
चितवन,
प्रथम बालटुक्का कवितासङ्ग्रह ‘वर्ण टुक्कामाला’को शुक्रवार चितवनमा विमोचन भएको छ । टुक्काकार इन्दु श्रेष्ठद्वारा लिखित उक्त कृतिको अमर ज्योति इ.स्कुल, भरतपुर-६ अमरवस्तीको आयोजनामा विमोचन भएको हो ।
विद्यालय व्यवस्थापक कृष्ण बहादुर भण्डारीकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा विशिष्ट अथिति साहित्यकार यमनाथ शर्मा, अतिथिहरू प्राचार्य चिरञ्जीवी पौडेल तथा साहित्यकार मीरा तिमिल्सिना, शिक्षक, विद्यार्थी तथा साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै विशिष्ट अतिथि यमनाथ शर्माले वर्ण टुक्कामाला दुई हरफका बाल कविताहरूकाे माध्यमबाट अक्षर चिन्न शुरु गर्ने सानाे कक्षाका विद्यार्थीहरूका लागि उपयाेगी पुस्तक भएकाे कारण देशभरीकाे विद्यालयहरूमा पुर्याउन र पाठ्यपुस्तककाे रुपमा समावेश गर्न उपयुक्त भएकाे कुरा व्यक्त गर्नु भयाे । प्राचार्य चिरञ्जीवी पौडेलले वर्ण टुक्कामाला भित्र रहेका टुक्का कविता र चित्रकाे माध्यमबाट अक्षर बुझाउन र बुझ्न सहज हुने कुरा व्यक्त गर्नु भएकाे थियाे । साहित्यकार मिरा तिमिल्सिनाले दुई हरफमा लेखिने टुक्का कविताकाे माध्यमबाट वर्ण चिनाउन सकिने उत्कृष्ट पुस्तक तयार भएकाेमा खुसी व्यक्त गर्दै विद्यालयहरूले यसलाई पाठ्यपुस्तकका रुपमा समावेश गर्नु उचित हुन कुरामा जाेड दिनु भयाे ।
कार्यक्रमकाे समापन गर्दै सभाध्यक्ष कृष्ण बहादुर भण्डारीले वर्ण टुक्कामाला दुई लाइनका कविता र चित्रकाे माध्यमले अक्षर चिनाउन अति उपयाेगी भएकाे हुँदा नर्सरी कक्षामा अक्षर चिनाउनकाे लागि समावेश गर्न उचित देखिएकाे भन्दै सर्जक शिक्षक इन्दु श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्नु भएकाे थियाे ।
बिहान ११:३० बजेबाट शुरु भएर करिब १ घण्टा सञ्चालन भएकाे उक्त कार्यक्रम इ सि ए शिक्षक कृष्ण ढकालले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा वर्ण टुक्कामाला लिन चाहनु हुने व्यक्ति तथा संस्थाहरूले भुँडीपुराण प्रकाशन बागबजार, काठमाडाैँ, फाेन नं.: ९८५१०८५८६६, न्यु रचना पुस्तक पसल भरतपुर ६, चितवन फाेन नं.: ९८४५११२४७७ तथा बाग्लुङ कालिका बुक्स एन्ड स्टेसनरी हल्लनचोक बाग्लुङ फाेन नं.: ९८५७६२४८७१ मा सम्पर्क गरेर प्राप्त गर्न सकिने जानकारी दिइएको थियो ।