साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११२

  • २१ मंसिर २०८०, बिहीबार २२:०३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    कति छन् घाइते रहर, कति त मरिसके,
    पहेँलिए ओइलाए, रूखबाट झरिसके ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    घरले जा जा भन्छ आइज भन्छ वनले,
    त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    तनले मनलाई सोध्दा मुसुक्क पो हाँसिदिन्छ,
    मन मनै हो कहिले दिन्छ कहिले आफैँ लिन्छ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ

    ३)
    रहर पुरा गर्नु त छ अझै भर्नु पनि छ भकारी सुन,
    उमेरले नेटाे काटे पनि लोभले लाउन सकिनँ गुन ।
    ✍️
    सुशीला शिखा
    काठमाडौं कागेश्वरी

    ४)
    अन्धाधुन्ध गोली चल्छ निर्दोषले दुःख पाउँछ,
    देशका नेताको काम देख्दा रुन मन लाउँछ ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    ५)
    रमितेहरू हेलिकोप्टरमा भूकम्प पीडितको दुर्दशा हेरी फर्के,
    राहत पाउनु त कहाँ हो कहाँ त्यहाँ केहीका चिसोले ज्यान नै घर्के ।
    ✍️
    पवन कुमार बुढाथोकी
    काठमाडौँ

    ६)
    सङ्घर्ष गर्दागर्दै कति मरे आसहरू,
    अलिकति बटुले, धेरै भए लासहरू ।
    ✍️
    एवाइ प्रभात
    धनकुटा छेन्ताङ

    ७)
    त्यहीँ मन पापी भएको हो खटनले,
    सरकारले मिलाए हुने जतनले ।
    ✍️
    भगवती दवाडी ,झापा

    ८)
    चुनावमा गठबन्धनकाे पहाडा जाेडियाे,
    जनता दु:खमा पर्दा त उनैलाई छाेडियाे।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    ९)
    घरले जा र वनले आइज् भन्ने बेलासम्म कति धनको लोभ गर्छन्,
    मान्छे देश बेचेर पनि नपुग्नेहरू अब धनकै मोहले नै मर्छन्।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ 🇳🇵

    १०)
    कमाउने रहरले पसियो सहर,
    परिस्थितिले बनायो ठाउँ न ठहर ।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ, भारत ।

    ११)
    एक वन जलेपनि त अर्को वन पलाउँछ भन्छ वनले,
    भ्रष्टाचार गर्दै गर्दिनँ भन्छु तर मान्दैन याे पापी मनले ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल, रुपन्देही

    १२)
    अन्धाधुन्ध गाेली चल्छ विदेशी सहरमा,
    गरिब त ! मरिसके इच्छाकै रहरमा ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।

    १३)
    रहर नै रहर छन्, अझै छन् कति कति,
    पाइएन तिनको कतै असली ओखती ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १४)
    नेपालमा कौतुहलता मच्चिएको छ, युद्ध हुने सङ्केत,
    किन मर्न खोज्दैछन् एक आपसमा, बरु हुनु नि सचेत ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैँचा नगरपालिका १ मोरङ

    १५)
    सपना साकार हुँदैछ उसको लुटेर यो देश,
    सत्ताको खेलमा छक्याई बदलियो उसकै भेश।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    १६)
    रहर र आकाङ्क्षा कति थिए होलान् तपाईँ हाम्रो,
    मन भौतारिई रह्यो, भेटिएन कही बाँध्ने काम्रो।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    १७)
    आज होला भोलि होला भन्दाभन्दै रहर मरे,
    कति गए तुहिएर नै कति आत्मदाह गरे ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    १८)
    अकालमै मर्छन् यही देशका नागरिक,
    उनैको नाममा नेता मागिरहन्छन् भिक।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    १९)
    ढल्कदै छ उमेर लोभका रहर अझै उस्तै जाग्छ,
    संसारमा मान्छे जस्तो आरिष्य अरू छैन होला लाग्छ।
    ✍️
    शंकर कार्की, मकवानपुर

    २०)
    खै के भनौँ जता माउ उतै बाच्छो भने जस्तो,
    छक्कै पर्नु अझै कति सम्झाउ, नबुझ्ने कस्तो ?
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    २१)
    मुनाहरू निमोठिदा ओइलिएर झर्छन्,
    लक्ष्यहरू चोइटिइदा आसहरू मर्छन् ।
    ✍️
    विवश पारदर्शी
    झापा,

    २२)
    एकदिन सबैकाेआउँछ पालाे ढिलाे र चाँडो मात्र,
    राम्राे काम गरी सबैको नजरमा बनाैं मुख्य पात्र ।
    ✍️
    भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा१ चार नम्बर कपिलवस्तु

