
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५४औँ) शृङ्खलालाई होली विशेष गराएका छौँ । जसमा लघुकथाकार अवधेश सिंहको लघुकथा ‘होलिका दहन’, लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा ‘होली’ र लघुकथाकार गंगा खड्काको लघुकथा ‘परिवर्तन’ उत्कृष्ट तीनभित्र परेका छन् ।
~<•>~
१. होलिका दहन

प्रा. अवधेश सिंह
हिजो, फागुन पूर्णिमाको रात । होलिका दहनका लागि गाउँको चोकमा दाउराको थुप्रो लगाइएको थियोे । एउटा विशेष काठमा होलिकाको आवाहन र प्राणप्रतीष्ठा गरेर त्यसलाई दाउराको थुप्रोमाथि उभ्याइको थियोे । डम्फु, ढोलक, झ्याली, मञ्जिराको तालमा मान्छेहरू होलीको गीतसँगै गाउँदै नाँच्दै भगवान् विष्णु र त्यस दाउराको थुप्रोको पूजा गर्दै थिए । प्रसाद लिएर आउनेहरूले त्यस दाउराको थुप्रोमाथि प्रसाद चढाउँदै थिए ।
पूजा सकियो । होलिका दहन गर्ने शुभ मुहूर्त आयो । दाउराको थुप्रोमा आगो सल्काउन थालियो । आगो सल्किएन । घ्यू हालेर आगो सल्काउने प्रयास गरियो । आगो सल्किएन । आगो सल्काउने सत्पात्र भएन कि भनेर पात्र फेरियो । एक होइन, अनेक पात्र फेरिए । आगो सल्किँदै सल्किएन ।
यी सब हेरिरहेको एक युवकले एक बोतल पेट्रोल ल्याएर दाउरामाथि खन्यायो र आगो सल्कायो । आगो दनदनी बल्यो । पेट्रोल ह्वार्ह्वार्ती जलेर सिद्धियो । आगो फेरि निभ्यो । होलिका दहन भएन ।
होलीको गीत बन्द भयोे । मानिसहरूको उमङ्ग चिसियोे । अनिष्टको आशङ्काले मानिसहरू संत्रस्त भए । तिनीहरूले सोध्न थाले,
-“आगो किन सल्किन सकेन ? होलिकाको दहन किन हुन सकेन ?”
दाउराको थुप्रोमाथि ठडिएको काठबाट आवाज आयो,
-“ए मनुवाहरू हो ! मलाई जलाउन यो दाउराको थुप्रोमा आगो सलकाउन सक्ने सत्पात्र तिमीहरू मध्ये कोही पनि छैनौ । अनि तिमीहरूले नै बनाएका विधाताहरूबाट रक्षा कवच चुनरीको वरदान प्राप्त छ मलाई । जबसम्म तिमीहरू कामी, लोभी, अहङ्कारी्, अन्यायी, अत्याचारी, दुराचारी, भ्रष्टाचारी, विश्वासघातीहरूलाई विधाता बनाइरहन्छौ; तबसम्म म सुरक्षित रहनेछु, हिरण्यकश्यपुको साम्राज्य फैलिरहने छ र प्रह्लादहरू प्रताडित भइरहनेछन् ।”
लक्ष्मीपुर गा. पा. ४, ब्रह्मपुरी, सिराहा
हाल नागार्जुन न.पा. २, साकेत मार्ग , शान्ति टोल, काठमाडौं
२०८०/१२/१२
२. होली

रमेन्द्र कोइराला
उसले पर्सबाट उनको तस्बिर निकाल्यो । तस्बिर हेर्दाहेर्दै ऊ स्मृतिको सागरमा पौडिन थाल्यो । उनको भाग्दै गरेको चित्र प्रष्ट आउन थाल्यो । मानौँ उनी चित्रबाट बाहिरी संसारमा आएकी हुन् ।
वास्तवमा उनी खेतमा भाग्दै थिइन् । ऊ चाहिँ हातमा रङ, अबिर लिएर पछ्याउँदै थियो । उनी भाग्दाभाग्दै खेतबाट टाढा जङ्गलतिर पुगिन् । केही दूरीमा ऊ पनि रङ दल्न लखेट्दै थियो । केही क्षणमा उसले भेटिकनै छाड्यो । एकछिन दुवैले सास नियन्त्रित गरे । भेट्न सकेकोमा दुवै एकअर्कालाई हेर्दै हाँस्न थाले ।
मौका पारेर उसले रङ, अबिर दल्न थाल्यो । उनले पनि दल्न थालिन् । दुवैले इच्छा बमोजिम रङ, अबिर दले । खुब मजा आयो । दुवै आनन्दित भए । करीब दुई घण्टा त्यतै बिताएपछि कहिले नछुट्टिने भनेर वाचाबन्धन पनि गरे ।
आज होलीको दिन बिहानैदेखि त्यो दृश्य शूल बनेर उसको ह्र्दयमा गढेको थियो । किनभने त्यसैदिन बेलुका उनको कुरा अर्कैसँग छिनिएको रहेछ ।
कारण ऊ आफू तल्लो जातको थियो ।
इनरुवा -९ बबिया, सुनसरी
०८०/१२/१२
३. परिवर्तन

गंगा खड्का
भरतको आँगनभरि होली खेल्नेको रमझम थियो । रङले पोतिएर प्रायः मान्छे रङ्गीबिरङ्गी भएका थिए । कोही नाचमा मस्त थिए भने कोही रङसँगै आफ्ना सपनालाई रङ्गीन बनाउँदै थिए । भुमिका भने आँखाबाट खसेका आँसुको रङलाई झन्झन् बेरङको बनाउँदै थिइन् ।
-“अन्टी !” भुमिकालाई जेठाजुकी छोरी अंशुको आवाजले झसङ्ग बनायो ।
-” हजुर !” उनले यतिमात्रै के बोलेकी थिइन् , अंशुले उनलाई तान्दै बसेको ठाउँबाट उठाइन् । उनलेे थालभरि राखेका थरीथरीका रङमध्ये रातोतर्फ हात लम्काइन् । गम्म मुठ्ठाएर रङ हजुरआमालाई दिँदै भनिन् -“हजुरआमा ! लिनुहोस् रङ अनि उमेरमै सिउँदो उजाडिएकी अन्टीको फुङ्ग उडेको अनुहारमा दलिदिनुहोस् । नारीप्रति हुने सकारात्मक परिवर्तन घरबाटै सुरु हुनुपर्छ ।”
बूढानीलकण्ठ ,काठमाडौँ
२०८०-१२-११