साताका तीन लघुकथा- ६०

  • २ असार २०८१, शनिबार १९:४२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६०औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘कालो हिरा’, लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘सम्प्रदाय’ र लघुकथाकार भूमिका गैरे, तिमिल्सिनाको लघुकथा ‘बाध्यता’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~
    ——————-<•>——————

    [१]
    लघुकथा: कालो हिरा

    ✍️ तुलसी पण्डित
    उनी रूपमा अति रूपवती थिइन् । बजार जाँदा उनको अचानक एक काली केटीसँग भेट भयो । उनले अट्टहास गर्दै भनिन्-
    “यस्तो कालो रूपलाई कसले मन पराउँछ र ? अब तेरो जिन्दगीभर विवाह नहुने भयो ?”
    “हेर ! आजभोलि कालाको दिन पनि आएको छ । मेरो अगाडि तिम्रो जिन्दगी फिका नै हो ।”

    “कसरी पत्याउँ यो कुरा ?”
    “उही तरकारी बेसिजनमा उत्पादन गरियो भने कति महङ्गो पर्न जान्छ । त्यसैले समय सबैको पक्षमा उर्लन्छ ।”

    “आफ्नो बखानले केही हुनेवाला छैन । ऊ त्यो आउँदै गरेको केटा एकदम धनाढ्य छ । उसले धेरै फिलिम निर्माण गरेको छ । हामी ऊसँग विवाहको प्रस्ताव राख्यौँ । अनि थाहा हुन्छ, कसलाई मानिसले मन पराउँछ ?”

    केटो त्यही आइपुग्यो । उनीहरूले केटातिर फर्कँदै भने-
    “हामी दुईजनामा तिमीले कसलाई मन पराउँछौ; उसैसँग विवाह गर । हाम्रो यो अमूल्य उपहार तिमीलाई ।”
    केटोले सोच्यो, गम्यो र मुस्कुराउँदै भन्यो-
    “यो कालो हिरा अमूल्य छ । म उनैसँग विवाह गर्छु ।”
    ——————-<•>——————
    [२]
    लघुकथा: सम्प्रदाय

    ✍️ धनसिंह विश्व
    “नानी, बाबु ! कस्का छोरा हौँ ? नाम के हो ?” दश/बाह्र वर्षका बालबालिका एक्लै मन्दिरमा पूजा गर्नआएको देखेर पुजारीले अचम्म मान्दै सोधे ।
    बालकले हाँस्दै भन्यो- “बाजे ! म मोमद फिरोजको छोरा हुँ । मोमद हरुन हो मेरो नाम ।”
    पुजारी अचम्म मान्दै फेरि भन्छन्- “अनि यहाँ ? कहाँ हिँडेको ? हातमा फूल, अछेता, धूप पनि बोकेका छौ त ?”

    “बाजे ! भोलिदेखि हाम्रो वार्षिक परिक्षा छ। त्यसैले पूजा गरौँ भनेर आएको । बरु भन्नुहोस् न ! सरस्वती माता कहाँ हुनुहुन्छ ?” हतोत्साहित हुँदै बालकले भन्यो।
    “अनि तिमी गलत ठाउँ आयौ नि त बाबु ! तिमी त मस्जिद जानुपर्थ्यो। अल्लाहलाई पूज्नु पर्नेथ्यो। बाटो बिर्सेउ कि ? कसो ?” पुजारीले ठट्टा मुद्रामा हाँस्दै भने ।

    “किन ? तपाईँको भगवान् हाम्रो भगवान् भन्दा सानो हो ? तपाईँको भगवान्ले मलाई परिक्षामा सफल बनाउँन सक्नुहुन्न र ?” बालकले जिज्ञासा राख्दै भन्यो।
    “त्यसो होइन ! तर तिमीहरू मुस्लिम हौँ। हामी हिन्दु । तिमीहरू मुस्लिमको लागि मस्जिद छ भने हाम्रो मन्दिर।” स्पष्टीकरण दिँदै भने।
    “भगवान् त सबैको एउटै होइन र ? त्यही भगवान्ले त हामी सबैलाई बनाएका हुन् नि ! भनेपछि अहिले मन्दिरमा के भगवान् छैनन् ?” फेरी प्रश्न गर्यो।
    पुजारी केही झर्को मानेझैँ गरी भने- “होइन ! तिम्रो र हाम्रो जात, धर्म, संस्कार, संस्कृति केही पनि मिल्दैन बाबु ! बरु तिमी मस्जिद नै जाऊ । त्यही ठिक छ तिमीलाई ।”
    बालकले भने- “होइन बाजे ! कसरी मिल्दैन र ? पोहोर गाड़ी दुर्घटनामा पर्दा मेरो अब्बुले दिएको रगत तपाईँसित मिल्यो त ! होइन ?”
    गेजिङ प० सिक्किम
    ——————-<•>——————
    [३]
    लघुकथा: बाध्यता

