साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१]
लघुकथा: मर्निङ्ग वाक
✍️ रञ्जुश्री पराजुली
दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।
पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे ।
उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो ।
“यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।”
“यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।”
यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।
हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो ।
——————-<•>——————
२)
लघुकथा: गहना
✍️ खगेन्द्र बस्याल
-“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् ।
विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”
शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।”
विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”
शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?”
शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !”
विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”
शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”
तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही
——————-<•>—————–
३)
लघुकथा: उच्च सम्मान
✍️ ध्रुवराज थापा ‘पुरूष’
-“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?”
शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे ।
-“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।
उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।
बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’
भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ ।
मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो,
-“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !”
मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”
-“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?”
साथिले सोधे । मैले प्रतिउत्तर दिएँ,
-“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”
काभ्रे, पनौती, टौखाल
हाल: कपन,काठमाडौँ
——————-<•>——————-
I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.
I have been surfing online more than 3 hours today yet I never found any interesting article like yours It is pretty worth enough for me In my opinion if all web owners and bloggers made good content as you did the web will be much more useful than ever before
Pink Withney I do not even understand how I ended up here, but I assumed this publish used to be great