
म्यामराज राईकाे लघुकथासङ्ग्रह ‘बुन्छत’ २०८१ साल वैशाखमा प्रकाशित कृति हाे । हतुवागढी- ६ हाेम्ताङ भाेजपुरमा जन्मिएका राई जाेगबहादुर र आशबुङका छाेरा हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राई पछिल्लो समय जापानमा बस्दै आएका छन् । साहित्यमा विशेष रूचि र लगाव भएका म्यामराज राई जापानमा बसेर पनि निरन्तर साहित्य साधनामा सम्लग्न छन् । नमस्ते आधुनिक लघुकथा मञ्चसँग प्रत्यक्ष रूपमा जाेडिएर काम गर्दै आएका राई समितिकाे सक्रिय सदस्य छन् । उनले लेखन तथा सम्पादन कार्य गरेकाे पाइन्छ । मूलतः कविता तथा लघुकथा सिर्जनामा सक्रिय राईका ‘हाम्रो बाटो'लघुकथासङ्ग्रह (२०७९),
‘बुन्छत’ लघुकथासङ्ग्रह (२०८१) का साथै ‘महक'टुक्का कवितासङ्ग्रह (२०८०) प्रकाशित छन् । यिनले
खिम्दुङ् काेसेली साहित्यिक द्वैमासिक हवाई पत्रिकाका साथै लघुकथाकाे सुगन्ध अङ्क ४ र ५ काे सम्पादक भई काम गरेको देखिन्छ ।
म्यामराज राईकाे पछिल्लो प्रकाशित कृति `बुन्छत´ लघुकथासङ्ग्रहमा ५४ वटा फघुकथाहरू समाविष्ट छन् । विविध समसामयिक विषयकाे प्रधानता रहेकाे यस सङ्ग्रहका कतिपय लघुकथाले अत्यन्त पृथक विषयलाई समेत प्रस्तुत गरेको देखिन्छ । यसको एउटा महत्त्वपूर्ण नमुना ४४ औं क्रममा रहेकाे ‘बुन्छत’ हाे । किराँत मिथकमा आधारित यस लघुकथाले किराँत जातिको बुन्छतप्रतिकाे आस्था विश्वासलाई प्रस्तुत गरेको छ । बुन्छतका तीन आकृतिमा ज्ञान, शक्ति र सुरक्षाको प्रतीक रहेको आस्थापूर्ण भाव लघुकथामा प्रस्तुत गरिएको छ ।
बुन्छत लघुकथासङ्ग्रहमा समाविष्ट रचनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका लघुकथाहरू समाविष्ट छन् । विषयगत विविधता रहेका यस सङ्ग्रहका लघुकथामा नैतिक अनैतिक सन्दर्भ, राजनीतिका सकारात्मक नकारात्मक क्रियाकलापहरू, मित्रताका सकारात्मक तथा नकारात्मक पक्षजस्ता विषयहरू समावेश गरेका छन् । अरूका देशको अनुशासित वातावरण देखेर प्रशंसा गर्ने तर आफूमा त्यसप्रकारकाे परिवर्तन नल्याउने नेपालीको प्रवृत्ति, जड्याहालाई स्वास्थ्य भन्दा नसाकाे माया हुने, आर्थिक अभावले दिने भय र पीडा, अरूलाई गुर्जाेकाे गफ लगाउने तर काेराेना लागेपछि हस्पिटल पुग्ने व्यापारी, डिग्री गरेर पनि शुद्ध नेपाली बाेल्न नसक्ने अवस्थाप्रतिकाे व्यङ्ग्य राईका लघुकथामा पाइन्छ । गीत सङ्गीतका क्षेत्रमा विवादित भए पनि नाफा हुने गरेको वास्तविकता, वनका पशु समस्या, नेपालीले प्रकृतिको दाेहन गर्ने गरेकाे यथार्थका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको पाइन्छ । टिकटकका कारण हुने गरेका दुर्घटना, नारीहरूकाे गहना कपडाको आशक्ति, नयाँ पुस्ताको शहर माेह, गाउँ फर्कनु पर्दा आत्महत्या गर्ने प्रवृत्तिजस्ता मार्मिक सन्दर्भलाई राईले आफ्ना लघुकथामा उठाएको पाइन्छ ।
सरल भाषाशैलीकाे प्रयोग गरि सहज र बाेधगम्य लघुकथा सिर्जना गर्ने राईले आफ्ना लघुकथाका माध्यमबाट कतै विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेको पाइन्छ भने कतै नैतिक उपदेश तथा सकारात्मक सन्देश सम्प्रेषण गरेकाे पाइन्छ । लघुकथा लेखनमा समर्पित भएर लागेका राईका लघुकथाहरू उत्तराेत्तर परिष्कृत हुँदै गएका छन् ।
समीक्षक : डा.शंकरप्रसाद गैरे
लेखक : म्यामराज राई
कृति : बुन्छत
विधा : लघुकथा
प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
प्रकाशन वर्ष : २०८१, वैशाख
मूल्य : ३३३/-