साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०४

  • २१ आश्विन २०८०, आईतवार १३:३८ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    गरेर गम्भीर अपराध,——— गए नि जेल,
    भइहाल्छ मिनाहा सकिन्छ चुट्कीमा खेल ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    पैसामा नै बिक्यो हेर मान्छेको इमान जमान,
    सत्ता र पैसा हातमा लिई ठुलाे भए नमान ।
    ✍️
    Sushila Thapa
    २)
    काट्छु मार्छु जेल जान्छु जे गर्छौ गर,
    ठुला टाउके हातमा छन् के को डर ।
    ✍️
    सरिता सेढाई धादिङ
    ३)
    मौलायाे हत्या हिंसा अनि बलात्कार,
    आम माफी दिने छँदैछ सरकार ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ४)
    आफ्नै सरकार पाइहाल्छु आममाफी,
    निर्दोष कति रहेछु स्वागत छ काफी ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ५)
    अपराधीलाई छोड्छ, निर्दोषलाई थुन्छ,
    न आँखा देख्छ सरकार नत कान सुन्छ ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।
    ६)
    अपराधी बचाउँने कस्तो बन्यो हाम्रो संस्कार,
    हामीले नगरे कसले गर्ला खोइ तिरस्कार ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ७)
    तिमीलाई के थाहा मेरो ताकतको खेल,
    हजारौँले खेल्नै नजानी भएका छन् फेल ।
    ✍️
    प्रदीप के रिमाल।
    ८)
    कसैले बुझ्न नसक्ने भए यहाँको मात्र रीति,
    अगुवाहरूकै कारणले पो बिग्रदै छ थिति !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौं
    ९)
    गर्नु पर्दछ जे काम, नेताको गुरु मन्त्रमा,
    पाइन्छ आममाफी हो, नेपाली गणतन्त्रमा।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    १०)
    जेल नेल कानुन आफ्नै पावर हुँदा हातमा,
    हत्या हिंसा सब आममाफी हुन्छ एक बातमा।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ११)
    जति सक्छौ लुट कान्छा देशकाे ढुकुटी लुट,
    घुस ख्वाऊ पावर लगाऊ जेलबाट छुट ।
    ✍️
    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    १२)
    जोसँग नि लडेर दुनियाँ जित्न सकिन्छ,
    जबसम्म यो कानुन उसको साथ दिन्छ ।
    ✍️
    खग्रास
    १३)
    मुला जस्तै काट्दै हिँड्छु मान्दिनँ केही डर,
    ठाउँमा छन् आफ्ना मान्छे मलाई दिने भर ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    १४)
    कहिल्यै खानु नपरोस् कसैको खुसी नै खोसेर,
    घाउ लगाई नपारौँ घाइते रगत सोसेर ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड
    १५)
    हत्यारालाई छोड्न किन सरकारमा नै आउनु पर्‍यो,
    देश चलाउने सरकारले कसरी यस्तो भूल गर्‍यो ?
    ✍️
    पेमा टि लामा,
    सालबारी, सिलगढ़ी, भारत।
    १६)
    घुसखोरी, बलात्कारी र ज्यानमारा, दुई दिनकालागि जान्छन् यहाँ जेल,
    अपराधीले नै देशमा गर्दैछन् शासन, मिनाहा गर्नेछन् चुट्कीमा खेल ।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    १७)
    देशको लगाम आपराधीको हात पर्‍यो,
    भ्रष्टाचार र अपराध सकेसम्म गर्‍यो ।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    १८)
    कानुन जनताको लागि मात्र नेताको लागि हैन,
    दुष्ट सुध्रने कानुन नेपालमा बनेको नै छैन ।
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी
    १९)
    शासनमा पुगोस् आफ्नो पार्टी अपराधीलाई त्यही काफी,
    जस्तै अपराध गरे नि कुनै बहानामा पाउँछ माफी ।
    ✍️
    ध्रुव श्रेष्ठ,
    खोटाङ वजार, हाल काठमाडौँ ।
    २०)
    गाउँ सहर अनौँठो खेल आफैँले देखाए,
    विश्वको सामु कटाई नाक कुनाम लेखाए !
    ✍️
    आर्त अकुलीन
    २१)
    नेपालको कानुन नेताले जानुन्, भन्थे बुढी आमा,
    यस्तै त भयो सरकार अहिले, गुण्डा तिनै मामा ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    २२)
    हुनेखानेले त जोडिदिन्छ गहिरो नाता,
    ठुला जति बनिदिन्छन् अपराधीको गाता ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    २३)
    मुलुकमा कानुन बन्यो व्यापार धन्दा,
    दोषीलाई मिनाहा निर्दोषलाई फन्दा।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ भारत।
    २४)
    शक्तिमा भएपछि जे पनि गर्छन्
    निर्दोष निमुखा पो जेलमै मर्छन् !
    ✍️
    भूषण जंग
    ललितपुर! हाल यूएस!
    २५)
    हत्यारालाई आममाफी भयो अझै प्रोत्साहन,
    बलात्कारी र हत्याराको झन झन बढ्यो मन ।
    ✍️
    पद्मा काश्यप पाण्डे
    पथरी मोरङ
    २६)
    करोडौँ कुम्ल्याउँछन् भ्रष्टले गर्छन् ब्रह्मलुट,
    केही लाख धरौटीमा निकाल्ने कस्तो यो छुट ?
