
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा सर्जक, २०८१’ एवम् ‘वर्ष पाठक, २०८१’ बाट लघुकथाकार सुरेशकुमार पाण्डेलाई र ‘वर्ष उत्कृष्ट लघुकथा वाचक, २०८१’ बाट सञ्चारकर्मी विवेक काफ्लेलाई सम्मान गरेको छ । आफ्नो छैटौँ वार्षिकोत्सव अवसर पारेर २०८१ असार ९ गते मञ्चले घोषणा गरेको हो । मञ्चले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, सम्मान एवम् प्रशंसा पत्र प्रदान गर्दै आइरहेको छ ।
वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथाकारहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको छ । यस वर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डे प्रथम हुन सफल हुनुभएकोले उहाँलाई नगद रु.७०००/- सहित ‘वर्ष लघुकथा सर्जक २०८१’ द्वारा सम्मान गरिएको हो ।

त्यस्तै मञ्चको भित्तोमा प्रेषित लघुकथाहरू पढेर सबैभन्दा धेरै प्रतिक्रिया दिनेहरू मध्ये पनि लघुकथाकार श्री सुरेशकुमार पाण्डे नै प्रथम हुनुभएको हुँदा उहाँलाई ‘वर्ष पाठक २०८१’ बाट पनि सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि ४०००/- रहेको छ ।

त्यस्तै मञ्चले वर्षभरि मञ्चका लघुकथाहरू वाचन गरेर लघुकथाको उन्नयन र प्रवर्द्धनमा सघाउने लघुकथा वाचकहरू मध्ये पनि वर्ष उत्कृष्ट वाचक छानेर हरेक वर्ष नगद पुरस्कार सहित सम्मान गर्दै आएको छ । यस वर्षको वर्ष उत्कृष्ट वाचकको रूपमा हरेक साता लघुकथाहरू वाचन गरी मञ्चको आधिकारिक फेसबुक पेज र रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जको रेडियो तरङ्गबाट प्रसारण गर्नुहुने सञ्चारकर्मी एवम् आधिकारिक लघुकथा वाचक श्री विवेक काफ्लेलाई नगद रु ५०००/- सहित ‘वर्ष उत्कृष्ट वाचक २०८१’ बाट सम्मान गरिएको थियोे ।
