साताका तीन लघुकथा- ४५

  • १७ मंसिर २०८०, आईतवार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४५औँ) शृङ्खलाका लागि लघुकथाकार घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को लघुकथा ‘यो कस्तो सम्बन्ध’, लघुकथाकार म्यामराज राईको लघुकथा ‘रमणको निर्णय’ र लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘आश्रम’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: यो कस्तो सम्बन्ध

    ✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’
    बाजा बजाएरै परम्परागत रूपमा भएको थियो, दीपकको बिहे दीपासँग । बिहेपछिका ६ महिना, उनीहरूको सम्बन्ध सुखद नै रह्यो । मध्यपूर्वि देश बहराइनका लागि दीपकको भिसा लाग्यो । महिनाको १ लाख कमाउन बहराइन उड्यो, दीपक ।

    दुई वर्ष बहराइन बसेपछि दीपक घर फर्कियो । उसले दीपालाई भन्यो- “मेरो यो मन र शरीर तिम्रैलागि चोखो छ । अब त विदेश पनि फर्कन्नँ ।”

    दुई वर्ष अघि उसलाई निकै माया गर्ने दीपा तर अहिले किन हो मरुभूमिझैँ बनेकी थिई, दीपकका लागि । उसका दिनहरू असमञ्जस ढङ्गले र रातहरू चिसै बिते ।

    एक बिहान ४ बजेतिर दीपक झस्किएर ब्युँझियो । एउटै कोठाको अर्को पलङमा सुतेकी दीपा, ओछ्यानमा थिइन । सोच्यो, ‘रेस्टरुम पसी होलिन् ।’ ऊ फेरि निद्रामा पर्यो । फेरि ब्युँझँदा बिहानको ६ बजिसकेको थियो । उसले आफ्नो ओछ्यान छोड्यो र रेस्टरुममा पस्यो । हातमुख धोयो । भान्सामा पस्यो । त्यहाँ टेबलमा मर्निङ टि थिएन । जबकि हरेक बिहान उठ्दा उसले टेबलमा बाफ उडिरहेको चियाको कप देख्थ्यो र देख्थ्यो आफ्नी दीपालाई ।

    उसले घरका सबै कोठा चहार्‍यो, वरपर घुम्यो, बाहिर गयो, करेसाबारी नियाल्यो, बाथरुममा हेर्‍यो तरपनि दीपालाई कतै देखेन । डङ्ग्रङ्ग ओछ्यानमा पल्टियो । जुरुक्क उठेर सिरानी पल्टायो । त्यहाँ एउटा कागजको चिर्कटो थियो ।

    उसले त्यो चिर्कटो खोलेर पढ्यो- “दीपक, तिमीले मलाई छोडेर विदेश हान्निएपछि तिम्रो अभाव उही मेरो स्कुले प्रेमीले पूरा गरेको हो । विदेश नजाऊ, यहीँ दुखसुख बाँचौँला भनेकै थिएँ तर सुनेनौ, टेर्दै टेरेनौ । म तिमीबाट धेरै टाढा गैसकेकी छु । मलाई धोखेबाज नभन्नू ल ! फ्रिजमा तिमीलाई दुई दिनलाई पुग्ने खाना पकाएर राखिदिएकी छु, खानु । यो बिटुलो शरीर तिमीसँग भएर अब के गर्नु ! मेरो कोख उसैले उर्वर बनाइसक्यो !”

    ठेगाना : राप्ती नगरपालिका-८, चितवन
    रचना मिति : २०८० कार्तिक १५ गते ।

    २)
    लघुकथा: रमणको निर्णय

    ✍️ म्यामराज राई
    “साबार्जे बुढालाई हप्तादिन पुग्ने पिण्ड दिएछन् रे नि, बुवा हजुर !” दमनले गाउॅंको भाइसित फोनमा बोलेको प्रसङ्ग निकाल्यो ।
    खुत्रुके हल्लाउॅंदै पुन: बोल्यो- “हजुरको लागि झन् जोडा साता जति पुग्ने जम्मा हुनै लाग्यो ।”

    रमणले केही नबोली छोरोलाई सुनिरह्यो मात्र । आफ्नो लागि खुत्रुकेमा जम्मा हुँदै गरेको थाहा पाएर मनमनै मुस्कुरायो ।

    “मदेखि रिसाइसेको हो र, बुबा हजुर ?”
    “छैन । किन रिसाउनु ?” आफ्नो ओछ्यानतिर नजर डुलाउॅंदै छोटोमा छोरोको जवाफ फर्कायो ।

