पुस्तक समीक्षा

-वसन्त अनुभव
समीक्षक
टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने विधान छ । टुक्काको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्याएर समापन गर्दछ । यो ५ देखि २७ अक्षर सम्ममा लेख्न सकिन्छ । टुक्का कविता छ्न्द र स्वछन्द दुवै शैली र साहित्यका सबै रसमा लेख्न सकिन्छ ।
पछिल्लो समय पाठकहरूको रुचि लामा लामा सृजनामा भन्दा छोटा छोटा सृजनामा रमाउने गरेकाले पनि साहित्यमा छोटा र छरिता विधा उम्रिएका र हलक्क बढेर आएका छन् । जस्तो उपन्यास, कथाको साटो लघुकथा, महाकाव्य, काव्य, लघुकाव्यको साटो लघुत्तम काव्य- टुक्का, उदक, बाछिटा आदि मौलाइरहेका छन् ।
टुक्का कविताको विजारोपण धादिङ धुनिवेँशीका वरिष्ठ टुक्काकार एवम् साहित्यकार ताराप्रसाद चापागाईँले वि.स.२०७७ साउन २५ मा गर्नुभएको थियोे । विजारोपण सँगै विभिन्न साहित्यकार, साहित्यप्रेमीहरूको साथ र हात पाएर टुक्का छोटो समयमै हर्लक्क मौलाएर आएको छ । पछिल्लो समय टुक्का कविता लेख्ने सर्जक र पढ्ने पाठकको सङ्ख्या तीब्र गतिमा बढ्दै गएको पाइन्छ ।
'महक' कृतिका कृतिकार म्यामराज राईको जन्म पिता जोगबहादुर राई र माता आश बुङ राईको चौथो सन्तानको रूपमा वि.स. २०४४ साल असार १२ गते हतुवागढी- ६, होम्ताङ, भोजपुरमा भएको हो । उहाँले धनकुटा बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकसम्मको शिक्षा हासिल गर्नुभएको छ । ६० दशक देखि नै साहित्य लेखनमा लाग्नुभएका राई नमस्ते आधुनिक लघुकथा मञ्च र किराँत राई वान्तवा खिमको आजीवन सदस्य हुनुहुन्छ । अत्यन्त भद्र, शालीन, मिलनसार व्यक्तित्व राई अहिले वैदेशिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ ।
प्रकाशनको हिसाबले प्रस्तुत 'महक' टुक्का कवितासङ्ग्रह उहाँकोको दोस्रो कृति हो । यसभन्दा पहिले उहाँले 'हाम्रो बाटो' नामक लघुकथासङ्ग्रह, २०७९ प्रकाशित गरिसक्नुभएको छ । कथा, कविता, लघुकथा, मुक्तक, गजल लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार राईका सृजना अत्यन्त सशक्त र चोटिला हुने गर्दछ्न् ।

महक टुक्का कविता सङ्ग्रहको संरचनात्मक कुरा गर्नुपर्दा यसमा कुल १ सय ३० पृष्ठहरू (कभर पेज सहित) रहेका छन् । जसमध्ये १ सय १५ पेजमा टुक्का कविताहरू रहेका छन् भने बाँकी पेजमा विभिन्न व्यक्तित्वहरूको शुभकामना, कृतिकारको भनाइ, विषयसूची लगायतका कुराहरू रहेका छन् ।
अञ्जना छिलिङ राई प्रकाशक र टुक्का साहित्य समाज नेपाल वितरक रहेको महकको आवरण दिलिप राईले, कम्प्युटर सुवास मगरले र ग्लोबल प्रिन्ट कनेक्सन, काठमाडौँले मुद्रण गरेको थियोे । पहिलो संस्करणमा ५ सय प्रति प्रकाशन गरिएको थियोे भने पुस्तकको मूल्य तीन सय राखिएको छ ।
आवरण पृष्ठ निकै आकर्षक, रोचक र सार्थक रहेको छ । फक्रिएको फूलबाट निस्किएको महक (बासना) टाढा टाढा फैलिएको दर्शाइएको छ ।
महक कविता सङ्ग्रहको मुख्य भाग (१ सय १५ पृष्ठ) लाई ३ भागमा बिभक्त गरिएको छ । जसको पहिलो भाग 'क' (९७ पृष्ठ) मा क्रमशः ५ देखि २७ अक्षर सङ्ख्या भएका ९ सय ६८ वटा स्वछन्द टुक्काहरू रहेका छन् ।
त्यस्तै दोस्रो भाग 'ख' को १६ पृष्ठमा वसन्ततिलका, भुजङ्गप्रयात, शालिनी, रूपामाली, महालक्ष्मी, तोटक लगायत १४ वटा छन्दका १ सय ३९ टुक्काहरू रहेका छन् ।
त्यस्तै अन्तिम एवम् तेस्रो भाग 'ग'को २ पृष्ठ मध्ये पहिलो पृष्ठमा नेपाली अनुवाद सहित वान्तवा राई भाषाका ३ वटा टुक्का र दोस्रो पृष्ठमा जापानी भाषाको १ वटा टुक्का नेपाली अनुवाद सहित रहेका छन् ।
