
प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङले गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ मा अवस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, सिसहनिया देउखुरीमा यही जेठ १५ गते उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।
उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिने चिकित्सालयका सूचना अधिकारी बसन्त बहादुर के.सी.ले बताउनुभयो । शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण सेवाका साथै नि:शुल्क औषधी वितरण, भिडियो एक्सरे, प्रयोगशाला(सुगर जाँच) तथा परामर्श सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
शिविरमा नाक, कान र घाँटीको चेकजाँच, शल्यचिकित्सा( पाइल्स, फिसर, फिस्टुला लगायत गुदागत र अन्य रोगको चेकजाँच), वात तथा नशा रोग परिक्षण सेवा, बालरोग, छालारोग, काय चिकित्सा (जनरल आयुर्वेद) सेवा, स्त्री तथा प्रसूति रोग परिक्षण सेवा, लगायतका सेवाहरू उपलब्ध रहेको सूचना अधिकारी के.सी.ले बताउनुभयो ।
साथै सूचना अधिकारी के.सी.ले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्याको परिक्षण विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा गराई स्वास्थ्यलाभ लिनुहुन स्वास्थ्य समस्याबाट पीडित समस्त आमाबुबा, दाजुभाइ तथा दिदीहरूमा हार्दिक अपिल पनि गर्नुभयो ।

