‘बगरको पलेँटी साहित्य’मा पलेँटी कस्दाको अनुभूति

  • २४ आश्विन २०८१, बिहीबार १०:५४ मा प्रकाशित
    • म्यामराज राई

    सन् २०२४ अक्टोबर ०६ तारिख आइतबार, कासाई रिन्काई पार्कमा ‘बगरमा पलेँटी साहित्य’ लेखिएको ब्यानर विश्व नेपाली साहित्य महासंघ(विमेसाम), जापान शाखाको फेसबुक भित्तोमा देखेँ । सम्भवत: कार्यक्रम हुनुभन्दा करिब दुई हप्ताअघिको बिहानीको समय थियो क्यारे त्यो । विनेसाम, जापान शाखाको आयोजनामा उसैको लोगो अङ्कित टिशर्ट सार्वजनिक गर्ने भन्ने पनि लेखिएको थियो । साहित्यिक कार्यक्रम भन्नेबित्तिकै हुरुक्कै हुने म, तुरुन्त मेरो व्यक्तिगत भित्ते पात्रोमा कम्पनीमा बिदा लिने भनेर चिनो लगाएँ । अरू बेलाको छुट्टिमा सूर्यनारायण पृथ्वी लोकमा झरेपछि मात्र ओछ्यान छोड्थेँ र नित्यकर्ममा लाग्थेँ । तर त्यो आइतबार भने पृथक कार्यक्रममा जाने ममा पलाएको उत्साहले होला, छिटै निन्द्रादेवी मेरो आँखाबाट भागिन् । नौ सय मिटरको दूरीमा उत्तरी दिशामा बग्ने मिसावा नदी र पाँच सय मिटरको दूरीमा दक्षिणी दिशामा बग्ने तामा नदी, यी दुवैले सुसेलेको शारदी हावा एकैचोटि मेरो कोठासम्म आइपुगेछ । ‘छिटो उठ् । मन परेको कार्यक्रममा जानुपर्छ । ढिलो गरिस् भने धेरै कुरा छुट्ला ।’ त्यो सुसेलीले यस्तै यस्तै मतिर फलाकेको भान भयो । हतार हतार नित्यकर्मतिर लागेँ । साहित्य लेखन र साहित्यिक जमघटमा सहभागी हुन हमेसा प्रेरित गरिरहने मेरी गृहलक्ष्मी खानाको बन्दोबस्तमा लागिन् । केही दिन पहिले नै विशेष दिनमा वाचन गर्ने भनेर एउटा कविता पक्कापक्की गरिसकेको थिएँ । साहित्यमा अक्षरको खेती गर्न औधी मनपर्छ । शब्दहरूसित लुकामारी गर्न उत्तिकै रहर लाग्छ । कर्मथलो जापानमा हुने साहित्यिक कार्यक्रमहरू प्राय छुट्दैनन् । करिब डेढ घण्टा रेलयात्रामा तोकिएको कार्यक्रम स्थल पुगेँ । यो मानेमा पनि विशेष हुनेवाला थियो कि बगरमा पलेँटी कसेर गरिने कार्यक्रम थियो । हामी सामान्यत: साहित्यिक संस्थाले गर्ने कार्यक्रम भनेपछि एउटा ठुलो हल, हलभित्र एउटा मन्च, मन्चमा सोफा या कुर्सीहरू लहरै राखिएको हुन्छ । दर्शकका लागि क्रमबद्ध कुर्सी या डेक्सबेन्च अनि सिलिङ्मा पङ्खा, झिलिमिली बत्तीहरू आदि दिमागमा खेल्छन् । त्यस्तै, आसन ग्रहण, खादा, माला, भाषणबाजी आदि हुनैपर्‍यो । उक्त दिन उपर्युक्त शब्दहरूको कुनै बखतमा पनि उच्चारण गर्नु परेन । र, उच्चारण गर्नु नपरेको नै त्यो दिनको कार्यक्रमको सौन्दर्य थियो । कासाई रिन्काई पार्क टोक्यो खाडी(उपसागर)को उत्तरी तटीय क्षेत्रमा पर्छ । अर्थात् आराकावा नदी र क्युएदो नदीको सङ्गम स्थलमा पर्छ । उक्त खाडीमा सन् १९७६ मा मानव निर्मित टापुमा कार्यक्रम स्थल तोकिएको हो । कासाई रिन्काई पार्कभित्र दक्षिण दिशामा पूर्वी नागिसा र पश्चिमी नागिसा यी दुई ससाना टापुहरूलाई मिलाएर कासाई मरिन पार्क भनेर नाम दिइएको रहेछ, जुन ३६६.