पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

  • २७ भाद्र २०८१, बिहीबार २०:५६ मा प्रकाशित
  • ✍️ लक्ष्मण अर्याल, समीक्षक
    कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा वि.सं. २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन् । पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अर्थात् उनी २ वटा सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन् । उनको खास पेशा शिक्षण हो । उनी आफूले अपनाएको पेशालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन् । यसैले उनमा पेशाप्रतिको इमान्दारिता पनि पर्याप्त छ । उनी श्री अमर कल्याण नमुना मा.वि.मा पढाउँछन् । यो विद्यालय इलामस्थित नयाँवजारमा अवस्थित छ । उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ ।

    कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ । उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन् । साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ । त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो । उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो । जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन् । उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ । २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन् । २०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन् । आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन् ।

    कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन् । हुनत उनका एकदुई कथा पनि पढेको छु मैले । कथालेखनमा पनि उनी माझिएका छन् । कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग ।

    कुमारका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले । यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिस गरेको छु ।” सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि ।

    ‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ । छोटा वाक्यहरूको प्रयोग गरिएका छन् । लघुकथाहरू रैखिक ढाँचाका नै छन् । आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा । सम्वादमा मनोहारिता छ । लघुकथाहरू व्यङ्ग्यात्मक छन् । सङ्ग्रहका केही लघुकथाहरूलाई छाड्ने हो भने लघुकथाकारले अन्त्यव्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ ।

    One thought on “पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

    1. Wonderful beat I wish to apprentice while you amend your web site how could i subscribe for a blog web site The account aided me a acceptable deal I had been a little bit acquainted of this your broadcast provided bright clear idea

    Leave a Reply