पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

  • ५ आश्विन २०८१, शनिबार ०८:१६ मा प्रकाशित
  • कृतिकार: मुक्ति गौतम
    समीक्षक: डा. शंकरप्रसाद गैरे

    ‘चाक चारब्रा’ लघुकथासङ्ग्रहका लेखक मुक्ति गौतम भारतीय मुलका नेपाली हुन् । मणिपुरको कालापहाडमा जन्मिएका गौतमले माध्यमिक तहको अध्ययन गरेका छन् ।
    लामो समय शिक्षण सेवामा संलग्न रहेर सेवा निवृत्त भएका गौतमले निबन्ध विधामा कलम चलाएका छन् भने विभिन्न कृति तथा पत्रपत्रिकाको सम्पादन समेत गरेका छन् ।

    आधा दर्जनभन्दा बढी कृतिका लेखक गौतमले सन् १९८० को दशकमा गुवाहाटीबाट प्रकाशित हुने ‘हाम्रो ध्वनि’ पत्रिकामा एक मिनेटका कथा नामबाट प्रकाशित भएका छोटा कथाबाट प्रभावित भएर लघुकथा लेखनमा लागेको देखिन्छ ।

    विभिन्न पत्रपत्रिका र नमस्ते आधुनिक लघुकथा मञ्चको पेजमा आफ्ना लघुकथा प्रकाशित गर्दै आएका गौतमको ‘चाक चारब्रा’ पहिलो लघुकथासङ्ग्रह हो । सानासाना आकारका एकचालीसवटा लघुकथा समेटिएको यस सङ्ग्रहको नाम मणिपुरे भाषामा राखिएको छ । चाक चारब्राको अर्थ खाना खानुभो ? भन्ने लाग्छ । कृतिको अठ्ठाइसौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ ।

    सामाजिक यथार्थ र आदर्शलाई प्रस्तुत गरिएको यस कृतिमा समाविष्ट लघुकथाहरूले विषयगत विविधतालाई प्रस्तुत गरेको पाइन्छ । केही भारतीय परिवेश, केही नेपाली परिवेश र केही दुवै देशलाई मिल्ने परिवेशमा आधारित यिनका लघुकथामा समस्यालाई प्रस्तुत गर्दै तिनको समाधान खोज्ने कार्य गरेको पाइन्छ । शहर र गाउँका विशेषता र समस्या, मान्छेका मनोभावना, स्वार्थ, मानवेतर प्राणी, शरीरका अङ्गको मानवीकरण, गरिएका लघुकथाहरू सरल र सुन्दर छन् ।

    शीर्षक चयनलाई अभिधेय तुल्याइएकाले सरल बनेको देखिन्छ । युवा वर्गमा देखिएको विकृति, उद्दण्डपन, बृद्धप्रतिको अनुदारपना, गाउँको विशालता र शहरको साँघुरोपन, अमानवीय हत्याहिंसा, ठट्टामा हुने दुर्घटना, सासूससुराको सम्मान र सेवा गर्ने आदर्श बुहारी, स्वार्थी र झुटो बोल्ने नेताप्रतिको वितृष्णा, कोरोना कहर, दुर्घटना, पुत्र तथा सन्तानमोह र पत्नीको अपहेला, आदर्श छोरा, आदर्श छिमेकी, सङ्घर्ष र मानवता, बिग्रिएको नयाँ पुस्ता, अधिकारका नाममा विकृति, लोभ, अकर्मण्यता, घमण्ड, लगायतका विषयलाई विभिन्न विषयप्रसङ्गका माध्यमबाट प्रस्तुत गरिएको छ ।

    विषयमा वैविध्य प्रस्तुत गर्ने गौतमका लघुकथाहरू सरल र रैखिक ढाँचामा लेखिएका छन् । केही रचनामा व्यङ्ग्य चेतना देखिन्छ भने अत्यधिक रचनामा आदर्श चेतना देखिन्छ ।

    पछिल्लो समयको एकल परिवारको प्रभावले आमाबाबुलाई बिचल्लीमा पारेका मार्मिक सन्दर्भ प्रस्तुत गर्ने गौतमका लघुकथा समयको प्रतिध्वनिका रूपमा देखापरेको छ ।

    २०८१ वैशाखमा प्रकाशित लघुकथासङ्ग्रह `चाक चारब्रा´को प्रकाशन आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    One thought on “पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

    1. helloI really like your writing so a lot share we keep up a correspondence extra approximately your post on AOL I need an expert in this house to unravel my problem May be that is you Taking a look ahead to see you

    Leave a Reply