
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०७ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५६ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
डिभी नै परोस् भिसा लागोस् छिट्टै छाड्नू देश,
हाड छाला उतै घोट्नू ~~~नफुल्दासम्म केश ।
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१)
कदर छैन पढाइको नत व्यापार रोजगार
आसेपासे भरौटे पोस्न क्रियाशील छ सरकार ।
-वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
२)
मेहेनत परिश्रम गर्न विदेशै जानुपरे पनि जान्छु,
फटाहा नेताहरूका झण्डा बोक्नुभन्दा आधापेट नै खान्छु !
- पवन कुमार बुढाथेाकी
काठमाडौँ
३)
समयकाे भेल उर्लियाे परदेशी हेरियाे,
टीका थाप्दा आशीर्वादकाे पनि भाका फेरियाे ।
-ताराप्रसाद चापागाईँ
धुनिबेसी
४)
के छरेऊ बीउ अनि के के भयो परिवेश ?
खुब राम्रो हुन्छ नेपाल युवा जति विदेश ।
-प्रेम थापा “मन”
बागलुङ
५)
सपनाको महल बोकी विदेशतिर गयौ,
आफैँलाई नियाल त कस्ता थियौ कस्तो भयौ ?
-सुशीला थापा
काठमाडौं कागेश्वरी
६)
परदेश खटेको बीस बाइस वर्ष भयो, फुलिसक्यो केश,
अब त फर्किन पाएहुन्थ्यो, आफ्नै मातृभूमी जन्मथलो देश ।
-कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
७)
के गर्नु बाध्यता नयाँ पुस्ताको पनि,
सुझाव नै पाइन्छ देश छाडनु भनी ।
भेष कुमारी लामिछाने
देवदह ०५ , खैरेनी रुपन्देही
८)
बिक्दैन डिग्री पनि त आफ्नो देशमा बस्दा ,
जेनतेन गर्जो टर्छ परदेशमा पस्दा ।
-दुर्गा आचार्य
मोरङ
९)
रहर नभई बाध्यताले बन्यो, उता जाने परिवेश
मनको लहड पुगको भए कहाँ छोडिन्थ्यो आफ्नो देश ।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
१०)
मान्छे बेच्छ नगद लिएर पसिना बग्ने उता,
रेमिटेन्स ढुक्नुको विकल्प छैन तिनको बुता ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
११)
आफ्नो प्यारो आँगन छोडी थिएन जाने मन,
ढुङ्गा, माटो खान मिल्दैन छैन पैत्रिक धन।
-प्रदीप के रिमाल
इटहरी सुनसरी।
१२)
समयको बाध्यताले उरालेर परदेश पठायो,
टीका लगाई आशीर्वादमा समयले लय हटायो ।
-बेदु न्यौपाने, काठमाडौँ
१३)
हाड र छाला घोटेको घोट्यै सेताम्य भयो केश,
राष्ट्रको नीति असल भए कसले छोड्थ्यो देश ।
-गुणनिधि घिमिरे
अमेरिका
१४)
धेरैले सोध्ने गर्छन् के तैँले डिभी भरिस् ?
डिभी पर्यो भने बुझ तँ तँ उतै मरिस् ।
-ध्रुव श्रेष्ठ,
खोटाङ वजार,
हाल नरेफाँट,काठमाडौ ।
१५)
पर्यो डिभी भन्दै नहिडौँ छोडी देश,
आफनै कला संस्कृति आफ्नै भाषा भेश ।
-सागर आँसु
डोटी
१६)
छाती चिरा पार्दैपार्दै परदेश आएँ,
घोटी घोटी हाड यहाँ थोरै दाम पाएँ ।
-डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
१७)
खुल्ला छाडिएको साँढे भन्दा पनि रहेछौ महसुर,
जस्तो भन्न मन लाग्छ हजुर, भन्नु नराखी कसुर ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
१८)
विेदेश छन् छोरा छोरी भन्दै गर्थ्यौ गर्व,
