
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४१औँ) शृङ्खलाका लागि लघुकथाकार नारायण कोइरालाको लघुकथा ‘बाख्री’, लघुकथाकार अम्बिका धितालको लघुकथा ‘किन ?’ र लघुकथाकार सोम कुमार सुब्बाको लघुकथा ‘पुरस्कार’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१)
लघुकथा: बाख्री

नारायण कोइराला
बाख्रीले दुःख मनाउँदै भनी- “अब छुट्टिने दिन आयो ।”
बोको केही बोलेन ।
गाउँभरि बलि दिने प्रथाको बिरोध गर्नेहरूको जुलुसले नाराबाजी गर्यो । बोको र बाख्री खुसी भए ।
बोको र बाख्रीको खुसी केही समयमै टुट्यो । पर्वको बेला गाउँमा धेरै बोका काटिए । बाख्री टुलुटुलु हेरिरहेकी थिई ।
अचम्म ! विरोध गर्ने र बोका भुत्ल्याउने एउटै थिए । बाख्री सोच्न बाध्य भई- “असली पशु मानिस कि जनावर ?”
तानसेन पाल्पा
२)
लघुकथा: किन ?

अम्बिका धिताल
“मलाई त जसरी भए पनि किन्दिनै पर्छ ।” पल्लो कोठामा छोराले आमालाई भनेको कुराले शिवराम झस्किए ।
निकैबेर ठन्डा बनाएर केही उपाय लगाउन सकिन्छ कि भनी चिस्याएको दिमाग आफ्नो वशमा थिएन ।
फोनको घण्टी बज्यो । शिवरामलाई पटक्कै फोन उठाउन मन लागेन । दोहोरिएर फोनको घण्टी बजेपछि उसले यसो फोनमा नम्बर हेर्यो । नयाँ नम्बर रहेछ । आशाको नजरले हेर्दै उसले फोन उठायो । हेलो भन्न नपाउँदै उताबाट आवाज आयो- “किन शिवराम बिहानैदेखि फोन गरेको उठाइनस् ? खाएपछि बेलैमा तिर्नुपर्छ भन्ने थाहा छैन ?”
शिवरामले दोहोरो संवाद नगरी फोन राखे । बुढी आएर सोधिन्- “कसको फोन रहेछ ? कामका लागि फोन आएको हो ?”
शिवरामको बोली फुटेन । बुढी फेरि बोलिन्- “चारघण्टा मात्र काम पाए पनि यसो नुन तेलको जोहो त हुन्थ्यो । यसपालि के भएको होला ? अब सबैले आआफ्नो काम आफैँ गर्न थाले कि क्याहो ? यसपालिको हाम्रो दसैँ त……..।”
शिवराम मौन भई भित्तातिर फर्केर बसेका थिए ।
“के हो शिवे ? छ /छ महिना भइसक्यो, भाडा दिएको छैन। दसैँमा त देला भनेको, आज फूलपाती भइसक्यो, अत्तोपत्तो छैन । बेलुकासम्म नदिए अर्को मान्छे राख्छु।”
घरबेटीको चर्को आवाज सुनेर पल्लो कोठामा बसेको छोरो दौड्दै आएर भन्यो- “बाबा भन्नु त किन कोही मान्छे धनी र कोही मान्छे गरिब भएका ?”
कमलविनायक भक्तपुर।
३)
लघुकथा: पुरस्कार

सोम कुमार सुब्बा
वृद्ध आश्रमको संस्थापक कमल सर आफ्नो कार्यालयमा व्यस्त थिए । तत्क्षणै प्रमोद आयो ।
“नमस्कार सर ।”
“नमस्कार ! कति कामले पाल्नु भो ?”
“बालाई लिन आएको ।”
“किन ? के भो र ? हाम्रो संस्थाबाट कुनै चुक भयो कि ?” कमल सरले आत्तिँदै सोधे।
“त्यस्तो केही होइन सर ! बालाई घरमै लगेर स्याहारसुसार गरौँ भनेर नि !”
“यो त ! अति उत्तम सोच हो ।”
उनले कागजी प्रक्रिया पूरा गरेपश्चात् बालाई लिएर गए । केहीक्षणमा अर्को आए, फेरि अर्को आए । सबैले आआफ्नो बालाई लिएर गए । कोही जान नमानेकालाई पनि जबर्जस्ती लगे । अब संस्थामा तीनजना वृद्धहरू मात्र बाँकी थिए ।
बाआमाप्रति श्रद्धा पलाएको देखेर कमल सर खुसीले प्रफुल्लित हुँदै घर लागे ।
केही महिनापछि कमल सरलाई एउटा समारोहबाट निमन्त्रणा आयो । उनी त्यहाँ गए ।
उद्घोषकले घोषणा गरे- “बाआमालाई राम्ररी स्याहारसुसार गर्ने छोराछोरीलाई प्रोत्साहनस्वरुप ‘श्रवणकुमार पुरस्कार’ दिइने सरकारको घोषणा अनुरुप यो वर्षको पुरस्कार श्री कमल सरलाई प्रदान गरिन्छ।”
सभा चकमन्न भयो । सबैले मुखामुख गरे । अन्त्यमा एकजना उठेर आपत्ति जनाए-
“कमल सरको त बाआमै छैनन् । कसरी ऊ यो पुरस्कारको हकदार भयो ?”
“आफ्नै बाआमा नभए पनि उनले छोराछोरी नभएका सन्तानविहिन तीनजना वृद्धाहरूलाई निस्वार्थ भावनाले स्याहारसुसार गर्दैछन् ।” उद्घोषकले प्रष्ट पारे ।
गडगडाहट तालीले समारोह थर्कियो ।
लिङ्दोक, पूर्व सिक्किम।