    ✍️ भूमिका गैरे, तिमिल्सिना
    “कति धौ भयो, यो नाति हुर्काउँदा ? बाबाआमा अस्ट्रेलिया छन् । उही गएर केही समय बसेर लिएर आइयो ? राम्ररी राति पनि सुतिनँ म । चार/पाँच चोटी राति उठेर बोतलबाट दुध ख्वाउँथे ? त्यो दुधे बालक ल्याएर अहिले यत्रो भयो ।” सम्झँदै बुढीले भनिन् ।
    “हो त नि ! यसका बाबाआमालाई एकछिन फुर्सद छैन । व्यस्त जीवन, पैसाको मोह भयो । परिस्थिति पनि त्यस्तै छ, के गर्ने ? यसको स्याहारसुसार कसले गर्ने ? त्यही भएर हामी नै हुर्काउँछौँ नाति भनि ल्याइयो । अहिले ठूलो भयो स्कुल खुरुखुरु जान्छ । बुझ्ने भइसक्यो । साउँभन्दा ब्याजको माया।” नातितिर हेर्दै पुलकित मुद्रामा बुढाले भने ।

    अरूबेला त ठिकै हो । बिरामी भयो भने मलाई त ! साह्रै डर लाग्छ, किन हो ? कतै केही भई हाल्ने पो हो कि भनेर सात्तै जान्छ जान नि ? आफ्ना छोराछोरी हुर्काउँदा खै यस्तो विधि थाहा पाइएन । बस्तुभाउ, मेलापात, दाउरा, घाँस गर्नुपर्थ्यो । दु: ख थियो । दुखैदु:खले हुर्किएका हुन् बरा ! छोराछोरी त ?” बुढीले थपिन् ।

    “अहिले त ध्यान नै यसैको मात्र छ । के खान्छ ? कस्तो लाउँछ ? कहाँ जाने भन्छ ? यसैको चाकडी गर्दागर्दै दिन बित्छ । पहिले र अहिलेका दिन यिनै हुन् क्यारे ! समयले कहाँबाट कहाँ ल्यायो, है बुढा ?

    मोबाइलमा घन्टी बज्यो । भिडियो कल गरे छोराबुहारीले । “
    “ल ! आऊ आऊ सुबोध नाति । हेर त ! तिम्रो बाबाआमाको फोन आयो । ल आऊ त बोल्न ।” ऊ आफ्नै पारामा खेलिरह्यो । कति गर्दा नि पिटिक्कै बोलेन ? वास्तै गरेन । सबैले अनेक प्रयत्न गरे तर सुबोधले ध्यानै दिएन ।

    बाआमाले हामीलाई कति माया गर्छन् ? एकछिन छोड्दैनन् । पुच्छर लाएर हैरान पार्छ । आफ्ना बाबाआमाले बिचरा ! कति गर्छन तर पनि बोल्नै खोज्दैन, किन हो ? कतै आमाबाबा र सन्तान बीचको दुरी बढ्ने त होइन ? वास्तै गर्दैन, मलाई त सम्झदा नि डर पो लाग्छ त ? मलिन् मुख मुन्द्रामा बुढीले भनिन् ।

    बुढाले घोरिँदै सोचेर भने- “आमाबुबाको माया, स्पर्श केही पाएको छैन ? अनि कसरी माया बसोस् त ? यो बाध्यात्मक परिस्थितिले निम्त्याएको दुरी पनि ठीक होइन ।”
    ——————-<•>——————-

    Leave a Reply