
घोस्ट राइटिङ् नेपालको प्रायोजनमा साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा १ सय १८ उत्कृष्ट लघुकथाहरूको पुन: मूल्याङ्कन पश्चात् वर्षका सर्वोत्कृष्ट ३ लघुकथाहरू छनोट भएका हुन् । सर्वोत्कृष्ट भई पुरस्कृत हुनेमा लघुकथाकार दीप मङ्ग्राती निरीहको लघुकथा ‘पूजा’ प्रथम, लघुकथाकार शुभ शर्माको लघुकथा ‘प्रतिप्रश्न’ द्वितीय र लघुकथाकार दिव्य गिरीको लघुकथा ‘नवदुर्गा’ तृतीय रहेका छन् ।
त्यस्तै लघुकथाकार रचना शर्माको लघुकथा ‘मेरो बैँस’ र किशन पौडेलको लघुकथा ‘खुशी’ सान्त्वना भई उत्कृष्ट पाँचभित्र रहेका छन् ।
सर्वोत्कृष्ट भई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त लघुकथाहरूका सर्जकहरूले क्रमशः १०/१० थान आख्यान कृतिहरूका साथ नगद रु. ३० हजार, २० हजार र १० हजार पुरस्कारस्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साहित्य पोस्टले उक्त प्रतियोगिता ४० हप्तासम्म निरन्तर सञ्चालन गरेको थियोे । जसबाट हरेक हप्ता ३ उत्कृष्ट लघुकथा छनोट गरिएको थियोे । उक्त १ सय १८ लघुकथाहरू मध्येबाट पहिलो चरणमा उत्कृष्ट ५०, दोस्रो चरणबाट उत्कृष्ट २५, तेस्रो चरणबाट उत्कृष्ट १० र चौथो एवम् अन्तिम चरणबाट सर्वोत्कृष्ट ३ लघुकथा छनोट गरी पुरस्कृत गरिएको थियोे ।
प्रतियोगिताको निर्णायकमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. कपिल लामिछाने रहनुभएको थियोे ।