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शरद ऋतुको आगमनसॅंगै बसाइॅं सर्ने विभिन्न चराहरू यही टापु लगायत कासाई रिन्काई पार्कको मानव निर्मित जङ्गलमा आराम गर्ने गरेको भेटिन्छन् । लगभग १२६ प्रजातिका चराहरूको सङ्गम स्थलको रूपमा परिचित छ । त्यस्तै, समुद्री छाल र साना- ठुला माछाहरू खेलेको हेर्ने मान्छेको भीड दैनिक लाग्दछ । अॅं, म बगरमा पलेँटी साहित्यको कुरा गरिरहेको छु । ठ्याक्कै एक दशकको मेरो जापान बसाइको पहिलो पृथक कार्यक्रम हो यो । त्यही भएर पनि कार्यक्रममा सहभागी हुन लोभिइरहेको थिएँ । विनेसाम, जापान शाखाले एउटा नौलो अभ्यास गर्न खोजेको पाएँ । पलेँटी कसेर रचना वाचन गर्नुपर्ने त्यो पनि बगरमा । वाह ! क्या गजब हुनेभो । मेरो मुखबाट अचानक फुत्किएको वाक्य थियो, जतिखेर पहिलोचोटि ब्यानर सन्जालमा देखेँ । सुरु गर्ने भनेर तोकिएको समय दिउॅंसो एक बजे थियो । त्यहाँको नियमानुसार बेलुकी पाँच बजेसम्ममा त्यो टापु छोडिसक्नुपर्थ्यो । झण्डै चार घण्टा हामीसॅंग समय थियो । मासुमा हड्डी पर्नु भन्ने भनाइ जस्तै म चढेको रेलले मलाई थोरै ढिलो गरी पुरायो । मानौँ मेरो भागमा त्यो दिन सानो हड्डी परेछ । म पुग्दा साथीहरूले औपचारिक चिनापर्ची र हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको शुभकामना आदानप्रदान गर्ने क्रमसॅंगै आआफ्नो साहित्यिक कोशेली भकाभक फुकाउन लागेका थिए । म त्यही लहरमा मिसिएँ । कविता, गजल, गीत, मुक्तक आदि आराकावा र क्युएदो नदीलाई सुनाउन आतुर थियौँ । जापानको इतिहास बोक्ने ती नदीहरूलाई साक्षी राखेर कवितामार्फत मैले पारुहाङ सुम्निमाको कहानी सुनाउन पाउनु मेरो अहोभाग्य हो, लाग्यो । एकार्काको नजर देख्ने गरी गोलाकारमा पलेँटी कसेर बस्यौँ । जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने उखान जस्तै माइक उमेश तिमल्सिनाको हातमा पर्‍यो । उनैले आफ्नो कवितामार्फत साहित्यिक कोशेली फुकाउन श्रीगणेश गर्ने अवसर पाए । त्यसपछि भने पङ्क्तिबद्ध बसेका रविन्द्र दिखुक्पा, युको ओकामोतो, प्रमोद श्रेष्ठ, उमेश तिमल्सिना, अमरदेव बास्तोला, बिमन किराती, शिवराज राई, शारदा पाण्डे, विजय स्याङ्बो, सयपत्री थुलुङ, गंगा गगन, डेनी राई, राजन घले, रामचन्द्र न्यौपाने, राजन कुलुङ, सम्झना चाम्लिङ, विष्णु आङदेम्बे, प्रदिप शर्मा, सुगम राई, गृष्मा पौडेल र म लगायत दुई दर्जन बढीले पालैपालो साहित्य(गीत, गजल, कविता, मुक्तक)को रसास्वादन गर्‍यौँ । एकार्कामा गरायौँ । गोलाकारको केन्द्रबिन्दुमा साक्षीको रूपमा केवाफुङ्को गीत (गगन योक्पाङ्देन), गाउॅं फर्किरहेको परदेशी (सयपत्री थुलुङ्), जहाँ आमाहरू कहिल्यै निदाउॅंदैनन् (अनुवादक -चन्द्र गुरुङ्), सिनकानसेनको देशबाट (प्रविण लामा ‘अपरिचित’), मनको मन्दिर (केबी पारखी), अक्षरा -१ र २ (विनेसाम, जापान शाखा), मारुनी (राजन घले) र बुन्छत (म्यामराज राई) लगायत थिए । तिनीहरू हाम्रो लागि राम्रो कार्यक्रमको लवजमा मुसुमुसु मुस्कुराइरहेका थिए भने त्यसको साक्षीमा चाहिॅं हाम्रा नजरहरू काफी छन् । वाको विश्वविद्यालय, जापानका नृत्य प्रशिक्षक तथा नेपाली भाषा, साहित्य र संस्कृतिका अभियन्ता एवम् विनेसाम जापान शाखाका सल्लाहकार युको ओकामोतो कार्यक्रमको आकर्षणमा थिइन् । शान्त बसेकी टोक्यो उपसागरलाई नेपाली साहित्य दिल खोलेर सुनाउन जुट्यौँ । शरद् ऋतुका निम्तालु चराहरूलाई सुनायौँ । सधैँ उफ्रिरहने माछाहरू हाम्रो रचना वाचनसॅंगै नाचिरहे जस्तै देखिन्थे ।

