
जीवन सङ्घर्ष र सन्तुष्टिका कुरा (कविता)
सुख अनि सन्तुष्टिका
लागि घरि यता घरि उता
भौँतारिन्छ मान्छे..!
जीवनका उतार
चढाबको रापले
शीतलता होइन
ताप सिर्जना गर्छ
मान्छे किन जन्मियो?
केका लागि जन्मियो?
ऊ आफैँलाई थाहा छैन
किनकि…..
नत ऊ
चाहेर जन्मियो
नत चाहेर मर्छ
सुख र सन्तुष्टिका लागि
भौँतारिन्छ मान्छे
तर…..!
सुख र सन्तुष्टि
सहजै प्राप्त हुदैन
यो धर्तीमा कसैलाई
कमजोर बनेर
बाँच्न रहर हुँदैन
तर पनि झिनो
आशामा भौतारिन्छ
मौँसम शीतल भएर
के गर्नु यहाँ…!
परिस्थिति त्यति
शीतल भइदिदैन
प्राय दु:खी छन्
प्राय समस्यामा छन् यहाँ…
तर के गर्नु
धर्ती नै दुखालय भए पछि
जाडो गर्मी
खडेरी शीतलता
यी सबै बाहाना
मात्र हुन् महोदय!
सहज परिस्थितिले
सबैलाई शीतलता
प्राप्त गर्छ
असहज परिस्थितिले
शिशिरमा पनि
मनको ताप सिर्जना गर्छ
बेचैँनी प्राप्त गराउँदछ
किसानले चैत
वैशाखको गर्मीमा
पसिना खलखली झार्दै….
खेतबारीमा काम
गरिरहेको हुन्छ
तर……
उसमा बेचैँनी हुँदैन
त्यसैले महोदय!
शीतलता र सन्तुष्टि
कुनै मौसम र ऋतुको
उपज नभई
परिस्थितिको उपज
बन्न पुग्छ
हुन त संसारमा प्राय:
मनुष्य दु:खी छन्
पृथ्वी आफैँमा
सङ्घर्षको पर्याय
अर्थात दुखालय हो
पृथ्वीकै उपज
हामी नाथे मानव
सुख र खुसी खोज्नु
दुखको अर्को
कारण हुन सक्छ
बाहिर सिरसिर
हावा चले पनि
मनको तापले
गर्मी गर्दछ
मनुष्य जीवनमा
एक पछि अर्को
समस्या आइरहँदा….
शीतल मौसम पनि
खडेरी बन्न पुग्छ
बस मनुष्य सामना
गर्दै जाने हो
सामना गर्दा गर्दै
एक दिन एकमुठी
स्वासले पनि
साथ छोड्छ
अनि मानव यसै
पृथ्वीमा बिलिन हुन्छ
जीवित रहँदा सम्म मनुष्यले…
सङ्घर्ष गरिरहन्छ
सम्झन लायक कार्य गरेमा
नयाँ पीढीले सम्झिरहन्छन्
बाँकी …..!
मिथ्या।
तेजप्रसाद खनाल, लमही, दाङ।