साताका तीन लघुकथा- ५३

  • ४ चैत्र २०८०, आईतवार ०८:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५३औँ) शृङ्खलाका लागि लघुकथाकार प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा ‘बोतल’, लघुकथाकार ढाकामोहन बरालको लघुकथा ‘स्वामित्व’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘छिमेकी’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १. लघुकथा: बोतल

    ✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल
    ठाकुर चारतारे होटल गए । यसपटक मुनाफा धेरै भएकाे थियो । श्रम मारेर मजदुरको खुबै शोषण गरेका थिए । मुनाफा थोरै देखाएर राष्ट्रलाई मनग्गे ठगेका थिए । राजनीतिक पार्टीलाई केही मन्साउँथे । पत्रकारहरूलाई अलिकति चढाउँथे । आज उनको हर्कबढाइँकाे दिन थियो । परिवारका साथ दुईचार बोतल महँगो रक्सी रित्याए ।

    श्रमिक छाप्रे भट्टीमा पस्यो । साहुले मजदुरीबाट निकालिदिएकाे थियो । नेताहरूले उसका कुरा सुनेनन् । पत्रकारहरूले उसको गुनासो बुझेनन् । स्वास्नीकाे सारी झुत्रिन लागेको थियो । छोरी सरकारी स्कुलमा फेरि पनि फेल भई । मनभरि पिर बह भरिएको थियो । साथीका साथ दुईचार बोतल ठर्रा घुट्क्यायो ।

    दुवैले बोतल रित्याएका थिए । मात्र बोतलकाे स्रोत, क्वालिटी, दाम, उद्देश्य र मात्रा फरक थिए । ठाकुरको बोतलमा गरिबको रगत भरिएको थियोे । श्रमिकको बोतलमा आफ्नै श्रम भरिएको थियो । ठाकुरको बोतल महँगो रक्सीले भरिए पनि दुषित थियो । श्रमिकको बोतल सस्तो ठर्राले भरिए पनि पवित्र थियोे ।
    धरान, नेपाल
    २०८०/०९/२३

    २.लघुकथा: स्वामित्व

    ✍️ ढाकामोहन बराल
    राम्रो र लामो खालका सुगन्धित अगरबत्ती बालिएको थियो । वातावरणमा यसको बास्ना छरिएको थियो ।
    “आज कति भए ?” हरिप्रसादले सोधेको सुनियो । निरुले टाउको उठाएर हेरिन् र पहिलाजस्तै मुन्टो निहुराएर बसिन् ।
    “भोलि त पाँचै दिन हुन्छ्न् ।” नित्यानन्दले हरिप्रसादलाई जवाफ दिए ।

    “अघिल्लो जुनीमा धर्म गरेका रहेछ्न् बाले, त्यसैले तँ जस्ती छोरी पाए यो जुनीमा ।” गान्धारी आमैले भन्नुभयो ।
    “बाको सेवा यसले जसरी कसले गर्‍यो होला र ! झरी, बादल, वर्षा, चर्को घाम र ठिहिर्‍याउने जाडो केही भनिन । बालाई लिएर अस्पताल दौडिई ।” जमुनाले पनि भनिन् ।
    “धन्य घरका पनि सहयोगी रहेछ्न् र बालाई केही भएको थाहा पाउनेबित्तिँकै टाउकाले टेकेर भए पनि आइहाल्थ्यौ ।” गान्धारीले भनिन् ।
    “अब त बिग्रन्छ पनि होला ।” निरुले सुस्तरी भनी ।

    “के गर्ने बाबै ! जिउँदामा तैँले जतिसुकै गरे पनि मरेपछि दाइ नआई उठाउन नमिल्ने ।” जमुनाले भनिन् ।
    गेट बाहिर एउटा मोटर रोकियो । आँगनमा जम्मा भएका मान्छेहरू सलबलाए । घरको समाचार सुनेपछि छ वर्षमा छोराहरू घर आएका थिए । निरु जुरुक्क उठी । आउँदै गरेका दाइहरूको अगाडि गई । उसले चार दिनदेखि अन्तिम संस्कार हुन नपाएको निरुको बुबाको पार्थिव शरीरजस्तै सबैजना स्तब्ध हुने गरेर भनी- “दाइ ! मैले हजुरहरूका बुबालाई बचाउन सकिनँ ।”
    पोखरा ७ मासबार , कास्की ।

    ३. लघुकथा: छिमेकी

    ✍️ सुरेशकुमार पाण्डे

    “अस्ति पनि आएको थियो । हिजो पनि आएको थियो । अचेल रुपलाल राधिकाको घरमा खुबै आउनेगर्छ।” लिखुरीले आफ्नो लोग्नेलाई बिस्तारै भनी।
    “होला केही काम ! तिमीले किन टाउको दुखाउनुपर्‍यो, बित्थामा ? अर्काको घरमा को आउछ को जान्छ ।” नरे आफ्नो स्वास्नीसँग झर्कियो ।

    “हजुरसँग त बोल्नै हुँदैन ।” उसले रिसाएझैँ आफ्नो नाक मुख बिगारी।
    “लिखुरी ! यसमा तिमी रिसाउँनै पर्ने कुरा के छ ? अर्काको घरमा को आयो, किन आयो ? त्यो उनिहरूको समस्या हो । तिम्रो हाम्रो चिन्ताको विषय होइन ।” नरेले लिखुरीलाई सम्झाउँन खोज्यो ।
    “हामी छिमेकी भएपछि छिमेकमा महिला मात्र भएको बेला पुरुष आइरहँदा चिन्ता त गर्नैपर्छ ।” लिखुरी अलि चर्को बोली ।

    “हो हामी छिमेकीको नाताले राधिकाको हालचाल सोध्नुपर्छ तर चियोचर्चा गरेर आफ्नो समय खेरा फाल्नुहुँदैन । तिमी कतिपटक गयौ, तेस्का घर भन त ?” नरेले सोध्यो।
    “ऊ पनि एक सातादेखि आएकी छैन । ऊ नआएपछि म पनि किन जाम् ?”- लिखुरीले भनी ।
    “बरू उस्को घरमा सञ्चो विसञ्चो के छ बुझेर आऔँ, हिँड ।” नरेले लिखुरीलाई सम्झाउँदै भन्यो।

    केही समयपछि दुवैजना राधिकाको घरमा गए । राधिकाको एउटा खुट्टामा प्लास्टर गरिएको थियो।
    “यो कसरी भयो ?”
    “घरमै लडेर खुट्टा भाँचियो । हजुरहरूको नम्बर पनि थिएन । महेशको रुपलाल दाइसँग चिनजान रहेछ । उहाँले नै विदेशबाट फोन गरेर पठाइदिनु भयो।” राधाले आफ्नो बारेमा जानकारी गराई।
    दाङ घोराही १८
    १५-०३-२०२४, (०२चैत्र२०८०)

    5 thoughts on “साताका तीन लघुकथा- ५३

    Leave a Reply