गाउँ फर्किरहेको परदेशी टोकियो साँझसॅंगै दुईओटा कृति विमोचन कार्यक्रम सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:०९ मा प्रकाशित
  • २०८०/१०/२८ गते आइतबार विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा कवि द्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचनअन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ ।

    विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम सुरु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।

    गंगा गगनको स्वागत मन्तव्यसॅंगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा कृतिहरुको विमोचन तथा विमोचित कृतिका सर्जकहरूको लेखन अनुभव सुन्ने थियो । त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य सेसन थियो । भर्चुअल माध्यमबाट जोडिई अतिथि आसन ग्रहण गरेका भोजपुरबाट राष्ट्रिय कविता महोत्सव -२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् श्री दिनेश पौडेलले कर्मथलो जापान बनाएका नेपाली साहित्यमा कलम चलाउनेहरूको यो अनुकरणीय र महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाउॅंदा असाध्यै खुसी लागेको बताए । प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेलले शुभकामना मन्तव्य दिॅंदै भने – “साहित्यबाट हरसमाजले केही न केही शिक्षा पाउने र सच्चिनुपर्ने ठाउॅंमा सच्चिन प्रेरित समेत गर्ने भएकोले विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो समाजका लागि कलमकर्मीले निरन्तर लेखिरहनुहोस् ।” भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए ।

    दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । विनेसामको सल्लाहकार भुवन रोकाले मन्तव्यसहित रचना तथा बिमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।

    कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउॅं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्को एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउॅं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । करिब ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुन्जायमान भएको थियो ।
    कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गंगा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ को विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको निबुखोले सोल्टिनी बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउॅंदै छमछमी नाचेका थिए ।

    स्मरण रहोस्, विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सन्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

    Leave a Reply