समर्पण रम्जान
रियाद साउदी अरब ! साउदी अरबका समाजसेवी तथा लालिगुराँस होटलका संचालक सफल ब्यबसायी यम तमुले बिरामी रामपाल सदाको लागि (११२४९ रियल) करिब ४ लाख नेपाली रुपैयाँ संकलन गर्नुभएको छ ।
नेपाल सप्तरी घर भई विगत केही वर्षदेखि साउदी अरबको रियादमा कार्यरत रामपाल सदा कुनै कारणवश कम्पनी छोडेर अन्त बाहिर काम गर्न पुगे। भागेर काम गर्ने क्रममा दुर्घटनामा परी एउटा खुट्टा भाँचिन पुग्यो। जसका फलस्वरूप शरीरको दायाँ भागमा गहिरो चोट लागेर रियादको किङ खालीद हस्पिटलमा भर्ना भएर उपचार गराउनपुगे। १५ दिनपछि १७ अगस्ट २०२४ का दिनमा हस्पिटल बाट डिस्चार्ज भएपछि काम गर्दै गरेको कम्पनीको रुममा गए तर भागेर काम गरेको कम्पनीले रुमभित्र छिर्न नदिएपछि रियादको रोडमा बिहान ९ बजेदेखि ८ बजे बेलुकी सम्म सुत्न बाध्य भए !
उक्त घटनाक्रमलाई थाहा पाएपछि समाजसेवी यम तमुले पीडित रामपाल सदालाई आफ्नै रूममा ल्याएर राख्नुभयो। त्यसपछि समाजसेवी तमुले पीडित सदालाई नेपाल पठाउनका लागि नेपाली राजदूतावास रियाद साउदी अरबमा समन्वय गरेर जानकारी गराउनुको साथै इक्जिट लगाउन सहयोगको लागि अनुरोध गर्नुभयो, फलस्वरूप अहिले करिब डेढ महिनाको अन्तरालमा उहाँको एक्जिट भिसा लागेको छ ।
सदाको पुरा उपचार नभएको र स्वास्थ स्थिति नाजुक रहेकोले उहाँलाई अझै उपचारको आवश्यकता परेको र आर्थिक अवस्था कमजोर भएकोले समाजसेवी तमुले उहाँको लागि आर्थिक सहयोग रकम संकलनका लागि एक अभियान नै चलाउनुभएको थियो।
सदाको सहयोगको लागि ५-१० रियल सहयोग गर्न आफ्नो लालिगुँरास होटलमा आएका ग्राहकहरु तथा सामाजिक सञ्जाल फेसबुकबाट पनि रामपालको सहयोगको लागि अनुरोध गरेका थिए! तमुको अनुरोधपछि उक्त रकम करिब ४ लाख नेपाली संकलन गर्नुभएको छ ।
सदाको एक्जिट लागिसकेको र अब केही दिनमा नेपाल पठाउने जानकारी पनि समाजसेवी यम तमुले दिनुभएको छ। साथै आजबाट उहाँको लागि सहयोग रकम पनि रोकिएको जानकारी गराउनुभएको छ।
यस अभियानमा जोडिएर जजसले आर्थिक तथा सामाजिक सहयोग गर्नुभयो उहाँहरूको लागि यम तहार्दिक धन्यवाद तथा आभार पनि व्यक्त गर्नुभएको छ।