विद्यार्थी र शिक्षक (लघुकथा)

  • ८ भाद्र २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • ✍️तेजप्रसाद खनाल

    एक जना शिक्षकले लामो समयदेखि शिक्षण पेसा गर्दै आइरहेका थिए। उनको शिक्षण कला पनि सन्तोषजनक नै थियो। विद्यार्थीको मनोविज्ञान बुझ्ने प्रयास गर्दै शिक्षण गर्थे । कक्षाकार्य, गृहकार्य, परियोजनाकार्य,एकाइ परीक्षा, मासिक परीक्षा,त्रैमासिक परीक्षा जस्ता निरन्तर मूल्याङ्कनका साधनहरूद्वारा सकेसम्म विद्यार्थीको सिकाइ उपलब्धि विकास गराउने प्रयत्न पनि गर्थे। सिकाइ उपलब्धि पनि राम्रै थियो।यी कार्यहरू गर्ने हुँदा विद्यालय प्रशासनले पनि उनलाई एक असल शिक्षकको रुपमा लिने गर्थ्यो।

    एक दिनको कुरा हो,शिक्षक दैनिक जस्तै एउटा कक्षाकोठामा शिक्षणको लागि प्रवेश गरेका थिए।कक्षाकोठामा प्रवेश गरेपछि उनले विद्यार्थीलाई भने,” विद्यार्थी भाइबहिनीहरू कापी र कलम तयार पार।” शिक्षकले भनेअनुसार सबै विद्यार्थीले कापी कलम तयार पारे। शिक्षकले कक्षाकार्य दिए। कक्षाकार्य थियो। आमा शीर्षकमा निबन्ध लेखन। शिक्षकको निर्देशन अनुसार विद्यार्थीले दिइएको शीर्षकमा कक्षाकार्य गर्दै गए।

    कक्षाकोठामा भएका सबै विद्यार्थीले खुरूखुरू कक्षाकार्य गरे। शिक्षकलाई बुझाउन पनि थाले तर एकजना विद्यार्थीले भने कक्षाकार्य नगरेर झोक्रिएर बसिरह्यो। कक्षाकार्य गरेन। अब शिक्षकलाई रिस उठ्यो। उनले एक दुई थप्पड लगाए। विद्यार्थी रुन थाल्यो। ऊ भावविह्वल भएर रोइरह्यो। अझ रुन्छन् भनेर शिक्षकले फेरि एक थप्पड लगाएर सोधे,” किन कक्षाकार्य गरिनस्?।” विद्यार्थीले अझ रुँदै भन्यो,” मेरी आमा आजभन्दा चार वर्ष पहिला बित्नुभएको थियो। आज मलाई आमाको साहृै याद आयो। मुटु छियाछिया भयो अनि मैले कक्षाकार्य गर्न सकिन।” विद्यार्थीको कुरा सुनेर शिक्षकले पछुतो मान्दै उक्त विद्यार्थीसँग माफी मागे।

    Leave a Reply