
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५०औँ) शृङ्खलाका लागि लघुकथाकार अमर त्यागीको लघुकथा ‘वृद्धालय’, लघुकथाकार रुद्र अधिकारीको लघुकथा ‘विषमता’ र लघुकथाकार धनसिंह बिश्वको लघुकथा ‘सङ्गत’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: वृद्धालय

✍️ अमर त्यागी
मेरो जन्म हुनुपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको थियो । त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो र त्यही अशिक्षाद्रोहको आरोप लगाएर देशले मलाई पनि घरबाट निकालिदियो ।
घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा घोर युद्धको प्रारम्भ गरेँ र जवानीकालसम्म लडिरहेँ । अन्त्यमा अशिक्षा मसँग पराजित भयो ।
अशिक्षा पराजित भएपछि देशले फेरि बेरोजगारी नियुक्त गऱ्यो । बेरोजगारीसँग पनि कठोर सङ्घर्ष थालेपछि बेरोजगारीद्रोहको आरोप लगाएर मलाई मेरै देशले देशनिकाला गरिदियो ।
त्यही बेरोजगारीद्रोहको अभियोगमा हरेक दिन हजारौँ युवाहरू देशनिकाला भइरहेका छन् र देश वृद्धालय बनिरहेको छ । अनि यो वृद्धालय विदेशीले चलाइरहेका छन् ।
२) लघुकथाः विषमता

✍️ रुद्र अधिकारी
“माँ ! भुइँतला कसलाई भाडामा दिनु भएको छ ?” विदेशबाट आएको छोरोले जिज्ञासा राख्यो ।
“कार्कीका ‘मिजन्तो मिसा’, सारै ‘बाँला’ छन् ।” आमाले जवाफ दिइन् ।
आमाले सारै राम्रा श्रीमान् श्रीमती बस्छन् भन्नुभएकोले एकछिन कुराकानी गर्न छोरो भुइँतलामा गयो । संयोगवश उसले आफ्नो कलेज पढ्दाको साथीलाई देख्यो । दुवैले हात मिलाए र अङ्गालो मारे । साथीले उसलाई श्रीमतीसँग पनि परिचय गरायो ।
साथीकी श्रीमतीले अचम्मित भावमा “हजुर यहाँ के कति कामले पाल्नुभयो त ?” भनेर सोधिन् र चिया पकाउन थालिन् ।
उसले हाँस्दै भन्यो- “यो मेरो घर हो । हामी विदेशमा बस्छौँ । माँ र बालाई पनि विदेश लान खोजेको, जान नै मान्नु हुँदैन ।”
जवाफ सुनेपछि साथीकी श्रीमतीले ग्यास बन्द गरिन् र फुत्त बाहिर निस्किइन् । उसले के भयो भन्ने मेसो पाएन ।
साथीले गम्भिर मुद्रामा हात जोड्दै भन्यो- “हामीलाई माफ गरिदेऊ । दलित भएको कारणले काठमाण्डौमा डेरा पाइएन । थरमा भएको कार्की डोलीको डोली लुकाएपछि बल्ल डेरा पाइयो । बिडम्बना ! आफ्नै साथीको घर परेछ । हामीबाट तिम्रा बाआमा माथि ठुलो पाप र अन्याय हुन गयो । अब कसरी मुख देखाउनुँ ?”
उसले जवाफमा भन्यो- “भाउजूलाई बोलाऊ; चियामा दुध र चिया रङ्ग थपेर ग्यास पुन: बाल्न लगाऊ । माँ र बालाई लिएर म चिया पिउन आउँछु ।”
ईटहरी-१९, सुनसरी (हालः लन्डन)
३) लघुकथा: सङ्गत

✍️ धनसिंह बिश्व
बाटोमा मौरी र झिँगोबिच घनिष्ठ मित्रता भयो । मौरीले साथी झिँगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तिँकै झिँगोले रिसाउँदै भन्छ- “मलाई त निसास्सिएझैँ भयो नि । उफ ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिङ्गटा लाग्यो । बान्ता आउनै आँट्यो। अब म बस्न सक्दिनँ, साथी । म बाहिर जान्छु, साथी ! तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ ।” झिँगो रिसाउँदै र लर्बरिँदै मौरीको घारबाट बहिर निस्कियो ।
मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो- “पर्ख न साथी ! केही त खाएर जाऊ । मेरो घरमा आएर केही भएन ।”
“के छ र खानूँ ? म गएँ ।” झिँगो रिसाउँदै हिँड्यो ।
केही समयपछि फेरि भेट भयो । झिँगोले खातिरदार गर्दै भन्यो- “ओहो मित्र ! आज मेरो घर जाऊँ । अतिथि सत्कार कसरी गरिन्छ ? म सिकाउँछु ।”
झिँगो साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको, गनाउने सिनो माथि पुर्यायो । मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो ।
गेजिङ प० सिक्किम।