
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
नाथे बन्दुक चल्दैन भन्थ्यौ, चलाएको हेर,
पुक्लुक्क ठाउँको ठाउँ, गोली नफालेर खेर ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
हेर्नेको आँखा फोड, बोल्नेको जिब्रो थुत,
लासैलासको बेडमा, आरामले सुत ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
युवालाई ताकी ताकी गोली हान सरकार,
आफैँ मात्र अघाऊ अरू भोकै के दरकार ।
✍️
भगवती दवाडी ,झापा
[३]
सरकारमा धेरै शक्ति छ भन्ने फेरि देखायाे,
राेजगारी खाेज्ने गरिब जनकाे मृत्यु लेखायाे ।
✍️
ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
के पायौँ तिमीले रोजगारीमा गएका ती मरे,
विश्वमै रेकर्ड राख्न सत्तामा बस्ने अघि सरे।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
[५]
पशु मारेझैँ यहाँ जनता मारेर उम्किन पाइँदैन,
यस्तो गणतन्त्र अब यो देशमा हामीलाई चाहिँदैन ।
✍️
धनुष न्यौपाने
जुम्ला
[६]
काम गरी खान खोज्ने युवाको यहाँ भाग्य, भविष्य र सपना सबै गल्यो,
उ नेता थिएन इमानदार युवा नै पर्यो त्यसैले लास भएर जल्यो ।
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौँ
[७]
निर्दाेष व्यक्ति माथि गाेली चल्छ यहाँ सत्ताकै आडमा,
पावर छदैंछ सरकारकाे जनता गए भाडमा ।
✍️
केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।।
[८]
विनाकारण गोली हानी गयो युवाकाे ज्यान खेर,
छोरा लडे आमाको काख रित्ताे भयो सबैले हेर ।
✍️
सुशीला शिखा
काठमाडौं कागेश्वरी
[९]
युवालाई गोली अनि जेल हाल, हिड्नेको खुट्टा फाल,
बोल्नेको मुख टाल, नदेखाऊ सरोकार यस्तो चाल ।
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
[१०]
तिम्रो झुटो आश्वासनको कुरा कुनै हालतमा बिक्तैन,
दम्भले भरिएको त्यो शासन सत्ता धेरै दिन टिक्तैन।
✍️
प्रदीप के रिमाल
इटहरी सुनसरी।
[११]
सत्तामा आतङ्ककारी सरकार भएपछि हुन्छ डरैडर,
कुनबेला को मर्छ र मारिन्छ हुँदैन कसैको नि यहाँ भर ।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१२]
विनाकारण गोली चल्यो, होनहार युवाको ज्यान गयो,
आमाको काख रित्ताएर, जनताको हालत यस्तै भयो ।
✍️
एवाइ प्रभात
सहिदभुमि छेन्ताङ धनकुटा
[१३]
माग्यो अभिभावक सम्झिएर रोजगार,
चलायो गोली छाती चिर्यो गयो आरपार ।
✍️
सुरेशकुमार पाण्डे दाङ घोराही १८
[१४]
गरिब माथि गोली चलाएर ज्यान लियौ किन ?
न दियौ बाँचेर खान न सक्यौ रोजगारी दिन ।
✍️
सरिता सेढाई धादिङ
[१५]
जान्ने रैछ हान्नलाई नत्र तालिम लिएको के काम,
आफ्नै दाजुभाइलाई गोली हानी राखे नभन नाम ।
✍️
अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[१६]
हेर्दै जाओ जनता, देशमा अझ के के गर्छु ?
बेरोजगार युवा तह लाउन अघि सर्छु ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[१७]
धन्यवाद सरकार अब बन्दुकको आडमा सत्ता दरो पार,
तिम्रा विरोधी भए युवाशक्ति सब गोली र डण्डा वर्षाइ मार !
✍️
विवश पारदर्शी
झापा
[१८]
दम्भको खोक्रो राजनीतिले अरू के नै गर्छ,
चल्छ गोली अन्धाधुन्ध होनहार युवा मर्छ ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर,झापा
[१९]
अब केही पनि रहेन बाँकी,
हान्यो गोली छातीमा ताकी ताकी ।
✍️
डम्बर थामी 'अनुपम'
कालिन्चोक गा. पा. -६, दोलखा ।
[२०]
कमाइ गर्न परदेश जान्छु भन्दा आफ्नै ज्यान गयाे,
अब हाम्रो देश नेपाल कुन अवस्थामा जाने भयाे ।
✍️
कल्पना भण्डारी
सिन्धुपाल्चोक जिल्ला
हाल काठमाडौँ
[२१]
सुन्दै मन छियाछिया हुने, हरपल लाग्ने मरूँ मरूँ,
भो भो नसुनाऊ यस्ता हृदयविदारक खबरहरू।
✍️
पुष्पा सुवेदी
नेपालगंज, बॅाके ।
[२२]
कति सिपालु हाम्रा पुलिस, आकाशमा गोली हान्दा मान्छे ढल्छ,
बाग्मतीमा दिएको दागबत्तीले बालुवाटारको चुल्हो बल्छ ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
[२३]
नियतिको खेल पनि कस्तो निर्दोषलाई अनायासै गोली लाग्नु,
समय निष्ठुरी हुँदोरहेछ नि गरिबले मात्र सहेर भाग्नु ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
[२४]
शक्ति तागत रहुन्जेल गर्यौ मनोमानी,
निमुखा सोझा जनता मार्यौ छानी छानी
✍️
उमा दाहाल
[२५]
जनता मार्नपट्टि किन लागेको छ होला सरकार ?