प्रस्तुत पुस्तक 'महक'मा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय ऎतिहासिक, समसामयिक विषयवस्तुमा रहेर आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
टुक्काकार राईका सृजनाहरू अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् । उहाँका टुक्काहरूमा मातृप्रेम, भातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको चासो, चिन्ता, सचेतना आदि भेटाउन सकिन्छ ।
– अन्धकार जति महत्त्व प्रकाशको छ, त्यत्तिकै महत्त्व फूलको महकको पनि हुन्छ भनेर बताउनु भएको छ ।
अँध्यारोमा महत्वपूर्ण बत्तीको चहक,
कसलाई मन पर्दैन फूलको महक ।
– उहाँका टुक्कामा मायाप्रेम, अनुरागका कुरा भेटाउन सकिन्छ ।
लोभलाग्दो मृगनयन,
पाए हुन्थ्यो निजी चयन ।
– प्रेममा फसाउने प्रयास गर्ने र सफल नभएमा झुठो मुद्दा लगाउने, जेल पुर्याउने पछिल्लो समय विकसित घटना प्रवृति प्रति उहाँले चोटिलो व्यङ्ग्य दाग्नुभएको छ ।
पिरतीको खेल,
नाता बिग्रे जेल ।
– पसिनाको कुनै मूल्य नभएको स्वार्थी, धोखेबाज, मौकापरस्त मान्छेहरूको मात्र प्रगति देखिने गरेकोमा उहाँको आक्रोश छ ।
काम गर्ने भोकाए,
मौका ढुक्ने मोटाए ।
– विगतमा देखिएको कोरोना महामारीलाई लिएर उहाँले आफ्नो पीडा, कुण्ठा, भोगाइ, सल्लाह र सुझाव टुक्का मार्फत व्यक्त गर्नुभएको छ।
पापी यो कोरोनाले,
दु:ख पायो साराले ।
– पछिल्लो समय देखापरेको राजनीतिक विसङ्गति, बेइमानी र नेता प्रतिको वितृष्णा प्रति उहाँका टुक्काहरूले व्यङ्री गरेका छन् ।
जन्ताले विश्वास गर्ने,
नेताले ढुकुटी भर्ने ।
चुनाव आयो गाउँ पस्ने,
जितेपछि त छुरा धस्ने ।
मलाई दल र दलदल उस्तै लाग्छ,
नभईनहुने धेरै हुँदा चैन भाग्छ ।
देश विकासमा लाग भनी चुन्यौँ राजनेताहरू,
लाज लाग्छ हेर्नेलाई, कुकुरले हड्डी छोड्छ बरू ।
– उहाँले आफ्नो टुक्काप्रति मोह यसरी प्रकट गर्नुभएको छ ।-
आज मिठो सपना देखेँ,
सपनामा नि टुक्का लेखेँ ।
– उहाँका टुक्काहरूमा आमाप्रतिको स्नेह, प्रेमका भावहरू यसरी छचल्किएका छन् ।
यति दह्रो हुन्छ आमाको काख,
जति बलियो मान्छौ त्यो अग्राख ।
मन मेरो आमाबा र घरले जल्छ,
जति रफ्तारमा हुरी बतास चल्छ ।
– देशमा विद्यमान अपराध, अराजक प्रवृति विरुद्ध आवाज उठाउँदै उहाँले हरहमेशा डटेर सामना गर्न आव्हान गर्नुभएको छ ।
हत्या हिंसा र बलात्कार,
विरोध गरौँ लगातार ।
चहलपहलमा बेथिति,
बहिष्कार गरौँ कुरीति ।
कानुन जरुर हुनुपर्छ अनि सही कार्यान्वयन,
स्थानीयबाट शुरु गरौँ हाम्रो नभई राम्रो चयन ।
– जति नै शिक्षा दीक्षा लिएपनि नैतिकवान र संस्कारी बन्न नसकेको प्रति उहाँको गुनासो रहेको छ ।
शिक्षा लिए शिक्षित भएनन्,
दीक्षा गरे संस्कारी बनेनन् ।
– हाम्रा मौलिक रीतिरिवाज, कला, संस्कृति, परम्पराको ह्रास हुनुमा हामी स्वयम् दोषी भएको उल्लेख गर्नुभएको छ ।
तरुल, रोटी, मकर मेला,
भुलेछौँ पिज्जा खाएको बेला ।
– जति प्रविधिको सदुपयोगले हामीलाई नजिक बनाएको छ । हरेक काममा सजिलो बनाएको छ । त्यत्तिकै प्रविधिको दुरुपयोगले हाम्रो समाज, परिवार भाड्ने, घरबार तोड्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रविधिले नजिक ल्यायो यो संसार,
गलत प्रयोग बिगार्यो घरबार ।
– उहाँको टुक्कामा अन्तर्राष्ट्रिय चासो, चिन्ता पनि भेटाउन सकिन्छ।
जेलेन्स्कीको चाहना युद्ध विराम गर्ने,
पुटीनको चाहना छ सबै शक्ति हर्ने ।
– पछिल्लो समय निकै मौलाउँदै आएको अनियमितता, भ्रष्टाचार विरुद्ध उहाँको चासो, चिन्ता र आक्रोश रहेको छ ।
कहिल्यै भरी नहुने कस्तो बोक्छ्न् गोजी ?
