
साताका उत्कृष्ट झिल्का कविताको २० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २० का लागि झिल्काकारत्रय कृष्णकुमार वैद्य, पुरुषोत्तम फुयाल र अनिता कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

साताका उत्कृष्ट झिल्काहरू
———<•>———
[१]
१.
गमलामा धान रोप्ने
नौटङ्की गर्न खप्पिस
जताततै मौका छोप्ने ।
२.
हेर्नु शासकको चाला
गमलामा रोपेर धान
गलामा लाउँछ माला ।
३.
पारिन्छ सपना साकार
ढुक्कसँग विश्वास गरौँ
हेरी गमलाको आकार ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२]
१.
स्वार्थले भरिएको संसारमा
असाध्यै सोझोपन हुनाले
भए एक्लै अन्धकारमा ।
२.
बेरोजगारको झोला बोकेर
परदेश हिँडेको थिएँ
आँखाको आँसु रोकेर ।
३.
बालापन फर्किँदैन रोएर
सम्झेर मात्र नहुने
आँसुले सिरानी धोएर ।
✍️
पुरुषोत्तम फुयाल
साकेला गाउँपालिका-२ रतन्छा खोटाङ
[३]
१.
भनेझैँ रोजगार नभएर
गाँउघर शुन्य सधैँ
युवाहरू परदेश गएर ।
२.
पानी ढिला आएर
बालीनाली सखाप सबै
खडेरीले प्रीति लाएर ।
३.
कटक्कै मन खायो
बिचरा किसानको हेर
आँखामा आँसु आयो ।
अनिता कार्की
पाँचथर~~~~