमा लागेका हुन्छन् । जति राम्रो विकास योजना भए पनि, आफ्नो दलको स्वार्थ पूरा नहुने छाँट देखेमा त्यो योजना लागु गर्दैनन् । यही भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ । हाम्रा नेताहरूले हाम्रो देशलाई एउटा प्रयोगशाला बनाइदिएका छन् । देश बनाउने नाममा समय-समयमा भएको क्रान्ति र त्यस क्रान्तिका संवाहकहरूमा देखिएको विचलनलाई ‘प्रयोगशाला’ नामक लघुकथामा सजीव ढङ्गले चित्रण गरिएको छ ।

    प्रस्तुत लघुकथामा सङ्गृहीत रहेका अन्य लघुकथाहरू यथा ‘अदुभूत गोजी’, ‘चिठी’, ‘आक्रोश’, ‘मयल’, ‘बीउ’, ‘प्रेम’, ‘मलामी’, ‘विषादी’, ‘आभास’, ‘कोट‘, ‘मणि’, ‘निवृत्ति’, ‘प्रतिघात’, ‘रोजगारी’, ‘भैँसीको ढाड’, ‘स्वभाव’, ‘गुनासो’, ‘आँकलन’, ‘आलोक’, ‘जोखिम’, ‘अचानो’, ‘धनको सुगन्ध’, ‘गन्तव्य’, ‘हाँसो’ र ‘स्नेह’ले विभिन्न विषयवस्तुको प्रकटीकरण गरेका छन् । जहाँ ‘चिठी’ मा घर छाडेर गएकाहरूको आफ्नो गाउँ घर फर्किनका लागि मार्मिक सन्देश वर्णति रहेको छ भने ‘आक्रोश’मा इमान्दार व्यक्‍तिलाई उसको घर परिवार, श्रीमती, छोराछोरी सबैले गिज्याउने गरेको कटु यथार्थ वर्णित रहेको छ । त्यसैगरी जहाँ ‘प्रेम’ नामक लघुकथामा श्रीमान श्रीमतीबाहेक अरू कोही सच्चा साथी नहुने भाव चित्राङ्कित रहेको छ भने ‘मलामी’ नामक लघुकथाले देशमा न्याय मरिसकेको र त्यसको अन्तिम दाह संस्कार गर्न हिँडेको भन्ने भाव वर्णित रहेको पाइन्छ । वर्तमान समयमा देशको कुनै पनि अङ्ग विशुद्ध छैन, हरेक क्षेत्रमा विषादीको प्रयोग भएहरेको अवस्था छ । किसानले बढीभन्दा बढी उत्पादन गर्ने सोचमा विषादी खाद्यको प्रयोग गरिरहेको अवस्थाको चित्रण गर्दै यस्तै रहने हो भने एक दिन विषादी प्रयोग गर्ने किसान पनि आफ्नै विषादयुक्त खाद्यानको प्रयोगले मृत्युवरण गर्ने पुग्नेछ भन्ने भाव वर्णित रहेको छ ‘विषादी’ नामक लघुकथामा । ‘कोट’ शीर्षकको लघुकथामा एउटा बुबाले आफ्नो छोरालाई राम्रो शिक्षा दीक्षा दिननसकेको, चाहे अनुसारको जीवनशैली दिन नसकेको, राम्रो खुवाउन नसकेको, राम्रो लाउन दिन नसकेको भाव चित्राङ्कित रहेको छ । जागिरे मान्छेको जीवनमा ‘निवृत्ति’ भन्ने अध्याय आउँदो रहेछ र त्यो अध्यायले बाँकी रहेको जीवनलाई नराम्री प्रभावित गर्दो रहेछ भन्ने भाव ‘निवृत्ति’ नामक लघुकथामा वर्णित रहेको छ । यसरी के भन्न सकिन्छ भने यस लघुकथासङ्ग्रहका प्रत्येक लघुकथाहरूले कुनै न कुनै सामाजिक यथार्थलाई सजीव ढङ्गले चित्राङ्कित गरेको पाइन्छ । यस कथाकृतिको आवरण आकर्षक तथा मूल्य उचित रहेको छ ।

    2 thoughts on “होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ मा विचरण गर्दाको अनुभूति

    Leave a Reply