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    २७)
    कसुरमा मुलाहिजा राखी गर्नुहुन्न है भेद,
    भेदभाव भइहाल्यो भने व्यक्त गर्नु है खेद ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २८)
    शक्ति र पहुँच मेरै चल्छ, मान्छे काट्दैमा केही हुन्न,
    सरकार मेरै साथमा छ,भोलि छुट्छु ठाँगेले छुन्न !
    ✍️
    विवश पारदर्शी
    झापा,
    २९)
    फूल टिप्नु र मान्छे मार्नु उस्तै लाग्छ,
    मान्छेमा मानवता खै कहिले जाग्छ ?
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ
    ३०)
    नेता आफ्ना दाहिना छन्, गुण्डागर्दी गर्न,
    कुन ठूलो कुरा भयो छुट्दै जेल पर्न ।
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ३१)
    कानुन गयो लुटेरा र अपराधीको हातमा,
    देश लुट्ने योजना पास हुन्छ रे मध्य रातमा।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ३२)
    आफ्ना मान्छे भएपछि उच्च ठाउँमा,
    निमुखालाई काट्दै हिँड्छु म गाउँमा ।
    ✍️
    योगेन्द्र भट्टराई खोटाङ🇳🇵
    ३३)
    अपराधी उम्किहाल्छ यहाँ सोझो पुग्छ जेलमा,
    सत्ताधारी लाग्छन् अपराधी बचाउने खेलमा ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    ३४)
    बुझ्दछन्, भगवानले, भक्तहरूको पीर,
    जस्तोसुकै अपराध, किन नहोस् गम्भीर ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ३५)
    जसमा हुन्छ भित्री बर्कत भर्नसक्ने खल्ती,
    आम माफी हुन्छन् उसैका भएभरका गल्ती l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ३६)
    नलाउ कसैले फोस्राे वाहियात धक्कु,

    सुन्दर शान्त उद्यानमा भैजाला पक्कु ।
    ✍️
    हरिगोपाल प्रधान
    बनेपा १४, साँगा
    ३७)
    हाम्रो देशमा अपराधीलाई छोड्छन् निर्दोषलाई थुन्छन्,
    ठूला ठालु भनाउँदाहरू न आँखा देख्छन् न कान सुन्छन्।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    ३८)
    राज्य कानुन सबै आफ्नै हो मेरै हातमा छ जेल,
    सकेसम्म काम गर केटा हो एक चुट्कीको खेल ।
    ✍️
    बेदु न्यौपाने, काठमाडौँ 💕
    ३९)
    जस्को शक्ति उस्को भक्ति भन्ने जस्तै हुन्छ,
    नातानाला खोजी खोजी छुट्ने जाल बुन्छ ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ४०)
    पैसा पावर मेरै हातमा, कस्को चाहियो भर ?
    मुला झैँ मान्छे काट्दै हिड्छु, कस्को छ मलाई डर ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ४१)
    जनता आफ्नै दु:खमा छन् भोटको निहुँमा गुण्डा लगाई कुटाउँछन्,
    जेल राख्नुपर्ने अपराधी राष्ट्रपतिले गणतन्त्रमा छुटाउँछन् ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ
    ४२)
    मैले ल्या’काे गणतन्त्र हो उदाङ्गाे लाजमा चलेको छ राज,
    अर्कैलाई दाेष दिने समृद्धिकाे ताज, लाेकतन्त्रकाे काज ।
    ✍️
    रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    ४३)
    सुशासनको प्रत्याभूति लाेकतन्त्रकाे मुल मन्त्र ,
    भ्रष्टाचारी र अत्याचारीले घात गरे प्रजातन्त्र ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ४४)
    सत्ताधारी कार्यक्रम चाँजोपाँजो सेटमा ,
    हाइ हेल्लो मिलाउँदै अर्थयुक्त भेटमा ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    ४५)
    बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल बिक्दैन,
    चिन्ता नगरौँ है असत्य लामो समय टिक्दैन ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    ४६)
    मान्छे मार्नेलाई छुट भैहाल्छ नेतालाई काट्छु,
    जे परेपनि पर्ला अब यो कदम मैले आट्छु !
    ✍️
    विक्रम तिरुवा सलिन
    जुम्ला
    ४७)
    मान्छे मारे पनि के फरक पर्छ र आजीवन बस्नै परेन जेल,
    कार्यकर्ता भएपछि निर्धालाई पो ऐन कानुन छ पेलापेल।
    भगवती दवाडी ,झापा
    ४८)
    अपराधीलाई छुट्कारा निर्दोषलाई जेल,
    यस्तै छ यहाँ हजुर यो राजनीतिको खेल ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    ४९)
    खुशीले अपराध गरिन्न भाइ,
    बाध्य पार्छन् रिस साध्न हाम्रै दाइ ।
    ✍️
    नन्दलाल आचार्य, उदयपुर
    ५०)
    गम्भीर अपराध गर्दै हिँड्छन् जसले, उसैलाई लुकाउँछन्,
    निर्धा र सोझा छन् जो यहाँ उनलाई अनाहकमा फसाउँछन् ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Leave a Reply