    सबैले आफ्नो पालो सकाएपछि पहिलो चरण समाप्त भयो । दोस्रो चरणमा खाजा खाने योजना बन्यो । जतिखेर घडीको सुईले दिउॅंसोको तीन बज्ने तरखर गरिरहेको थियो । खाजा व्यवस्थापनमा सुगम राई, सयपत्री थुलुङ् र सम्झना चाम्लिङ थिए भने शारदा पाण्डे, रेचल गुरुङ्, शिवराज साम्पाङ् लगायत सहयोगीको रूपमा थिए । स्वदेशमा खाएको छरितो वनभोज(ड्राइ पिकनिक)को आभास भयो । पहिला माम त्यसपछि काम भनेझैँ पेट पूजा सकेपछि फोटो सेसन सुरु भयो । कोण, पृष्ठभूमि र उज्यालोपन मिलाउॅंदै खिच्यौँ । सामूहिक, युगल र एकल फोटो खिच्ने क्रम करिब एक घण्टा जति चल्यो ।

    अन्तिम तथा रचना वाचनको दोस्रो चरण अमरदेव बास्तोलाको गजलबाट सुरु भयो । माहोल निकै तातिएको थियो । त्यही बेला शारदा पाण्डेले प्रेमिल गजलमार्फत अझ उत्कर्षमा पुराइन् । कार्यक्रमको उत्तरार्द्धमा क्रमश: प्रमोद श्रेष्ठ र उमेश तिमल्सिनाले कविता तथा गृष्मा पौड्यालले गजल वाचन गरेका थिए । साहित्यिक कोशेलीहरू रहलपहल थिए, सजिलै अनुमान गर्न सकिन्थ्यो । यद्यपि, तोकिएको समयसॅंगै गगनको पश्चिमी दिशामा गोधूलि रङ बाक्लिॅंदै गएकोले मरिन पार्कलाई सबैले एकैचोटि बिदाइको हात हल्लाउन बाध्य भयौँ । कासाई रिन्काई पार्क रेल स्टेशनको आँगनमा पुन: एकछिन झुम्मियौँ । सामूहिक रूपमा साहित्यिक भेट चाँडै गर्ने वाचा गर्‍यौँ र आआफ्नो गन्तव्यतर्फ लाग्यौँ ।
    —++—
    -हतुवागढी -६, होम्ताङ्, भोजपुर

    2 thoughts on “‘बगरको पलेँटी साहित्य’मा पलेँटी कस्दाको अनुभूति

    Leave a Reply