साताका तीन लघुकथा- ४७

  • ७ पुष २०८०, शनिबार ०९:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (४७औँ) शृङ्खलाका लागि लघुकथाकार रामकुमार पण्डितको लघुकथा ‘गाउँसहर’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘श्रीमती’ र लघुकथाकार सुनिता निरौला पौडेलको लघुकथा 'निर्णय’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः गाउँसहर

    ✍️ रामकुमार पण्डित
    चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्यो- “आफ्नो खबर सुनाउनु न पानीजी !”

    त्यो एकमुठी पानीले भन्न सुरु गर्‍यो- “जब म गाउँको छेउबाट बग्दैथिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति कति ।”

    त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्‍यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आएतिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्यो- “अनि त्यसपछि के भयो ? सुनाउनु न !”

    “मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिँचाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभए भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।”

    “सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने, धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्‍यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे ? म सोचमग्न छु ।”

    का.म.पा ६ सिमलटार ।
    (रचना मिति: २०८० मङ्सिर २१ गते )

    २)
    लघुकथा: श्रीमती

    ✍️ तुलसी पण्डित
    “परिवारको नाममा मेरी एक आमा हुनुहुन्छ । विवाहपछि उहाँलाई माया गर्ने भए म तिमीसँग विवाह गर्छु । माया नगर्ने भए म तिमीसँग विवाह गर्न सक्दिनँ ।”
    “हजुरले यो के भन्नुभएको ? घरमा पालिएको कुकुरको त कति माया लाग्छ, झन् आमा । म माया नगरौँला र । ती आमा पनि मेरी आमा नै हुन् ।”

    धनेलाई चित्त बुझ्यो । धने र तिलमाया बिच विवाह भयो । ती जोडी अति नै मिल्थे । आमालाई पनि दुवैले अति माया गर्थे ।

    केही समयपछि धने एक बिहानै काम छ भन्दै बाहिर गयो । जानेबेलामा धनेले भन्यो ।
    “हेर तिलमाया ! म अहिले केही साथीहरुलाई भेटेर आउँछु । म आएपछि खाना खाएर तिमी र म बाहिर घुम्न जाउँला ?

    “हस् हुन्छ ।”

    धने घर आउन ढिला भयो । बुहारीले आमालाई भात खान दिइन् । आफू धनेको प्रतीक्षामा भोकै बसिन् ।

    दिउँसोको बाह्र बजेको थियो, घर हल्लायो । एकैचोटी घर लड्यो । आमा र तिलमाया घरभित्र पुरिए । धने हस्याङफस्याङ गर्दै घर आयो । हेर्छ घर भित्र आमा र श्रीमती पुरिएका । ऊ रुन कराउन थाल्यो । बाटोमा हिड्दै गरेका उद्दार टोली आए । दुवैको खुट्टा बाहिर देखिएको थियो । उद्दार टोलीले ‘ पहिले बुढीमाउलाई निकालौँ भन्दै सबै कुरा पन्छाउन थाले । धनेले गएर छेक्यो ।

    “किन छेकेको ? आमा जिउँदै हुनुहुन्छ । हामी उहाँलाई चाँडै गरेर निकाल्छौ । एक घण्टामा सहजसँग निकाल्न सकिन्छ ।”

    उसले श्रीमती तिलमायालाई देखाउँदै भन्यो- “एक घण्टाामा ऊ मर्न सक्छे । पहिले उसलाई निकाल्नु न !”

    ३) लघुकथा: निर्णय

    ✍️ सुनिता निरौला पौडेल
    “घाम यति माथिसम्म आउँदा नि नउठ्या ! यो केटीको के चाला हो ?” आमाले छोरीमाथि रोष प्रकट गर्दै भन्नुभयो ।

    “आमा ! राति अबेरसम्म निन्द्रा लागेन । बिहानीपखमात्र आँखा झ्याप्प लाग्यो, एकैछिन सुत्न दिनु न !” छोरी अझै कोल्टे फर्केर सुतिन् ।

    “यसरी अबेरसम्म सुत्नेले के गरी घर खालान् ! के के न गर्छु भन्छे, खै ? पत्यारै लाग्नछाडिसक्यो मलाई त !” आमा निराश अनुहार लिएर भान्सातिर पस्नुभयो ।

    ‘आँफूखुसी सुत्न र उठ्न पनि नपाउनु ? अब त म बुझ्ने भइसकेँ । केही गर्छु पनि भनिरहेको छु; बुझ्दै बुझ्नुहुन्न आमाले । यसरी म कति दिनसम्म साँगुरिएर बस्ने ?’ मनमनै सोच्न थालिन् उनी । र, साथीहरूसँग फोनबाट कुराकानी गरेर बाहिर जाने विचार गरिन् ।

    “आमा, म अब बाहिर जाँदैछु । भोलिको टिकट छ ।” भन्दै गर्दा “किन जानुपर्‍यो, विदेश छोरी ? कसरी यति छिटो निर्णय गर्‍यौ ?” कारुणिक शब्दले भन्नुभयो आमाले ।

    “मैले के गर्दा राम्रो, के गर्दा नराम्रो हुन्छ भन्ने आफ्नो निर्णय आफैँ गर्नसक्ने भएँ आमा ।” भनेर घरबाट बिदा भइन् । उहाँले आँखाभरि आँसु टिलपिल पार्दै भित्र पस्नुभयो ।

    भक्तपुर : राधे राधे, निकोशेरा ।
    २०८० – ०९ – ०४ गते ।

    Leave a Reply