    दमन काममा निस्कियो । तोकिएको समयावधि काम गरेर साँझपख फर्क्यो । एउटा मोहर हातमा खेलाउॅंदै खुत्रुकेतिर सरासर गयो । तर, राखेको ठाउॅंमा खुत्रुके थिएन । उसले कोठाचोटा खोजे पनि भेटेन ।
    “बुबा हजुरले खुत्रुके देखिसियो ?”
    देखेँ भन्ने सङ्केतमा रमणको टाउको हल्लियो । वातावरणमा मौनता छायो ।

    नयाँ सिरक, डसना सुम्सुम्याउॅंदै छोरोसॅंग रमणले नै मुख खोल्यो- “मरेर पिण्ड खानुभन्दा बाँचुन्जेल न्यानो ओछ्यानमा सुत्न मन लाग्यो ।”

    हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल – जापान)

    ३)
    लघुकथा: आश्रम

    ✍️ श्रीकृष्ण पौडेल

    “कति कचकच गर्न सक्छन् यी बुढाबुढी ? आफू नसक्ने भएपछि त चुप्प लागेर बसे हुने नि ! घरी तातोपानी भनेको छ घरी चिसोपानी भनेको छ । म तिनीहरूको नोकर हो र ? म त सक्दिनँ, यी बुढाबुढीको बुहार्तन सहन । खुरुक्क लगेर आश्रममा राखिदेउ है बुढा; नत्र त म माइत गएर बसिदिन्छु ।” आहुती झर्किँदै बोलिन् ।

    “हैन के भनेकी आहुती, तिमीले ? आफूलाई जन्मदिने आमाबाबुलाई म कसरी आश्रममा लगेर राख्न सक्छु ? यस्तो कुरा नगर है मसँग” षडानन्द बोले ।

    “म अरू केही जान्दिनँ, तिम्रा बाउआमाको सम्पत्ति छिट्टै तिम्रो नाममा गरेर तिनीहरूलाई आश्रममा पठाऊ । नत्र…”

    “बाआमा ! हजुरहरूको वृद्धावस्था भैसक्यो । मैले एउटा उद्योग खोल्न लागेको अलिकति पैसा पुगेन, त्यसैले हजुरहरूको नामको जग्गा मेरो नाउँमा गरिदिनु भयो भने त्यसैलाई धितो राखेर कर्जा लगानी गर्न हुन्थ्यो के भन्नुहुन्छ ?” भन्दै चिप्लो पाराले षडानन्दले बाबुआमा लाई फकायो ।

    “तँ बाहेक हाम्रो नै पो को छ र ? जे गर्ने हो गर त नि । हाम्रो नाउँको जग्गा तेरो नाउँमा गरिदिउँला ।”

    बाबुको मुखबाट बोली झर्न नपाउँदै उसले बाबुआमालाई मालपोत कार्यालयमा लगेर जग्गा पास गरेर ल्यायो । अनि एक हप्ता पछि एकदिन बिहानै षडानन्दले आमाबाबुलाई पशुपतिनाथको मन्दिर लैजाने भन्दै गाडीमा राखेर वृद्धाश्रम पुर्‍यायो ।

    “हजुरले बाबुआमालाई कुन तहको आश्रममा राख्न खोज्नुभएको हो कुन्नी ?” संचालकले सोधे ।
    “मैले त तपाईंको कुरा बुझिनँ, नि !” षडानन्दले असरल्ल पर्दै प्रति प्रश्न गर्‍यो
    हजुरले पचास लाख रकम जम्मा गर्नुहुन्छ भने उहाँहरुले पहिलो तहको सेवा सुविधा पाउनुहुन्छ । दश लाख जम्मा गर्नुभयो भने दोस्रो तहको सेवा सुविधा पाउनुहुन्छ । पाँच लाख मात्रै जम्मा गर्ने हो भने उहाँहरूले खाने र बस्ने सुविधा मात्र पाउनुहुन्छ । लत्ता-कपडा, भेटी, दान, दक्षिणा, इच्छा लागेको खान र मठ मन्दिर जाने आउने ब्यवस्था हजुरहरूले नै गरिदिनु पर्छ । कुन तहमा राख्नुहुन्छ हजुरकै विचार ।”
    सञ्चालकका कुराले षडानन्द खङ्ग्रङ्ग भएर डङ्ग्रङ्ग भुइँमा ढल्यो ।

    Leave a Reply