    २३)
    रूखमा हुन्जेल हल्लाउँछ झरेपछि गलाउँछ,
    अन्त्य होइन है समय आउँदा फेरि पलाउँछ ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    २४)
    रहरहरू धेरै हुँदा रैछन् जीवनरूपी वनमा,
    कति पूरा हुन्छन् कति भने गुम्सिन्छन् केवल मनमा ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    २५)
    किन मान्नु टोपी दिवस टोपी पर्छ भने लुकाउनू,
    किन बोक्नु देशको झण्डा झण्डा पर्छ भने झुकाउनू ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।

    २६)
    लाेभ माथि लाेभ थप्दै कुकार्यमा पसेर,
    रित्तियाे जीवन धनकाे लाेभमा फसेर ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    २७)
    होशमा आएदेखि थाहा भयो जागेर,
    सकियो जीवन पैसाकै पछि भागेर।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल

    २८)
    युद्धको बाटो त्यागेर सारा सुमार्ग खोजेर,
    मिलेर आज लम्कनु सबै विकास रोजेर ।
    ✍️
    आर्त अकुलीन

    २९)
    बाँच्नु पनि किन पर्छ ती निमुखाहरू ?
    मस्तिमा बाँचेकालाई लैजा काल बरु ।
    ✍️
    जी.वि.चिन्तन घाेराही-१४ दाङ
    २०८०/०८/१६ बिहान ८:१४

    ३०)
    झरेका मरेका के कुरा गर्नु ?
    वाक्क लागेमा वैतरणी तर्नु ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    ३१)
    बटुल्नु पर्छ धनसम्पत्ति आफ्नो पालो आउँदा,
    पछि के हो अहिले डाडु पन्यु आफैँ समाउँदा ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ३२)
    अधुरै हुन्छन् उत्कट इच्छा हुँदैनन् कहिल्यै सिद्ध,
    लालच माथि लालच थपिन्छ भएता पनि ऋद्ध l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    ३३)
    दर्दनाक पीडाहरू लुकाएर बाँचेका छन् कति ?
    लगाउँ मलम ती दर्दमा धर्म हुन्छ मागे जति ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ३४)
    मनु त हो रहर लाग्छ त्यस्तै गनुपर्छ कर्म,
    वर्षात ऋतु बनिदिनू तिमी बुझेर यो मर्म ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे
    जुम्ला

    ३५)
    छायाँ शिशिरको पर्दा, नाङ्गिन्छन् वृक्ष यस्तरी,
    वसन्त फर्किदा भोलि, ठाँटिन्छन् दुलहीसरि।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर

    ३६)
    रहर पालेर मात्र के गर्नु सकिन्न पूरा गर्न,
    ढकमक्क फुल्ने रङ्गीचङ्गी फूल पनि पर्छ झर्न ।
    ✍️
    चूडा निर्भीक
    गोरखा
    हालःकाठमाण्डौ ।

    ३७)
    आजभोलि देशमा अशान्ति नै अशान्ति छ धेर,
    विकासमा खर्चिने समय त यसै गयो खेर ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ -३

    ३८)
    द्वन्द जनयुद्धमा कति मान्छे मरे मारियो, उपलब्धि केही भएन,
    सत्ताकै लागि दोहोरो भिडन्त जनतामा उपयुक्त सन्देश गएन।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    हाल बारा सिमरा

    ३९)
    रहरको पछि हिँड्ने मान्छे अक्सर दुखी हुन्छ,
    मनका रहर सबै पुग्ने संसारमा कुन छ ?
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज,बाँके ।

    ४०)
    हिजोआज मेरो पनि उराठिलो दिन आयो,
    ओइलिएर झरेको पात डडेलोले खायो।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ४१)
    सङ्घर्ष जीवन हो उतारचढाव आउँछन्,
    हार नमानी अघि बढे सुख पनि पाउँछन् ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    ४२)
    उचाल्नेकाे पछार्नेकाे राज्य भयो हाम्रो,
    तरपनि युद्धभूमि नबनेकै राम्रो ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    ४३)
    सफलताकाे शिखर चुम्ने रहर थियोे कति,
    समयले साथ नदिँदा मन दुख्यो आज अति ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।

    ४४)
    रहरहरू घाइते भए पनि जहर कहिले नखानू,
    मुना पलाउँछ बोटमा, हारेर सत्यानाशतिर नजानू ।
    ✍️
    मोती सुब्बा

    Leave a Reply