साताका तीन लघुकथा- ४९

  • २८ पुष २०८०, शनिबार १०:०५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (४९औँ) शृङ्खलाका लागि लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘बा'को भाग’, लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा ‘वरको खोजी’ र लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा 'प्रधानमन्त्री’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)

    लघुकथा: ‘बा’काे भाग

    ✍️ बिष्णु उप्रेती
    तुलसीकाे मठमा सारेकाे आधा घन्टापछि बाउले चारैतिर आँखा घुमाएर हेरे । लामाे सास फेरे । हातखुट्टा तनक्क तन्काए र प्वाक्क मुख बाउँदै प्राण छाेडे ।

    छाेरीहरूमा रुवाबासी मच्चियाे । छाेराहरू खासखुस गर्न थाले । हतार हतार कान्छाले हातकाे औँठी खाेल्याे । बुहारीले जनैकाे साँचो चुडाएर बाउकाे काेठातिर पसिन्।
    केहीछिनमा एउटा पुरानो, मैलो, कालाे झाेला ल्याएर बुढालाई दिँदै भनिन्- ” गरुङ्गो नै छ।” कान्छाले मुस्कुराउँदै झाेला समात्याे ।
    यति नै बेला बाउकाे लासबाट एउटा आवाज आयाे । बाउ आफ्नै बाेलिमा भन्दै थिए- “तेरीमा बजिया हाे ! म त जीवनभरि तिमीहरूकै दास, नाेकरमात्र रहेछु, हैन ? बिसौँ वर्षदेखिको औँठी समेत खाेल्यौ हैन, पापी हाे।”
    याे सुनेर जेठाले भन्याे- “जनैकाे चाबी कान्छाले लगेकाे छ । मैले त केही पनि पाइनँ बा ।”
    यसैबेला टुप्लुक्क आइपुगेका पुरेतले भने- “पाप र धर्मकाे पाेकाे बाेकेर जानू बा ! अब बेला बेलामा तर्पण, पिण्ड दिन म लाइदिउँला । तपाईँको भाग, जीवनभरकाे आर्जन, जे भने पनि तेत्ती हाे।”
    २०८०/०९/२२
    बिर्तामोड झापा

    २.
    लघुकथा: वरको खोजी

    ✍️ बासुदेव तिमल्सिना
    “साधुराम दाइ ! लौन, मेरी छोरीलाई एउटा मिल्दो केटो खोज्नुपर्‍यो । हजुरलाई थाहै छ । मेरी छोरी अधिकृतस्तरको नोकरी गर्छे । पढाइलेखाइमा पनि अब्बल छे । मेरो घरव्यवहार सबै त्यसैले थेगेकी छे ।” कुलमानले आफ्नो समस्या राखे ।

    “कस्तो केटो चाहियो ?”
    “राम्रो जागिर होस्, धनीमानी होस् । एक्लो छोरो होस् । पढालेखा होस् । घरमा कोही नहुन् किनभने घरपरिवारमा अरू भए भने छोरीले दुःख पाउँछे ।”

    एकछिन सोचेपछि साधुरामले भने- “तैँले भनेजस्तै सबै कुरा मिल्ने एउटा केटो छ । म कुरा गरेर भोलि भन्छु है त ?”

    भोलिपल्ट फेरि उनीहरूको भेट भयो ।
    “के भो त दाइ कुरा ? केटोले बिहे गर्छु भन्यो ?” उत्सुक हुँदै कुलमानले सोधे ।

    “बिहे त गर्छु भन्यो तर उसको पनि एउटा सर्त रहेछ । ऊ पनि केटीको परिवारमा कोही नभएको एक्ली केटीको खोजीमा रहेछ ।”

    “अब कसरी हुन्छ त दाइ ?” कुलमानले चिन्ता व्यक्त गर्‍यो।

    “नअत्तालिन । यसको पनि उपाय छ । भरे घर जाँदा अलिकति विष लिएर जा । केटी बाहेक सबै परिवारले खाओ । केटी मात्रै बाँच्छे । अनि त्यो केटोसँग म तेरी छोरीको बिहे गराइदिउँला ।”

    लालबन्दी, सर्लाही

    ३.
    लघुकथा: प्रधानमन्त्री

    ✍️ रमेन्द्र कोइराला
    चिया दोकानमा गफ चल्दै थियो । एउटाले भन्यो- “अचेल सिडिओ कार्यालयमा लेखापढी बन्द भएर, पैसाको साह्रै अभाव भएको छ । “
    “किन बन्द भएछ ?” अर्कोले प्रश्न गर्‍यो ।
    “सबै अनलाइनबाटै गर्ने रे । बिचौलियाको काम छैन रे ।”
    “कसले यस्तो काम गरेछ ? “
    “नया सिडिओ महिला आएकी छ, उसैले ।”
    “त्यतिमात्र कहाँ हो र ! हामीले निर्बाध रूपमा पारिबाट मोटरसाइकलमा सामान ल्याउथ्यौँ, त्यो पनि बन्द भयो ।” तस्करले भन्यो ।
    “हाम्रो समेत कुरा सुनिदैँन ।” एक नेताले गुनासो पोख्यो ।
    तिनीहरूको कुरा सुनिरहेको अलिक बुज्रुक व्यक्ति बिचैमा बोल्यो- “दलाली, तस्करी सबै बन्द भएछ, राम्रै भयो त । महिला न त बेलुकाको खानपिनमा सहभागी हुन्छिन् न त सेटिङ हुन पाउँछ । सेटिङ हुन पाएन भने घुसखोर , भ्रष्टाचार र ढिलासुस्ती पनि हुँदैन । सबै कुरा नियमपूर्वक हुन्छ । त्यसैले यी गतिविधि बन्द भएका हुन् । अब साँच्चिकै जिल्लाको विकास हुनेभयो ।”

    यो गफतिर अघिदेखि ध्यान दिइरहेको दोकानदारले चिया घोट्दै भन्यो- “त्यसोभए देश विकासको लागि अब प्रधानमन्त्रीमा पनि महिला नै ल्याउनु पर्नेभयो ।”

    इनरुवा-९, बबिया
    ०८०/९/२३

    Leave a Reply