“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०९/ १२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६० [साठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग~~
पञ्चाङ्ग:०१
झुटाे आफ्नाेपनकाे मायाले किन छर्नु अहंकार।
अब देखावटीपनबाट टाढा सर्नु अहंकार।
माटाेसँगै मिल्दछ पञ्चतत्वकाे शरीर सबैकाे,
मनमा अटाइ नअटाइ किन भर्नु अहंकार।
जाने बाटाे उही हाे घाटकाे किन गर्नु अहंकार।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
एकदिन सबैको गन्तर्ब्य बन्छ आर्यघाट।
दिनहुँ मनुस्यको लाश है गन्छ आर्यघाट।
जलेको देखेर पनि अमर सोच्ने मनले ,
सम्मानका मलामी कमाउ भन्छ आर्यघाट।
मोहबाट मुक्ति दिने बाटो खन्छ आर्यघाट।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०३
जन्मेपछि हिँड्ने माटो त्यही हो।
अन्त्यमा जाने बाटो त्यही हो।
ढिलो या छिटो भिन्नता यत्ति,
भोग्नु नै पर्ने पाटो त्यही हो।
मृत्यु पछिको साटो त्यही हो।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०४
यो नश्वर तन अन्त्यमा शेष हुने हो।
हरि भनेकोमा अन्त्यन्तै बेस हुने हो।
आगोले पोल्दा पनि चित्कार नहुने,
आत्मा अन्त्य प्रभुमा नै पेश हुने हो।
शोलामा चढाउँदा नग्न भेष हुने हो।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०५
चल्नू पर्ने रहेछ थितिमा सबैले ।
नियम कानून र नीतिमा सबैले ।
कसैकाे केही लाग्दैन कालकाे अघि,
पर्छ नै छाेडी जानु मितिमा सबैले ।
खप्दै दैवकाे लाठाे रीतिमा सबैले ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०६
यमराजले लेख्ने बहि हो।
प्राणी जन्म मरण सहि हो।
ढिलो चाडो मात्र फरक छ,
उडि जाने मान्छेको देहि हो।
सबैको जाने ठाउँ त्यही हो।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०७
जन्मे पछि एक दिन जाने बाटो त्यहीँ हो।
सबैलाई अन्तिममा लाने माटो त्यहीँ हो।
किन गर्नु अंहकार र घमण्ड हामीले ,
बाचुन्जेल साग सिस्नु खाने आटो त्यहीँ हो।
मरे पछि अन्तिमको पनि साटो त्यहीँ हो।
दुर्गा आचार्य
पञ्चाङ्ग:०८
बाचुन्जेल राम्रो कर्म गरे मरेपछि आत्माले डढ्नु पर्दैन।
शुक्ष्म आत्मामै ब्रह्माण्ड अटाउँछ यसले अझ बढ्नु पर्दैन।
धेरै जान्नु पर्दैन बस् शरीर पञ्च तत्व हो यति जाने पुग्छ,
भौतिक शरीर जलेपनि आत्माले भने चिता चढ्नु पर्दैन।
कहिलेकाहीँ आर्यघाट जानु जीवन दर्शन पढ्नु पर्दैन ।
-पशपती राई खोटाङ ।
मोरङ
पञ्चाङ्ग:०९
मृत्यु पछि घाट सबैले जानै पर्छ ।
कात्रो किन्न खाट सबैले जानै पर्छ ।
के को लागि लड्नु आपसमा सबैले ,
नर नारी आट सबैले जानै पर्छ।
मन भित्र माट सबैले जानै पर्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:१०
जन्म लिए पछि मृत्यु हुने निस्चित हुन्छ थाहा छ
अन्तिम गन्तव्य नै हाे घाट लाशले चुन्छ थाहा छ
तथापि किन दम्भ गर्छौ तिमी याे मेराे तेराे भन्दै
धन बैभव पनि यहाँ हाँस्दा हाँस्दै रुन्छ थाहा छ
नाङ्गै आउनु र जानू पर्छ मनले सुन्छ थाहा छ
कमला देवकोटा, पाल्पा
सम्पूर्ण पञ्चाङ्ग अनुरागिमा हार्दिक बधाई छ ।