
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४४औँ) शृङ्खलाका लागि लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘नर्कको ढोका’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘मैलो मन’ र लघुकथाकार तारा श्रेष्ठको लघुकथा ‘कारण’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा : नर्कको ढोका

✍️ तुलसी पण्डित
आज हिरे अस्पताल जादैछ । ऊ अति खुसी देखिन्छ । यो खुसी लिन उसलाई निकै हम्मे हम्मे परेको थियो । उसकी श्रीमती चमेलीले विरोध गरेकी थिइन्-
“तपाईँको सोचाइ गलत छ । कम्सेकम दुईवटा त हुन दिनुहोस् । अझ छोरो नै हामीलाई चाहिन्छ । छोरो कुर्नुपर्छ ।”
“हेर छोरो भन्दाभन्दै छोरी मात्र जन्मिए भने हाम्रो अवस्था भयावह हुन्छ । सबैलाई उच्च शिक्षा दिन गाह्रो हुन्छ । एउटै सन्तान भए राम्रो बनाउन सकिन्छ । फेरि छोरा भन्छ्यौ । ल भन त कसका छोरा बाबुआमाको साथमा छन् अहिले ?”
अस्पतालमा पुगेको हिरेसँग गाउँका पण्डितको भेट भयो ।
“हिरे, तँ यहाँ ? किन आइस् अस्पताल ?”
“काम छ मेरो यहाँ ।”
“खुलस्त भन् न ! तँ किन आएको ?”
“नियोजन गर्न ।”
“केरे, नियोजन गर्न रे ? एउटै छोरीमा नियोजन गर्ने ?”
“हो हजुर ।”
“यो हुँदैन । स्वर्गको ढोका खुला राख्न छोरो चाहिन्छ । छोरो नभइन्जेल कुरेर बस् ?”
” खै के भनौँ पण्डित बाजे कुरा जटिल र भयावह हुँदैछ ।”
पण्डित आश्चर्यमा परे । उनले भने- “होइन के भन्छ यो ?”
“होनि गाउँको भोगतेको छोरो बाबा वर्षदिनसम्म थला पर्दा भेट्न आएन । बाबुले छोराको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो भन्थे । कति खबर गरे आएन ।” अझ उसले भन्यो । ‘म विदेशमा छु । आउने फुर्सद छैन ।”
“अनि के भो ?”
बाबा मरेपछि तुरुन्त आइज भनेर बोलाए । उसले भन्यो-
“म नआइकन लास नजलाउनू ।’ महिनौँ अस्पतालको शवगृहमा राखे लास । समयमा लास जलाउन पाइएन । अब भन्नुहोस् त छोरो भएर स्वर्गको ढोका खुल्यो कि नर्कको ।”
२)
लघुकथा: मैलो मन

✍️ सुरेशकुमार पाण्डे
तीन वर्षसम्म खाडीको बसाइँपछि बिरे घर फर्कियो। घरमा ताल्चा लागेको थियो। त्यो देखेपछि उसले भुपेलाई सम्झियो। भुपेकी स्वास्नीले उसले पठाएको सबै धन कुम्ल्याएर अर्कैसँग भागेकी थिई।
‘उफ! कतै बिना पनि, हैन हैन .. ।’ ऊ डरायो र यताउता हेर्यो।
“ए दाई! यो घरको मान्छि कता गए हँ ?” बिरेले नजिकैको छिमेकीसँग सोध्यो। तर छिमेकीसँग बिनाको आवतजावत नै थिएन।
“खै हामीलाई थाहा छैन।” छिमेकीले सटिक उत्तर दियो।
ऊ झनै डरायो । ‘कतै बिरामी भएर अस्पताल पो गई की’ मनमा यावत् कुराहरू खेलिरहे।
उसले गैह्राबारी सम्झियो- ‘बारीमा त गएकी छैन कतै?’ बिरे बिनालाई खोज्न बारीमा पुग्यो।
जताततै बारीमा हेर्यो तर भेटाएन। निराश भएर घर फर्कियो। घरमा उही ताला झुण्डिएको थियो। ऊ घरमा अडेन। उसले नजिकैको खरकट्टी सम्झियो र त्यहाँ जान हिँड्यो।
बाटैमा बिनासँग जम्काभेट भयो । बिना खरको ठूलो भारी बोकेर आउँदै ठुलो थिई। बिरेको खुसीको सिमा नै रहेन।
‘उफ् ! मेरो मन पनि कति मैलो रहेछ। कति छिट्टै पाप सोचेको।’ उसले मनैमन आफूलाई कोस्यो।
बिनाले खरको भारी आँगनमा फाली । दुवैजना एक अर्कोको अङ्गालोमा बेरिए।
दाङ घोराही १८
१७-११-२०२३,(०१मङ्सिर २०८०)
३)
लघुकथा: कारण

✍️ तारा श्रेष्ठ
“रक्सी पिउने गर्नुहुन्थ्यो वहाँ ? उच्चरक्तचाप थियो कि ?” डाक्टरले विभिन्न अनुमान लगाए। सतिशले सबै नकारे।
“कुनै राेगकाे दबाई सेवन गर्नुहुन्थ्याे कि ?” बिरामी जाँच्दै फेरि डाक्टरले साेधे।
“छैन, उनलाई केही भएकै थिएन । यसरी अचानक यस्तो हाेला भनेर कसरी थाहा पाउनु? उनलाई बचाइदिनुहाेस् न डाक्टर साब! जे जति खर्च लाग्छ, म गर्न तयार छु।” बेहाेस पत्नीतर्फ हेर्दै सतिशले अनुनयविनय गरे।
“वहाँलाई हृदयघात भएकाे हाे। वहाँले कुनै अप्रिय समाचार सुनेकाे हुनुपर्छ। समयमै ल्याउनु भाे नत्र बचाउन गाह्रो थियाे।” डक्टरले सुझाए।
छाेरा अचानक बोले- “ममी माेबाइल चलाउँदा चलाउँदै बन्द भयो! बन्द भयाे! भनेर चिच्याउँदै लड्नुभयो।”
डाक्टरले सोधे- “अनि त्यसपछि के भयो?”
“मैले ममीकाे माेबाइल हेरेँ । लेखिएको थियो- ‘भाेलिबाट सरकारले टिकटक बन्द गर्ने सूचना !’
विराटनगर -६