साताका तीन लघुकथा- ४२

  • ११ कार्तिक २०८०, शनिबार २२:४९ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४२औँ) शृङ्खलाका लागि लघुकथाकार लक्ष्मण अर्यालको लघुकथा ‘चङ्गा’, लघुकथाकार गम बयम्बु मगरको लघुकथा ‘मित्रता’ र लघुकथाकार तिलक तारामी ‘रेशाली’को लघुकथा ‘दसैँ’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: चङ्गा

    -लक्ष्मण अर्याल
    चङ्गाहरू उड्थे आकाशमा दसैँ लागेपछि । लट्टाईको बिक्री बढ्थ्यो । धागाहरूमा माड लगाउनेहरू व्यस्त बन्थे । रङ्गीबिरङ्गी चङ्गाहरूका बजार लाग्थे ।

    ऊ पनि कम्ता रौसिन्थ्यो र सानामा चङ्गाका लागि, माथि माथि उडेको चङ्गासँगै आफैँ उडेजस्तो ठानेर । आकाशको यायावर ठान्थ्यो ऊ आफैँलाई ।

    आकाशका चङ्गाहरू काट्थ्यो, खुसीले उफ्रिन्थ्यो र भन्थ्यो- “आमा ! मेरो चङ्गाले पाँचवटा चङ्गा चेट गरायो । चेट भएकाहरू अहिले रुँदै होलान् ।”
    च्याँठ्ठिन्थ्यो- “बाबा ! देख्नु भो त मेरो चङ्गा कति बलियो छ ।”

    उसका बालचाञ्चल्य देखेर बा अनि आमा पनि खुसीका सरोवरमा पटकपटक चोपलिन्थे ।

    चङ्गासँगै उडेको उसको बालापनमा १२ को परीक्षाफल पश्चात् एकाएक पूर्णविराम लाग्यो । उसको बालापन खोसियो । उसको चञ्चलता चोर्‍यो यो असत्तीले । नयाँ नयाँ सपना देख्न थालेका उसका मनमा दसैँको चङ्गा होइन उडनतस्तरी आउने गरेका छन् ।

    आज चङ्गाहरू उड्ने आकाश हुँदै ऊ उडेको छ । आजकल यो देशका धागा काटिएका चङ्गाहरू जहाँ जहाँ खस्छन् अब ऊ पनि त्यहीँ पुगेर खस्नेछ ।

    २)
    लघुकथा: मित्रता

    -गम बयम्बु मगर
    गाउँका बुढाहरू आँगनमा भरिन थाले । खुकुरी उध्याए । खसी मार हान्नलाई तयार भए । बाटुली घाँस बोकेर आइन् । उनको नजर खोर बाहिर बाँधेको भकुल्ले खसीमा पुग्यो।

    भकुल्लेलाई देखेर उनको मन धुरुक्कै भयो। उनले डाले घाँस राखिदिइन् । खसीले घाँस खाँदै थिए । बाटुलीको भने मन खाइरहेको थियो ।

    मार हान्नेहरूले भकुल्लेलाई डोर्‍याएर आँगन छेउमा लगे । ‘बीभत्स हत्या देख्न नपरोस्’ भन्ने सोचेर बाटुली घरको पछाडितिर लुकिन् । खसी कराउँदै थियो । एकैछिनमा म्याँ..म्याँ..गर्दै आवाज आयो । बाटुलीको मन चुँडियो। पशु हत्या गर्ने चाडबाड नआइदियोस् भन्दै प्रार्थना गरिन् ।

    “तेरो जुनी पनि यत्तिनै रहेछ भुकुल्ले……! तँ र म उस्तै टुहुरो थियौँ । तेरो त दु:ख लुक्यो । मेरो पनि छिट्टै काल आइदिए हुन्थ्यो!” भित्रभित्रै मन बोल्यो । आँखाबाट आँसुले बिदा मागेर खस्यो ।

    खसी पोलियो । उता खसीको ज्यान टुक्रा टुक्रा भयो । मासुमा परिणत भयो । बाटुलीको मन पनि छियाछिया भएर टुक्रिरह्यो । भागबन्डा गरेर मान्छे लाखापाखा लागे । भान्छा भान्छामा वासना छोड्दै खसीको मासु पाक्न थाल्यो ।

    “बाटुली! ए बाटुली.! खाना खान आइज !” सौतेनी आमाले बोलाइन् । बाटुली कोठाबाट लुरुलुरु तल झरिन् । चुपचाप बसिन् ।

    “के भयो तिमीलाई ? सन्चो छैनौ ?” मुखमा हेर्दै बा’ले सोधे।
    “केही भएको छैन। खान मनै लाको छैन।”

    “मासु भात खान पाउँदा नखानेहरू त अभागी हुन् । हुन त आमा खानेहरू कोनै भाग्यमानी हुन्छन् र ?” सौतेनी आमाले वचन लगाइन् ।
    “यी टुहुरीलाई किन वचन लाउँछ्यौ ? के दोष छ यसको ?”
    “भयो बा ! म अभागीले गर्दा अरू कसैको भाग्य नफुटोस्।”

    बाटुली जन्मिने बित्तिकै उनको आमाको मृत्यु भएको थियो । भकुल्ले जन्मेको दुई दिनपछि माऊ बितेको थियो । उनीहरूको जीवनकथा उस्तै उस्तै थियो । बाटुली भकुल्लेलाई आफूजस्तै मान्थिन् । दिनभरि गोठालोमासँगै डुल्थे । सुत्ने बेला मात्र अलग हुन्थे । तिनीहरूमा अगाध मित्रता थियो।
    निस्दी गाउँपालिका -६ अर्चले, पाल्पा

    ३)
    लघुकथा: दसैँ

    -तिलक तारामी “रेशाली”
    “आमा ! माथ्ला घरबाट केको बास्ना आको ? कति मीठो है !” सात वर्षीय छोरीले मुख खोली ।

    “खसी पोलेको बास्ना हो । खसी काटे नानी ।” चमेली बोली ।

    “आमा ! तल्ला घरबाट पनि बास्ना आयो नि ! यो केको बास्ना हो नि ?” छोरीले फेरि अर्को जिज्ञासा राखी ।

    “सेलरोटीको बास्ना हो, नानी ।” चमेली बोली ।

    अबोध छोरीको प्रश्नले चमेली अवाक् बनी । छोरी नजन्मिँदै लोग्ने विदेश गएको थियो । एक महिना अगाडिमात्र एम्बुसमा परी उसको मृत्यु भएको खबर आएको थियो । अझै पनि शव आइपुगेको थिएन ।

    “आमा ! आज किन यस्ता मीठामीठा बास्नाहरू आइरहेका छन् ?” छोरीको अर्को प्रश्न आयो ।

    “दसैँ आयो नि !” चमेलीले मन अमिलो पार्दै भनी ।

    “हाम्रो घरमा दसैँ आउँदैन त आमा ?” छोरीले बालसुलभ प्रश्न गरी ।
    बुटवल – ११, रुपन्देही

    Leave a Reply