साताका तीन लघुकथा- ५७

  • १३ जेष्ठ २०८१, आईतवार ०७:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५७औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘तब त बुद्ध’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘भागबन्डा’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘रहर’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १.
    लघुकथा: तब त बुद्ध

    ✍️ ललिता ‘दोषी’
    धनपति बर्बराउँदै आफ्नै सुरमा हिँडिरहेका थिए । बुद्ध भगवान्ले धनपतिलाई रोक्दै भन्नुभयो ।
    “कस्तो उल्झनमा छौ र भक्त ! मलाई पनि देखेनौ ?”
    धनपतिले आँखाभरि आँसु पार्दै बुद्धलाई ढोग्दै भने-
    “कृपया मलाई माफ गर्नुहोस् भगवान् ! मनमा औडाहा भएकाले हजुरप्रति मेरो ध्यान नै गएन । मूर्ख बालकहरूलाई कति भनिसकेँ, ‘गँगटोको बीभत्स हत्या नगर’ भनेर पटक्कै मानेनन् । पिटेको, गाली गरेको पनि हो; केही सीप नै लागेन भगवान् । सधैँ बाटोमा गँगटो मारेको देख्छु ।”

    बुद्ध भगवान्ले नम्र स्वरमा भन्नुभयो-
    “तिम्रो प्राणीप्रतिको प्रेम देखेर खुसी लाग्यो । ल हिँड भक्त, हामी त्यहाँ जाऊँ ।”
    धनपतिको मनमा आशाको किरण उदायो । दुवै त्यहाँ पुगे । दुईजना आठ/नौ वर्षका बालक गंँगटोलाई टुक्राटुक्रा पार्दै रमाइरहेका थिए । बुद्धलाई देखेर दुवैले नमस्कार गरे । बुद्धले आँखाभरि आँसु पार्दै भन्नुभयो-
    “प्रिय बालक ! मलाई तिमीहरूले गँगटो मार्न ल्याएको त्यही लट्ठीले पिट, म सहन्छु ।”
    बालकहरूले एकै स्वरमा भने- “हजुरलाई दुखिहाल्छ नि भगवान् !”
    बुद्धले दुवैको कपाल मुसार्दै भन्नुभयो-
    “जाबो पिट्दा त दुख्छ भन्ने थाहा रहेछ । यी गँगटोहरूको खुट्टाहरू जीउबाट नै अलग्याउँदा कति असह्य पीडा भयो होला भन्ने कुरा किन बुझेनौ बालक ?”

    एउटा बालकले आँखाभरि आँसु पार्दै भन्यो-
    “हामीलाई यसरी बुझाउने कोही नै भएन भगवान् ! हामीलाई माफ गर्नुहोस् । अब हामी कहिल्यै यस्ता पाप कर्म गर्दैनौँ ।”
    अर्को बालकले पनि आँसु पुछ्दै स्वीकृतिसूचक मुन्टो हल्लायो । धनपतिले बुद्धको चरणमा घोप्टिँदै भने-
    “हजुरको प्रशंसा गर्न योग्य शब्द मसँग छैन । तब त हजुर बुद्ध भगवान् हुनुभयो ।”
    बुद्धनगर काठमाडौँ
    ——————-<•>——————-

    २.
    लघुकथा: भागबन्डा

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’
    हिमानी धेरै दिनपछि माइत आएकी थिइन् । उनलाई ‘माइतीघर वरपर छरछिमेकमा के भइरहेको छ’ भन्ने बारेमा जान्ने इच्छा भयो । त्यसैले आफ्नी आमासँग सबैको बारेमा जिज्ञासा राख्दै भनिन्-
    “गोमा काकी र श्यामल काका, सन्चै त हुनुहुन्छ नि आमा ?”
    त्यति छोरीले के सोधेकी मात्र थिइन्; आमा चाहिँको आँखा सररर रसाए ।

