
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४८औँ) शृङ्खलाका लागि लघुकथाकार नन्दलाल आचार्यको लघुकथा ‘लायक’, लघुकथाकार पी पी कोइरालाको लघुकथा ‘प्रायश्चित’ र लघुकथाकार हिमा आर.सी.को लघुकथा 'चरित्र’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा: लायक

✍️ नन्दलाल आचार्य
दस वर्ष पुरानै परीधानमा, रामचा आज फर्केको देखेर निराश भए उसका बाबु ।
बाबुका आँखामा उहीँ तस्बिर घुमिरह्यो । लेखपढमा बन्दै ध्यान नदिएको र कामकाज गर्न भनेपछि दाँतबाट पसिना छुटाएको कारण, रामचा बहिष्कृत भएको थियोे, बाबुको संविधानबाट ।
“मान्छे भएसी कि गरेर खानुपर्छ कि मरेर जानुपर्छ ।” घरबाट गलहत्याउने बेला यसै भनेका थिए बाबुले ।
रामचाले पनि आँखामा बारिएको दहको डिल भत्काएर दह आधा पारेको थियोे । आधा भने आँखाभित्रै पचाएर निस्केको थियोे ।
आमाबाबुको काख छाडेपछि र घरको छहारी नभेटेपछि रामचाले आफ्नो बानीमा पनि रूपान्तरण गरेको थियो । दृढ सङ्कल्पलाई साथी तुल्याएको थियो । मन जाँच्न सुरक्षित राखेको कपडा पहिरेर बाबुको सामु खडा भएको थियोे ।
“अझै हामी श्वासप्रश्वास गर्दैछौँ । उस्तै हालतमा के खान फर्केको ?” मुटुको किलो बलियो गरी ठोक्दै बाबुले भने ।
आफूलाई नचिनेकोमा रामचा झन् खुसी भयो । छोराको दिमाग खुस्केछ भनी बाबु अत्तालिए ।
“उहिलेको रामचा मरिसक्यो; म त अहिलेको रामचा हुँ बुबा ।” रामचाको बोली सिद्धिन नपाउँदै आठ जना भरियाले दलानमा भारी बिसाइसकेका थिए ।
२०८०-०९-१८ बुधबार, सिर्जनाकुटी, सिरहा
[२]
लघुकथा: प्रायश्चित

✍️ पी पी कोइराला
आज उसलाई फाँसी दिन लगिँदै थियो । उसको पैँसठ्ठी वर्षका बुढो बाउ दौडिएर आयो र छोराको खुट्टा समाएर रुँदै भन्यो- “मलाई माफ गर्देउ छोरा !”
छोरोले बुझेन । अत्तालिएर पछि सर्यो । भेला भएका मध्ये जजले चिनेर उसको बाबुलाई नजिकै बोलाएर भने- “यो के तमासा हो ? छोरोले त बहुलाएर हत्या गर्यो, गर्यो; बाबु किन खुस्केको ?”
बाबुले भन्यो- “त्यो अपराध मैले गरेको थिएँ, सर । यो निर्दोष छ । उसलाई छोड्दिनु ।”
जजले हतार हतार फाँसी रोकेर भने- “धन्न यसको बाउले बेलैमा आफ्नो कर्तुत कबुल गर्यो, नत्र त आज एउटा निर्दोषको ज्यान पो जाने थियो ।”
सबै कानुनी प्रक्रिया पुर्याएर बाबुको घाँटीमा डोरी बेरियो । जजले अन्तिम घडीको सङ्केत दिँदै गन्न थाले- “एक, दुई…।
छोरोले पनि सहनै सकेन । उसले जोडले करायो- “ए बा ! यो तपाईँले के गरेको ? खासमा मैले नै त बलात्कार गरेर मारेर फाल्देको हो । किन मलाई बचा’को बा, किन ?”
बुढा बाउले इसारा गरेर उसलाई नजिक बोलायो । अनि कानमा भन्यो- “तँ सानो छँदै अरूको लहैलहैमा आफ्नो धर्म र संस्कृति बहिष्कार गरी तँलाई राम्रो संस्कार सिकाउन नसकेर ठूलो अपराध गरेको रहेछु नि त !”
धरान१३
[३]
लघुकथा: चरित्र

✍️ हिमा आर. सी.
“हेर्नुस् त बुढा ! रश्मी दिदीले कस्तो राम्रो ठाउँमा गएर फोटो खिच्नुभएको ?” सरुले मोबाइल देखाउँदै भनिन् । उनलेे हेरेमात्र कुनै प्रतिक्रिया जनाएनन्
सरुले फेरि भनिन्- “हामी पनि कतै घुम्न जाउँ न फोटो खिचौँला !”
“तिमीलाई थाहा छ त, मलाई अफिसको कामले गर्दा फुर्सँदै हुँदैन भनेर कुनै दिन जाउँला नि !” उनले भने ।
“रश्मी दिदी आज पनि जाँदै हुनुहुन्छ । म पनि उहाँसँगै जान्छु अनि फोटो खिचेर आउँछु नि !” सरुले जिद्दी गर्दै भनिन् ।
“सरु ! रश्मी दिदीको बारेमा सबैले नराम्रो भन्छन्, अलि बिचार गर है ।” उनलेे सचेत गराउँदै भने ।
“तर उहाँले त राम्रै फोटो हाल्नुभएको हुन्छ त !” सरुले भनिन् ।
सरुको कुरा सुनेपछि उनलेे भने- “क्यामराले चित्र खिच्छ चरित्र होइन ।”
गुर्भाकोट ८, मेहेलकुना
कर्णाली प्रदेश सुर्खेत
२०८०/९/५ गते
हार्दिक धन्यवाद नमस्ते🙏आधुनिक लघुकथा मञ्च , हिमालयन दृष्टि र जय लघुकथा केन्द्रलाई साथै उत्कृष्ट हुने अादरणिय सर्जक नन्दलाल आचार्य अक्षान्त सर र अादरणिय सर्जक हिमा अार सिज्यु र मलाई बधाई तथा शुभकामना🙏❤️