पहिलो नजरमा अवधेश सिंह र उनको ‘मरजाद’

  • १४ आश्विन २०८१, सोमबार २०:२५ मा प्रकाशित
  • सर्जक- अवधेश सिंह
    समीक्षक- लक्ष्मण अर्याल

    लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।

    ‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।

    ‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।

    ‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।

    अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।

    Leave a Reply