चारैतिरबाट गाली पाउने काम गर्छ बारम्बार ।
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[२६]
तानासाह कम छन्, सुनाउथे भनी,
तातो गोली हान्दैछन् रे जनता गनी ।
✍️
नागेन्द्रप्रसाद यादव , दाङ
[२७]
जितेर ल्याएकाे सङ्घर्षले केवल पाएकै हो बाेल्न,
ज्यानै लिँदै सञ्चाे भाे'कि, वाद र सिद्धान्तको पाेकाे खाेल्न !
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
[२८]
श्रम बेच्ने युवा माथि चलाउछौ गोली
अझै कति खेल्ने हौ र रगतको होली ?
✍️
बाबुराम गौतम, गुल्मी
[२९]
युवाले राेजगार खाेज्दाखेरि हान्यौ गाेली,
सुशासन दिने सरकारकाे झूटो बाेली ।
✍️
राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[३०]
घरमा पनि विभेद हुने के यस्तो भएको ?
घामको खोजी गरेर आज जीवन गएको !
✍️
आर्त अकुलीन
[३१]
कला, गला सुधारेमा हुनेछ है भला,
बाेली गाेली ठाेक्दाखेरि युवा परे थला ।
✍️
जी.वि.चिन्तन घाेराही,दाङ ।
[३२]
दाेषै थिएन, गाेली चलायाै,
शान्ति पथमा रण मचायाै ।
✍️
हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार
[३३]
बहिनीको अभिभावक गुम्यो, आमाको सहारा ढल्यो,
भाइको भरोसा टुट्यो, कर्मनिष्ट युवा चितामा जल्यो।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[३४]
युगौँ भयो किन बेथिति ढल्दैन यहाँ,
नीतिविना त्यसै संस्कृति फल्दैन जहाँ ।
✍️
गम्भिर दुवाडी
[३५]
धेरै त होइन चाहिएको थियो गाँस र बास,
तिमीलाई झन बानी परेको रै'छ लिने सास !
✍️
दीपा गुरुङ्ग (समभाव)
बुनपा१२कपन काठमाडौ
[३६]
बन्दुक पनि निर्दोष, गोली पनि खामोस
मरेतुल्य सरकार, देखिँदै छ बेहोस ।
✍️
बि कुलङ
दार्जीलिङ
[३७]
बेरोजगारको लागि छैन सरकारको अन्तस्करण,
रोजगार माग्नु अपराध भयो सजाय दियो मरण ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[३८]
मेरो देशका वीरलाई देखेर,
उसको देशले कविता लेखेर।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
[३९]
तर्साउन मात्र खोजेको थियो आफैँ तर्सियो,
एउटालाई गोली अर्कोलाई बुट बर्सियो ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[४०]
निर्दाेष जनता माथि गोली चलाइ मार्छौ,
त्यसैकारण बेलाबेला जन सामु हार्छौ ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[४१]
सुध्रिनु थियो सुध्रिएन हाम्रो देशको कानुन,
आयु उस्को त्यति नै थियो कि दैवले नै जानुन ।
✍️
दुर्गा आचार्य
मोरङ
[४२]
सोचेको थिएन आँखाबाट आँसु झर्ला,
विनाकारण यसरी आफैँ मर्नुपर्ला ।
✍️
हिमा आर सी
मेहेलकुना सुर्खेत
[४३]
राेजगार हैन अब गाेली देऊ सरकार,
गाउँ बस्ती र टाेल-टाेल बनाऊ अन्धकार ।
✍️
खुनराज काेईराला
सिद्दलेक-३ गैरीगाउ,धादिङ
[४४]
कसको आस गरौँ सत्ताधारी नै आतङ्ककारी भएपछि,
कुन बेला मरिने हो हजुर खुलेआम गोली चलेपछि ।
✍️
दुर्गा भट्टराई
मोरङ
[४५]
हिजो हाँस्दै गरेको ठिटोलाई श्रद्धाञ्जली भन्नु पर्यो,
गोली नै खानुपर्ने काम ए ! सरकार उस्ले के गर्यो ?
✍️
ध्रुव श्रेष्ठ
हाल काठमाडौँ ।
[४६]
गणतन्त्र बनी बाघ डुक्रियो हेर कस्तरी,
माग्दामा रोजगारी नै, ढाल्यो मान्छे चरासरि।
✍️
रामशरण न्यौपाने, भक्तपुर
[४७]
जनताको लागि चल्ने गोली अब आफैँतिर फर्काऊ सरकार,
तिम्रा यी बकम्फुसे व्यवहारले चल्दैन जनताको घरबार।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
[४८]
सर्वहाराकाे सरकार भन्नै लाजकाे कुरा,
राेजगारी खाेज्न हिडेकाे ठहरै मर्यो भुरा ।
✍️
प्रद्युम्न चालिसे
[४९]
विश्वास लाग्दैन याे सरकारले अब के नै गर्छ, चलाए गाेली बिचरा साेझा युवाहरू मात्रै मर्छ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
[५०]
अविभावक भएपछि सन्तानको कुरा सुन्नुपर्छ
कस्तो नीति यो सरकारको बोल्नेको मुख थुन्नुपर्छ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[५१]
के मागेका थिए र सरकार ? पुन: परिक्षा दिन पाऊ भन्ने त थियो,
सोचेका भए बेलैमा हुने थिएन घटना, अनाहकमा ज्यान लियो ।
✍️
यमुना प्रधानाङ्ग'मुना'
२०८०/०९/१४ इमाडोल, ललितपुर।