रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

  • ६ आश्विन २०८१, आईतवार १२:३४ मा प्रकाशित
  • अन्जान गुभाजु। साउदी अरब

    नेपाली राजदूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेका छन्। नेपालमा २०७२ साल असोज ३ मा पारित र लागू गरिएको नेपालको संविधानको सम्मानमा यी समारोहहरू आयोजना गरिएका हुन्, जसमा साउदी अरबमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रह्यो। रियादमा आयोजित कार्यक्रम नेपाली राजदुतावासका प्रमुख कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको नेतृत्वमा सम्पन्न भयो। उनले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरू, लोकतान्त्रिक मूल्यहरू र नागरिक कर्तव्यबारे चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा २२५ भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो, जसमा पत्रकार, समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

    यसैगरी, जेद्दामा आयोजित मुख्य कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए। समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, र श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

    दुवै समारोहमा नेपालका संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरे। जेद्दामा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, समाजसेवीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश थिए। रियाद र जेद्दाका यी दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो। उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए।

    One thought on “रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

    Leave a Reply