    “आमा ! के भयो ? तपाईँको आँखामा आँसु ?”
    “कुरा गहिरो छ, छोरी !”
    “भनेपछि पो ! थाहा हुन्छ, आमा ! के हो ? भन्नू न !”
    “तिमीलाई थाहा छ नि छोरी ! ती जोडी समाजमा नमूनाका रूपमा थिए । सबैले भन्थे, ‘चखेवाचखेवीको जोडी’ ।”
    “हो आमा ! थाहा छ ।”

    “विवाह भएको पाँच/छ वर्षपछि पाएका उनीहरूका छोराहरू लाडप्यारमा हुर्किएका थिए । मलाई अझै पनि गोमाले भनेको कुरा सम्झना छ, छोरी ! ‘यी दुई छोरा हाम्रो मुटुको टुक्रा हुन् , राम र लक्ष्मण । दुवै खुब मिल्छन् । अब दुवै हुर्किसके, आफ्नो खुट्टामा उभिइहाले; यसो पढेलेखेका घरानाको छोरी तपाईँको नजरमा छैनन् दिदी ? एउटै लगनमा विवाह गराइदिन्छु’ ।”

    “कुरा निकै मार्मिक होला जस्तो छ । अनि के भयो आमा ?”

    “छोराहरूको विवाह धुमधामका साथ गरे । सब राम्रै थियो । ‘अब ढुक्कसँग हाम्रो जीवन बित्छ दिदी ! नातिनातिना पनि हुर्काइदिइहाल्यौँ ।’ भनेका थिए । ‘साउँको भन्दा व्याजको माया’ खुब सेवा गरेका थिए नातिनातिनाका दुवैले ।”
    “अनि ?”
    “अनि के हुनु नि ! परम्परादेखि चलिआएको रीति, छोराहरूले सम्पत्ति भाग लगाउनेक्रममा आमाबाबु नि भागबन्डा गरे ।”
    मितिः २०७५/०२/०६
    वीरगञ्ज, पर्सा
    ——————-<•>——————-

    ३.
    लघुकथा: रहर

    ✍️ सविता भट्टराई
    “बाबु ! मेरो औषधी सकिएको छ। भरे अफिसबाट आउँदा ल्याइदिनु है ।” औषधीको खाली खोल दिँदै बुवाले भन्नुभयो ।
    “ल ल हुन्छ बुवा ! भरे आउँदा ल्याइदिनेछु ।” भन्दै रमेश अफिसतिर लागे ।
    “बुढा ! हेर्नुस् त छोरालाई औषधी भनेको त अरू पनि केही कुरा ल्याइदिएजस्तो छ ।” आमाले बेलुका घर फर्केको छोराको हातमा भएको पोको देखेर भनिन्।
    “ओहो बुवा ! मैले त तपाईँको औषधी ल्याउन भुसुक्कै बिर्सेछु । भोलि त नबिर्सी ल्याइदिनेछु ल ! यो त शेरूको सामान सेम्पु, बिस्कुट, खानेकुरा हो ।” भन्दै रमेश कोठातिर लागे।

    केही दिनपछि आमाले छोरालाई भन्नुभयो- “बाबु ! बुवालाई डाक्टरकोमा लानुपर्छ कि क्या हो ? रातभरि निद्रामा के के भन्नुहुन्छ, म त कान पनि सुन्दिनँ के गर्नु ?”
    आमाको कुरा सुनेर रमेश राति बुवाको कोठाबाट आएको आवाज सुन्न बुवाको कोठातिर लागे। “प्रभु ! मलाई अर्को जन्ममा शेरू बनाइदेऊ ! पशु भए पनि मलाई शेरूको जस्तै जीवन चाहियो । छोराको माया पाउन मन छ । लुटुपुटु गर्न मन छ ।” बुवाले निद्रामा भनेको शब्दले रमेश नि:शब्द भए । ‘मैले शेरूलाई बढी माया गर्दा बुवाको माया ओझेलमा परेछ ।’ भन्दै पश्चातापको आँसु खसालिरहे ।
    जनकपुरधाम
    ——————-<•>——————-

    Leave a Reply