सोच्दा मात्रै छक्क लाग्छ गर्छन् मनमोजी ।
– नेपालमा प्रचलन नै बन्न पुगेको असारे विकास प्रति उहाँले चोटिलो व्यङ्ग्य गर्नुभएको छ ।
कालोपत्रे उप्कन्छ नपुग्दै महिना दिन,
मापदण्ड थाहा हुँदा नि बन्छन् नेत्रहीन ।
एघार महिना सुतौँ हामी मज्जाले निद्रा पुग्ने गरी,
विकास गर्न असार छ नि फिँजाइदिउँ आँखाभरि ।
– भ्रष्ट, कामचोर, गद्दार नेता नचुन्न, सोचेर बुझेर मात्र आफ्नो अमूल्य मत दिन उहाँको आग्रह रहेको छ ।
गद्दार नेता चुनिनुको हो यो प्रतिफल,
भोट हाल्दा मतदाताले सोचौँ पलपल ।
– सबैको आ-आफ्नै पिर, व्यथा हुन्छन् । खाली मात्रामा कम वेशी हुने उहाँको मत रहेको छ ।
पिर व्यथा कस्को हुन्न दुनियाँमा हेर ?
सानो ठुलो बेग्लै होला सम्झ एकफेर ।
– देशकै खम्बा मानिने युवाशक्ति दिनानुदिन विदेश पलायन हुने गरेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै कर्म गरेर नेपाल आमा सिगार्न उहाँको अनुरोध रहेको छ।
पाखो बारी बाँझो बन्यो, युवा शक्ति खाडी,
मिहिनेत केही छैन चाहन्छ ऊ गाडी ।
ल्हासा किन जानु प्रिय ? सुन फल्छ खेतभरि,
पौरखले भाग्य बन्छ माया बढ्छ अजम्मरी ।
टुक्काकार राईले हाम्रा मौलिक चादपर्वहरू, राष्ट्रिय विभूतिहरू लगायत विविध विषयमा सुन्दर टुक्काहरू पस्कनुभएको छ । समाजमा देखापरेका बेथिति, कुरीतिहरू उजागर गर्दै सभ्य र शालीन तरिकाले हटाउन आह्वान गरेका छ ।
यसरी टुक्काकार म्यामराज राईको महक टुक्का कवितासङ्ग्रहमा जीवन र जगतप्रतिको चासो, चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ ।
यति भनिरहँदा उहाँको यस सङ्ग्रह कुनै त्रुटि वा दोषरहित छ भन्ने चाहिँ होइन । यद्यपि पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । केही टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ ।
समग्रमा प्रस्तुत 'महक' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय सङ्ग्रह बन्न पुगेको छ । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्यको उन्नयनमा ईटा थप्ने कार्य गर्नुभएकोमा कृतिकार राईलाई हार्दिक बधाई दिन चाहन्छु । साथै कृतिको भव्य सफलताको शुभकामना ! धन्यवाद !
कृति: महक
विधा: टुक्का कविता सङ्ग्रह
कृतिकार: म्यामराज राई
प्रकाशक: अञ्जना छिलिङ राई
वितरक: टुक्का साहित्य समाज, नेपाल
प्रथम संस्करण: २०८० साल (२०२३)
मूल्य: रु. ३००

