साताका तीन लघुकथा- ५६

  • २२ बैशाख २०८१, शनिबार २१:४० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५६औँ) शृङ्खलाका लागि लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘भातृत्व प्रेम’, लघुकथाकार लक्ष्मी रिजालको लघुकथा ‘फल’ र लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘सुझाव’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~


    १.
    लघुकथा: भातृत्व प्रेम

    ✍️श्रीकृष्ण पौडेल
    मोबाइलमा घण्टी बज्दासाथ उठाउँदै “हेलो दाइ, नमस्कार ! आराम हुनुहुन्छ ? म भाइ नारन ।”
    “ठीकै छु कान्छा ! यता सुन न, अमेरिकन नागरिकहरूले विभिन्न माध्यमबाट अमेरिका प्रवेश गरी पिआर पाएका/ नपाएका सम्पूर्ण विदेशी नागरिकहरूलाई आफ्नै देशमा फिर्ता पठाउन दबाबस्वरूप आन्दोलन चलाइरहेका छन् । यहाँ कतिबेला के हुने हो थाह छैन । यहाँ त बस्न पनि गाह्रो होला जस्तो पो छ त !”
    भावुक हुँदै अवधेशले गरेको लामो गथासोले नारन पनि भावुक भयो र केही क्षणको मौनतापछि लुकेर आँसु पुछ्दै बोल्यो- “दाइ, कत्ति पीर नगर्नुहोस् है ! हाम्रो पैतृक सम्पत्ति छैन र ? यही आउनुहोस् न ! आफ्नै जन्मभूमिमा, दाजुभाइ मिलेर बसौँला, हुँदैन ?”

    एक हप्ताभित्रै अवधेशको परिवार घर आइपुग्यो । भोलिपल्ट बिहानै नारन सहर हुँइकियो । एउटा बोझिलो सुटकेस बोकेर घर आयो अनि सुटकेस खोलेर “यो दाइ, भाउजुले अमेरिकाबाट ल्याएको मिठाई भन्दै घरमा आएका सबैलाई बाँड्यो ।

    “अवधेश ! अब कहाँ बस्छस् त ? घरबारी, जग्गाजमिन त सबै बेचेर अमेरिकै लगिस् रे भन्ने सुन्थेँ ।” बोल्न पाएपछि कोखैमा मुख फाटेका माईला बाले प्याच्च बोले ।

    “आधा पो बेचेको हो त माइला बा ! आधा त छँदै छ नि । त्यसमा पनि हामी दाजुभाइ कहिले छुट्टिएका थियौँ र ? हामी आठ जनाको एउटै परिवार हो । एउटै घरमा बस्छौँ, कसो ठाइला बा ?” नारनले माइला बाको कुरामा असहमती जनाउँदै बोल्यो ।

    आफूले अमेरिकाको ग्रिनकार्ड पाएपछि आफ्नो अंशमा परेको सबै अचल सम्पत्ति आफ्नै भाइलाई नदिएर महङ्गो थैलीको निहुँमा अर्कैलाई बेचेर गरेको अन्याय र अहिलेको सङ्कटपूर्ण अवस्थामा पाएको भातृत्व सागरामृत बिचको अन्तरले अवधेशले आफैँलाई धिकाऱ्यो र भाइलाई गम्लङ्ग अँगालो मार्दै क्वाँ क्वाँ रुन थाल्यो । आरीसा र उजेलीले ट्वाल्ल परेर अवधेश र नारनलाई हेरिरहे ।
    पोखरा

    २.
    लघुकथा: फल

    ✍️लक्ष्मी रिजाल
    “मनुष्य ! तेरो मनमा भएको कुरो सफल हुने वरदान दिन्छु ।” उसले टाउको उठाउँदा देवी मुस्कुराउँदै थिइन् । चार वर्षसम्म सूर्योदय पूर्व आएर उठबस गरेको फल ठान्यो उसले ।

    यद्यपि उसको मनले विगतका कर्तुत उल्टाउँदै थियोे-

    • लेनदेन नमिलेर आधा दर्जनको ज्यान लिएको घटना ।
    • पाँच वटी सुकुमारीको कुमारीत्व नष्ट गरेर घाँटी छिनालेको कुरो ।
    • बाबुले अङ्कुश लगाउँदा ज्यान लिएर आत्महत्यामा बदलेको अवस्था ।

    साराको आँखामा ऊ पानीमाथिको ओभानो थियोे । कानुनको नजरमा न्यायको सम्राट थियोे । यद्यपि आफ्नै मनले नै उसलाई नरकमा जाकिदिएको थियोे । उसको आँखामा जमेको पश्चतापको आँसु देवी स्वयम्ले पुछिदिँदै थिइन् । देवीकै बलले मनको कालो धब्बालाई सेतो पोतो लगाउने दाउमा थियोे ।

    तत्क्षण इन्स्पेक्टरले कान बटारेर उठाउँदा पो उसले आफूलाई मूर्तिसामु चेतनावस्थामा पायो । नजिकै कुकुर रगत, मासुले मात्तिएका भेट्यो ।
    उसको हातमा हत्कडी परिसकेको थियोे । छुटाउन देवी आइनन् । बरु चिल्लो कुकुर अघि सरेर भन्दै थियोे- “कर्मको फल भोग्न जुनी फेर्नै पर्दैन । फल दिलाउन सबैले सबैतिरबाट सहयोग गर्छन् ।”
    रूपनगर, सप्तरी ।

    ३.
    लघुकथा: सुझाव

    बिष्णु उप्रेती
    “हेर्न कान्छी, यत्रो रमाइलो कार्यक्रम छ, हाम्राे घरमा । तँ जसरी भए पनि आइज् न है कान्छी । तँ आउँदा कति रमाइलो हुनेथियो । दिदीबहिनी घुमिघुमी नाँचिने थियाे। एक दिनलाई त हाे, जसरी भएपनि फुर्सद मिला न !”
    आमाकाे कुरा नसकिँदै छाेरी सुजाता आइपुगी र साेधी- “कस्को फाेन आमा ?”
    “हेर्न सुजु, तेरी सानीमा आजकाे कार्यक्रममा नआउने अरे । भ्याउँदिनँ दिदी ! नरिसाउनु है भन्दै छे ।”
    “आँ हाेस् आमा, त्यस्ता गरिब दुखी, झत्तेमत्ते नआएकै राम्राे । स्तर नमिल्नेले मनैमन डाहा, आरिसमात्रै गर्छन् । ‘अलि राम्रो चिज देखे माग्नु, असन्तोकी हुनु’ यी गरिबहरूकाे त स्वभावै हाे । तपाईँकी बैनीकाे एउटा गतिलाे साडी त छैन हाेला । अनि के आओस् !”

    छाेरीकाे कुरा सुनेर आमा छक्क पर्दै थिइन् । उनकाे माेबाइलमा फेरि फाेन आयाे । बहिनीकै फाेन थियाे। बहिनी भन्दै थिईन् ।

    “दिदी ! एउटा सुझाव दिँदैछु, अन्यथा नमान्नु हाेला है । जहिले पनि फाेन गरिसकेपछि फाेन स्वीच अफ गरेर मात्र अरूसङ्ग बाेल्नु हाेला है । अघि तपाईँले मसङ्ग कुरा गरेपछि फाेन बन्द गर्न नै बिर्सनु भएछ।”
    भक्तपुर राधेराधे।

    Leave a Reply