साताका तीन लघुकथा- ४६

  • २९ मंसिर २०८०, शुक्रबार १९:४५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४६औँ) शृङ्खलाका लागि लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘अनुसरण’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘बाध्यता’ र लघुकथाकार एकल यात्रीको लघुकथा ‘दोष’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: अनुसरण

    ✍️ एलपी पराजुली
    “छोराको कल आउँदा कि त बाथरूम छिर्नु हुन्छ कि त बाहिर निस्कनु हुन्छ । आजकल के भएको छ, तपाईंलाई ? राम्रोसँग बोल्नु नै हुन्न । छोराको कल आएको छ, म धमाधममा छु । एकछिन नातिसँग कुरा गराउँनू न, आफू पनि बोल्नू ।”

    बुढीको हातबाट मोबाइल समाएर उसले चुपचाप पल्लो कोठामा खेल्दै गरेको नातिको अगाडि राखिदियो । चारवर्षे नाति अष्ट्रेलिया बस्ने आफ्ना बाबाआमालाई देखेर भिडियो कलमा रमाउन थाल्यो । ऊ भने भित्तो हेरेर टोलाउन थाल्यो ।

    “हजुरबुवा, मेरो बाबासँग बोल्नु न एकछिन !” नातिले मोबाइल तेर्स्याएपछि उसले झसङ्ग हुँदै मोबाइल समात्यो र हत्तपत्त क्यामेरा बन्द गरेर “हेलो” भन्यो । उसले भिडियोमा छोरालाई देख्यो तर छोराले उसलाई देखेन ।
    “बाबु कता गयो ? लड्ला है बाबा ! राम्ररी हेर्नू .. ।”

    मुखमा आएको अमिलो पानी घुटुक्क निल्दै उसले “हस्” भनेर फोन काट्यो । कानमा गुन्जिरहेको थियो एक महिना अघिको छोरासँगको अन्तिम वार्तालाप ।
    “घरबाट गएदेखि हाम्रो सन्चो बिसन्चो, गाह्रो अप्ठेरो केही सोध्दैनस् । केवल आफ्नो छोराको मात्र चिन्ता गर्छस् । तेरो लालनपालनका निम्ति मैले मेरा बाबुआमा त्यागेँ, परिवार त्यागेँ, सकिनसकी पढाएँ, लेखाएँ, दु:ख गरेर विदेश पठाएँ तर आज मेरो कुनै सम्झना छैन । के यही हो त छोराको कर्तव्य ?”

    छोराले जवाफ फर्काउँदा ऊ भित्तामा टाँगिएको आफ्नै बाबुको तस्बिर हेरेको हेर्‍यै भयो । उसको विगत चलचित्रझैँ आँखा अगाडि घुम्यो । छोराको व्यङ्ग्यात्मक वचन कानमा गुञ्जियो ।

    “बाबा ! पारिवारिक सम्बन्ध र कर्तव्यको पाठ, मैले तपाईँकै व्यवहारबाट सिकेको हुँ । तपाईँले जे जे गर्नु भयो; मैले पनि त्यहीँमात्र गरिरहेको छु । पुत्रले पिताको अनुसरण गर्नु गलत हो र ? “
    कपन, काठमाडौं
    २२ मंसिर २०८०

    २)
    लघुकथा: बाध्यता

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’
    बिहानी प्रहर । घामको लाली आँगनभरि छरिएको थियो । घरआँगन सफा गर्दै गरेकी रश्मीको मन भने खल्लो थियो ।
    चोटाबाट दौडिँदै आएर अङ्गालो हाल्दै छोरीले भनिन्- “आमा ! आज तपाईँ र बाबाको विवाह भएको दिन । happy wedding anniversary !”

    आमाले भनिन्- “छोरी ! तिमी त सानै छ्यौ, कसरी थाहा पायौ ?”
    “बुबाले फोन गरेर भन्नुभएको । उहाँले यो पनि भन्नुभयो कि आमालाई मनपर्ने मिठाई किनेर खुवाऊ । आमालाई माया गर ।”

    छोरीको कुराले रश्मीको आँखाबाट बलिन्द्र आँसुका धारा छुटे । नछुटोस् पनि कसरी ! श्रीमान्, विवाह भएको छ महिनामा विदेश उडेको, आज १३ वर्ष भइसक्यो । परदेशबाट दुईवर्षपछि घर आउँदा, गर्भ रहेर जन्मेकी छोरी नै आज ११ वर्षकी भइसकेकी थिई । बिचमा जम्मा दुईपल्ट त घर आए ।

    एकक्षणपछि साउने झरीझैँ आँखाबाट झरेका भेललाई दुई हातले सपक्क पुछी र मन दह्रो बनाएर आफैँले आफैँलाई भनी, रश्मीले- ” आ..! लिन्नँ पीर ! आफ्नै देशमा केही गर्छु भनेर काम थालेकै हो । घाटैघाटा लाग्यो, उल्टै ऋण खेप्नु पर्यो । देश धनी भएको भए, देशमै रोजगार भएको भए, आज कोही पनि विदेशिनु पर्थेन नि !”
    वीरगञ्ज, पर्सा
    रचना: २०८०/०८/२६

    ३)
    लघुकथा: दाेष

    ✍️ एकल यात्री
    “लाैन नि ! आज एकाबिहानै अलच्छिन लगायाे । सुकेकाे ठुटाेमा बसेर पाे कराउन मरेछ ।” सरिताले भनिन् ।

    मीठू हस्याङ्ग फस्याङ्ग गर्दै भित्रबाट बाहिर निस्की । यताउति हेरी सरितामात्र देखी ।
    उसले प्रश्न गरी- “हैन ! किन चिच्याएकाे सरिता ? के भयाे तिमीलाई ?”
    “हेर न मीठू ! ऊ त्याे काग सुकेकाे काठकाे ठुटाेमा बसेर करायाे । राति सपना पनि नराम्रो देखेकी थिएँ । आज के अनिष्ट हुने हाे, कुन्नि ?” सरिताले भनी ।

    “हैन, तिमी पनि अन्धविश्वासलाई प्रश्रय दिइरहन्छौ । विश्वका मानिस कहाँ पुगिसके, हामी भने अझै सत्रौँ शताब्दीतिर छौँ । अब यसरी हुन्न । हामी परिवर्तन हुनुपर्छ ।” मीठूले सम्झाउँदै थिई ।

    सरिताले मीठूकाे कुरा नसुनेझैँ गर्दै भनी- “ए छाेरी ! एक अम्खोरा पानी ले ले; सुनपानी छर्केर दाेष कटाऊँ ।”

    २०८०/०८/२२ गते ।
    मन्थली १३ रामेछाप ।

    Leave a Reply