‘लोपाञ्जन’को भावभूमि’

  • २५ आश्विन २०८१, शुक्रबार १५:०८ मा प्रकाशित
  • गोपाल अश्क, समीक्षक
    -श्रीकृष्ण पौडेल, सर्जक

    श्रीकृष्ण पौडेलद्वारा लिखित र नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनद्वारा २०८१ मा प्रकाशित, ५१ वटा लघुकथाहरूको सङ्ग्रहको नाउँ हो- ‘लोपाञ्जन’ । यस लघुकथासङ्ग्रहमा ‘देवदूत र म’, ‘दुखेको देश’, मूर्दाको बिहे, शहीद, सपना, लोपाञ्जन, आमा, ज्येष्ठ नागरिक, तमसुक, लङ्गडी, ह्विलचियर, आश्रम, हाम्रा बा, बुबा, लालपुर्जा, अंशबण्डा, कोरोनासुर, असारे पन्ध्र, लेखापरीक्षक, चोर, संविधान र कार्यान्वयन, व्रत, सुनकरे टपरी, मार्सीको भात, आक्रोश, दर खाने, चुङ्गी, दाइजो, तेलको गरियो, मेहन्दी, भुँडी, पेसा, बाको मुख हेर्ने दिन, भेडी गोठालेको बिहे, कुटिल सहयात्री, गुमानेको पाडो, गुन्द्रुक र बेथेको साग, भोकहड्ताल, पण्डितिनी बज्यै, एक घुट्को पानी, एमसीसी, तरबुजाको चिन्ता, मनोरोगी, राहत, नाटक, कुण्डली, फूल, बिरेको जन्मोत्सव, ज्योतिष बा, कराई र आशीर्वाद शीर्षकका लघुकथाहरू सङ्गृहीत रहेका छन् ।

    प्रस्तुत लघुकथासङ्ग्रहमा समाविष्ट रहेका लघुकथाहरूमा विषयगत विविधता रहेको पाइन्छ । कुनै लघुकथा (देवदूत र म) मा मानवले मानवको हत्या र प्रकृतिको विनाश गरिरहेको भाव वर्णित रहेको छ भने कुनै लघुकथा (दुखेको देश) मा देशमा व्याप्त रहेका विभिन्न विसङ्गतिबाट आहत आम नेपालीको मनोदशाको भाव वर्णित रहेको छ। कुनै लघुकथा (मूर्दाको बिहे) मा प्रेमलाई स्वीकार नगरी अर्कोसँग बिहे गर्दा प्रेमिका भागेकी र त्यसपछि गाउँको केटीलाई बिहे गरेको र त्यस्तो बिहेलाई मूर्दाको बिहे भन्ने भाव वर्णित रहेको छ भने कुनै लघुकथा(शहीद) मा देशको लागि लड्दालड्दै आफ्नो दाजु शहीद भएको तर शहीदहरूको सूचीमा उनको नाउँ नलेलिएकोले भाइको मनमा उत्पन्न भएको पीडाको भाव वर्णित रहेको छ । ‘लोपाञ्जन’ लघुकथाले सबैले देख्‍ने ‘लोकाञ्जन’ नै अत्याचार हो भन्ने भाव वर्णित गरेको छ भने ‘आमा’ शीर्षकको लघुकथाले पढेलेखेकी बुहारीले सासु सिकिस्त परेकी बेला हेरचाह नगरेको तर अशिक्षित छोरोले चाहिँ आफ्नी आमाको हेरचार गरेको भाव व्यक्त गर्दै बुहारीहरूले सासुको सेवा हेरचार नगर्ने गरेको भाव चित्राङ्कित गरेको छ।

    वर्तमान समयमा सामाजिक मूल्य मान्यतामा ह्रास आएको र छोराछोरीहरूले आफ्ना वृद्ध भइसकेका आमाबुबाको हेरचाह नगरेको यथार्थलाई ‘जेष्ठ नागरिक’ नामक लघुकथाले प्रकट गरेको छ। साँच्चि भन्ने हो भने आजभोलि जेष्ठ नागरिकको जीवन कहालिलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । छोराछोरी हुँदासमेत उनीहरूको जीवनयापन तथा औषधोपचार आदिको व्यवस्था उनीहरूको सन्तानबाट भइरहेको पाइँदैन। आजका जेष्ठ नागरिक कहीँ कुनै वृद्धाश्रममा आफ्नो जीवनको अन्तिम घडी बिताउन बाध्य भइसकेका छन् । यस्तै कारुणिक भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ। ‘तमसुक’ नामक लघुकथाले आज पनि गाउँघरमा धनिहरूले गरिबहरूलाई ऋण दिएर ब्याजको नाममा मनपरी लुट्ने गरेको भाव वर्णित रहेको छ । भर्खरै देशमा मिटरब्याजसम्बन्धी भएको जनआक्रोश र त्यसपछि सरकारले अख्तियार गरेको रवैयाले पनि यस ज्वलन्त मुद्दालाई सम्बोधन गरेको सन्दर्भमा प्रस्तुत लघुकथाको सार्थकता सिद्ध हुन जान्छ । यस प्रकार के भन्न सकिन्छ भने प्रस्तुत लघुकथासङ्ग्रका प्रत्येक लघुकथाले कुनै न कुनै सामाजिक, राजनीतिक, आर्थिक समस्यालाई विषयवस्तुको रूपमा चित्राङ्कित गरेर समाजलाई स्वस्थ र इमानदार बनाउने सन्देश दिएको छ । यस लघुकथासङ्ग्रहको आवरण र आन्तरिक सेटिङ आकर्षक छ र यसको मूल्य ठीक देखिन्छ। यो पुस्तकले आधुनि नेपाली लघुकथाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्नेछ भनी आशा लिन सकिन्छ ।

    2 thoughts on “‘लोपाञ्जन’को भावभूमि’

    1. Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply

    Leave a Reply