साताका तीन लघुकथा- ६३

  • २३ भाद्र २०८१, आईतवार १२:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुबाको मुख

    ✍️ धनसिंह विश्व
    बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।

    मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने,
    -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !”
    म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्-
    -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।”
    म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ,
    -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।

    नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !”
    दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो,
    -“उफ् ! बुबा, मुख गनाउँदैछ ।”
    छोरीले पनि नाक समाउँदै भनी,
    -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !”
    गेजिंग प० सिक्किम।
    ——————-<•>——————

    २)
    लघुकथा: आवरण

    ✍️ मोहन पोख्रेल
    जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।

    हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे ।
    अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे ।
    केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्‍यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन ।
    कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने,
    -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।”
    -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो,
    -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”

    सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो,
    -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्‍यो ।
    दिदीले कुरो बुझिन र जङ्गिइन्,
    -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?”
    तब बाले आँखा टिल्पिलाउँदै भने,
    -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !”
    ——————-<•>—————–


    ३)
    लघुकथाः अपुग महसुस

    ✍️ प्रार्थना खनाल जोशी
    आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।

    अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् ।
    -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?”
    कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए,
    -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।”
    सुकेधारा, काठमाडौँ
    ——————-<•>——————-

    Leave a Reply