अब रोएर मनाऊ, एक्लै चाड पर्व ।
-पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
१९)
खैरेको देशमा जाँदैछौ तिमी कहिले नझुक्नु,
जन्मभुमिलाई बिर्सेर पनि कहिल्यै नथुक्नु ।
-चिरञ्जीवी श्रेष्ठ,
धनकुटा ।
२०)
डिभी परी विदेश गएमा त हुन्छ उतै तेराे बास,
पढाइ लेखाइ थाेरै भए राम्रो काम पाइन्न खास ।
-राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
२१)
रहर होइन बाध्यताले हो जाने परदेश,
पैसा त कमाउनै परेको छ फुले पनि केश ।
-सरिता सेढाई धादिङ
२२)
भन भन जे भन्न सक्छौ मनपरी भन,
म उडेमा एक्लै खाउला खुसी भइकन ।
-नन्दलाल आचार्य,
बेलका २ सिद्धार्थटोल, उदयपुर ।
२३)
राम्रो मान्छे भन्दा पनि धनी बनेस् भन्छन्,
बल बैँस परै सकी बाँकी दिन गन्छन् ।
-निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
२४)
नेतालाई मोजमस्ती, बिगबिगी सधैँ भ्रष्टचारको,
बिन्ती! अति नै भयो अब त सिर्जना होस् रोजगारको ।
-चन्द्रप्रकाश कमल
तिनाउ -१,कचल,पाल्पा।
२५)
स्वदेशमा अवसर नमिलेपछि के गर्नु,
विदेशिनु पर्यो, थियोे दायित्वको झोला भर्नु ।
-बिके मुखिया
दार्जिलिङ,भारत।
२६)
थाहा हुँदैन कहाँ जाने कहाँ गएर मर्ने,
आशीर्वाद दिनुस् राम्रो देशको गुलामी गर्ने ।
-भुपेन्द्र राना मगर
धादिङ
२७)
परदेश पस्न बाध्य पारे दिएनन् बस्न देशमा,
शासक वर्गहरू बसुन् यहाँ छद्म रूपी भेशमा ।
-बाबुराम पाण्डे
अर्घाखाँची
२८)
आशिष लागोस् विदेश जाने उतैको झैँ बोल्नू,
मास्कले ढाक्दै त्यो मुखुडो उतै गएर खोल्नू ।
-इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
२९)
मरीमरी घाममा डडेर काम गर्दा फुलिसक्यो सबै कालो केश,
युवा परदेश जाँदा नेताको मन ढ्याङ्ग्रो ठोकेन कस्तो परिवेश ।
-अम्विका अधिकारी
झापा बिर्तामोड
३०)
केही सपना बोकेर परदेश लाग्यो,
पुरा गर्न सकिएन जाँगर नै भाग्यो ।
-रितु बुढाथोकी
उदयपुर गाईघाट
३१)
उहिलेका ठुलाबडाको आशिष गइसक्यो हेर्नु खेर,
दसैँको आशीर्वाद हिजोआज परिवर्तन भयो हेर ।
-भगवती दवाडी ,झापा
३२)
कस्तो समय आयो देशका युवा परदेश जाने,
छोरा परदेश गएकै छ अब बसीबसी खाने ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
३३)
विदेशबाट फोन आउँछ, बाबा ममी यतै आऊ,
पाउँदैछे बुहारीले नाति, हेरेर चित्त बुझाऊ ।
-होम प्रसाद नेउपाने
धरान,सुनसरी।
३४)
सानो छँदा प्रगति गरेस् भन्दै आफन्तले आशीर्वादले हाने,
ठूलो भएपछि पाइलैपिच्छे जहिल्यै खाली खुट्टा मात्रै ताने ।
-गणेश नेपाली
बगनासकाली-१,बगनास,पाल्पा।
३५)
हरेक अभागीको खप्परमा चामलको टिको,
विदेश पस्नुभन्दा बबुरो ! गरिबी हुन्छ निको ।
-बि.कुलुङ “रंगबुले”
दार्जिलिङ, भारत
३६)
मुस्कान छर्दै टिका थाप्न बस्नासाथ टस्स,
देश छोड्ने आशिष मिल्दा मुटु घोच्यो चस्स l
-बाबुराम गौतम, गुल्मी
३७)
जीवनकाे मुख्य सार सुखसयल खाेजिहिड्ने मान्छकाे जात,
कल्पनाको सागरमा विदेशिन युवा मिलाउँदै कागजात ।
-प्रद्युम्न चालिसे
३८)
स्वदेशमा साह्रै दु:ख विदेशमा छ रे चैन,
आफ्नै थाङ्ग्रा,भाङ्ग्रा छाडेमा सुख त हुने हैन ।
-G.b. Chintan
३९)
सकिन मैले विरोध गर्न सहदै बस्नु नै पर्यो,
परोस् डिभी बन तिमी, देश बन्ला भन्ने आस मर्यो ।
-सुस्मिता अधिकारी ,काठमाडौँ
४०)
कमाइ राम्रो उतै भाँडा माझेरै, किन बस्नु यहाँ,
भ्रष्टाचारले पराकाष्ठा नाघ्यो, डिभी नै परोस् तहाँ ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाडौँ
४१)
बिचौलियाको रवाफले अर्थतन्त्र ध्वस्त,
एमसीसीको पोको खोल्दै नेता त्यसै मस्त ।
-Deepak Pandey
४२)
नागरिकता बेच्नलाई डिभी भर्नुहुन्न,
आफ्नै देशमा श्रम गरे गरिबीले छुन्न ।
-पद्मा काश्यप पाण्डे
पथरी मोरङ
४३)
देशको स्थिति हेर्दा लाग्छ नेता बनी बसौँ,
पारिवारिक स्थितिले विदेशतिर पसौँ ।
- समुद्र
जल्जला- ७ गण्डकी
४४)
डिभी परी विदेशिए पनि नबिर्सनू है देश,
छिट्टै गरी फर्किहाल्नु नफुलाउनू उतै केश ।
-त्रिलाेचन भण्डारी
मृचीनगर,झापा
४५)
विदेशीको इसारामा चल्ने राजनीति भयो,
युवाशक्ति सबै हाम्रो अरूकै स्वार्थमा गयो ।
-रामशरण न्यौपाने, भक्तपुर
४६)
उमेर पुग्यो रोज अब विदेशको बाटो,
वृद्ध र बालकलाई हो नेपालको माटो ।
-बिके माकजू ।
४७)
आफ्नै भुँडी भरे नेताले, सारा देशै टाट पल्टियो,
विदेश नगई भएकै छैन, भर्नलाई खल्ती यो ।
-ईमान सिंह के.सि.
ब्यास ९ धनुबासे,कलेस्ति तनहुँ
हाल नागार्जुन २,सुन्दरवस्ति, गैरिगाउँ काठमाडौँ ।
४८)
डिभी पर्ला भनेर भरिनँ मैले अहिलेसम्म कुनै वर्ष,
अरूकाे देशमा दु:ख गरेर खान पनि के काे मान्नु हर्ष ।
-कल्पना भण्डारी
सिन्धुपाल्चोक हाल काठमाडौँ
४९)
यसपालि त डिभी पर्ने नै आशिष मलाई दिनु,
अमेरिकाबाट फर्किदा आइफोन दिउँला चिनु ।
-विवश पारदर्शी
झापा,
५०)
सपना पूरा गरौँला अब विदेश पसेर,
नेताकै खल्ती भरोस् हजुर देशमा बसेर।
-Ajay Danuwar
धनगढीमाई न.पा.-४ जयपुर, सिराहा
५१)
उद्योगधन्दा जति सबै बेचे, खाए भाग लगाई,
छिमेकीको गुलामी गरेर खान्छन् समान मगाई ।
-दुर्गा भट्टराई
मोरङ
५२)
नेताहरू सबै भ्रष्टाचारी लौ, छन् आनन्द, ठाँट र कुर्सीको रेसमा,
छैन रोजगार देशमा हेर नगई भएन के गर्नु विदेशमा ।
-राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
५३)
निचोरेर रगत पसिना खोष्टा फिर्ता पठायो,
देशलाई चाहिएन युवाशक्ति सिमा कटायो।
-सुरेशकुमार पाण्डे
दाङ घोराही १८
५४)
यो देशमा युवाको भविष्य ताेडी गर्छन् फुर्ती धेर,
जवान खेदी आफैँले ब्रम्हालुट चाहेका छन् हेर ।
-रामप्रसाद पुरी,बादेल खाेटाङ
५५)
बस विदेशतिरै कहिलेकाहीँ भिडियो कलमा बाेलाैँला,
बुढाबुढी स्याहार गर्न यता गाउँमा वृद्धाश्रम खाेलाैँला ।
-मित्र उराठी गाैतम
तिलाेत्तमा-२, रुपन्देही
५६)
छोराछोरीलाई विदेश पठाउनु पर्ने गराइ दुःखी मन,
गरी खाने वातावरण छैन आफ्नै देशमा के गरौँ ल भन।
-शोभा आचार्य गौतम
काठमाडौ
५७)
दु:ख गरेरै खाउँला बरू विदेश पसेर, भ्रष्टाचारले भुँडी भराैँला देशमा बसेर।
-सहयात्री शाेभा अर्याल
बुटवल , रुपन्देही